समानुपातिक सांसदको नाम शनिबार अपरान्ह ४ बजेसम्म बुझाउनुपर्ने



काठमाडौं । समानुपातिकतर्फ सिट प्राप्त गरेका दलले मंसिर २४ गते शनिबार अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गरिसक्नुपर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरेर आयोगमा पेश गरिसक्ने समयसीमा दिएको हो ।

आयोगले थ्रेसहोल्ड कटाएका प्रतिनिधि सभाका ७ वटा दल र ७ वटै प्रदेशका फरक-फरक संख्यामा रहेका दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दललाई पठाएको हो । तीन दिनको समयसिमा दिएर पत्राचार गरिएको आयोगका उपसचिव एवम समानुपाकितर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधिसभामा सातवटा दलले थ्रेस होल्ड कटाएका छन् । जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधि सभाको समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपा र जनमतले पनि ५-५ सिट प्राप्त गरेका छन् ।

समावेशी प्रतिनिधित्व हुने गरी दलले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पेश गर्नुपर्नेछ । त्यसपछि मात्रै दलले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ ।

प्रदेशतर्फ पनि दलहरुले तीन दिनभित्र नाम छनोट गरेर आयोगमा बुझाउनुपर्ने

प्रदेशतर्फ पनि दलले तीन दिनभित्र नाम छनोट गरेर पठाइसक्नुपर्ने छ । प्रदेशमा भने १.५ प्रतिशत ल्याउनेले सिट पाउने व्यवस्था छ । प्रदेश १ मा ६ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् । प्रदेश १ मा एमाले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४-४, नेकपा एस र जसपाले १-१ सिट पाएका छन् । मधेस प्रदेशमा १० वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७(७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ । बागमती प्रदेशमा सात वटा दलले थ्रेसहोल्ड कटाएका छन् ।

जसमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २-२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा चारवटा दलले मात्र थ्रेसहोल्ड कटाएका छन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ ।

लुम्बिनी प्रदेशमा १० वटा दलले समानुपातिकबाट प्रतिनिधित्व गर्ने भएका छन् । जसमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २-२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १(१ सिट पाएको छ । कर्णाली प्रदेशमा पाँचवटा दलले थ्रेसहोल्ड कटाएका छन् ।

जसमा एमाले र कांग्रेसले ५-५ माओवादीले ४, राप्रपा र नेकपा एसले १र१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा छ वटा दलले थ्रेसहोल्ड कटाएका छन् । जसमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३-३ राप्रपा र नेकपा एसले १-१ सिट पाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्