अब्बल तर अभागी ब्राजिल



काठमाडौ । ‘हामीले लियोनिदासलाई फाइनलका लागि सुरक्षित राखेका छौँ’, सन् १९३८ को विश्वकप फुटबलमा इटालीसँगको सेमिफाइनलअघि ब्राजिलियन टोलीका प्रशिक्षकले भनेका थिए। त्यो आत्मविश्वाससहित मैदानमा उत्रिएको ब्राजिल सेमिफाइनलमै इटालीसँग २–१ गोल अन्तरले स्तब्ध भयो।

कतार विश्वकपमा पनि ऊ कप लिएर देश फर्किने योजनासहित मैदानमा छ। उपाधि दोबदारका रूपमा प्रतियोगितामा सहभागी हुने तर खराब नतिजा ल्याउने ब्राजिलको नियति भने दोस्रो विश्वकपबाटै सुरु भएको थियो। सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियामा भएको १७औँ विश्वकपमा जर्मनी र ब्राजिलको फाइनलमा भेट भयो ।

मैदान छिर्नुअघि जर्मन प्रशिक्षक रुडी भोलरले भनेका थिए, ‘मलाई थाहा छ– ब्राजिल हामीभन्दा धेरै राम्रो टोली हो । तर, राम्रो हुँदैमा विश्वकप जित्ने भए विगतमा १६ विश्वकपमा १२ पटक त ब्राजिलले नै जित्थ्यो । त्यसैले ब्राजिलले नै जित्छ भन्ने छैन ।’ भोलरले भनेको पुगेन । ब्राजिलले उपाधि त जित्यो तर त्यसयता उपाधि उचाल्ने धोको पूरा भएको छैन ।

विश्वकपका पछिल्ला ६ शृङ्खला चुम्नबाट जिल्लिएको ब्राजिल यसपटक क्वार्टरफाइनल चरणमै छ । यो चरण जितेर पनि २ वटा खेल जित्नुपर्ने दबाब उसमा छ। सन् १९७० को विश्वकप उचाल्दा त्यसबेलाको ब्राजिलियन टिमलाई फुटबल इतिहासमै सबैभन्दा उत्कृष्ट मानिन्थ्यो । त्यही भएर यो उपाधि उसको पोल्टामा पर्‍यो । त्यसपछिका सदाबहार उत्कृष्ट मानिएको ब्राजिलियनसहितका टिमले भने विश्वकपमा आशातीत खेल प्रर्दशन गर्न सकेका छैनन् ।

सदाबहार मानिएको फ्लोरेन्स पुस्काससहितको हंगेरीको टोली सन् १९५४ मा उपविजेता बनेको थियो। सन् १९७४ मा जोन क्रुफसहितको नेदरल्यान्ड्स उपविजेता भएको थियो। अन्य सदाबहर उत्कृष्ट टोली सन् १९८२ को ब्राजिलको टोली तथा सन् २००६ को ब्राजिलको टोली मानिन्छ। यी सबै टोली उपाधि जित्न असमर्थ भएका थिए।

ब्राजिलको हकमा विश्ककपमा महत्वपूर्ण समयमा खराब प्रदर्शनको नियति धेरै छ। सन् १९५० मा घरेलु मैदानमा भएको विश्वकपको अन्तिम चरण सुपर लिगका आधारमा भएको थियो। उरुग्वेसँगको अन्तिम खेलमा बराबरीले पर्याप्त हुने खेलमा ब्राजिलले पहिलो अग्रता लिएको थियो। यसका बाबजुद टोली २–१ ले पराजित भयोे।

सन् १९८२ मा ब्राजिललाई अन्य धेरै देशको तुलनामा धेरै माथि राख्ने गरिन्थ्यो । जिकोबाट प्रेरित ब्राजिल इटालीसँग ३–२ ले पराजित भएको थियो । सो विश्वकपअघि इटालीको टिमको खास चर्चा थिएन । तर पावलो रोसीको उदय भने ब्राजिलसँगको खेलबाट भएको थियो । रोसीको ह्याट्रिकले ब्राजिल उपाधिविहीन बन्यो ।

सन् १९८६ मा फ्रान्ससँगको क्वार्टरफाइनल खेलमा जिकोले पेनाल्टी खेर फालेपछि ब्राजिल मैदानबाट बाहिरियो । सन् १९९० मा ब्राजिल समूहका सबै खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । ‘बेस्ट लुजर’ को रूपमा दोस्रो चरणमा प्रवेश गरेको अर्जेन्टिना खेलभर दबाबमा थियो । तैपनि खेल १–० ले अर्जेन्टिनाले जित्यो ।

सन् २००६ मा पनि ब्राजिलको टिम स्तरीय थियो । संसारका ५ उत्कृष्ट सेन्ट्रल मिडफिल्डरमध्ये ३ जना ब्रालिजका थिए। काका, रोनाल्डिन्हो र जुनीन्होमध्ये कसलाई बेन्चमा राख्ने भन्ने सकस प्रशिक्षकलाई थियो । रोनाल्डो, रोबिन्हो र आड्रियानोलगायत होनहार फरवार्ड टोलीमा थिए। यस्तो बलिया खेलाडीयुक्त टिम क्वार्टरफाइनलमै फ्रान्ससँग १–० ले पराजित भएको थियो।

सन् २०१४ मा ब्राजिल सेमिफाइनलमा जर्मनसँग फराकिलो अन्तरले पराजित भएको थियो भने ४ वर्षअघि बेल्जियमसँग क्वार्टरफाइनलमा हारेको थियो। शीर्ष वरीयताको ब्राजिल नेपाली समयअनुसार शुक्रबार साँझ क्रोएसियासँग भिड्दै छ।

स्टार खेलाडीको बाहुल्य रहेको ब्राजिलियन टिमले यो स्पर्धामा कस्तो नतिजा निकाल्छ भन्नेले मात्र पनि यसपटक ब्राजिललाई सुख छैन। क्रोएसियालाई जितेर पनि यसपटक विगतको ‘अभागी छवि’ उल्ट्याउन ब्राजिल अझै २ वटा प्रतिस्पर्धाको अग्निपरीक्षामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्