विश्वकप क्वार्टरफाइनल : आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै



काठमाडौं । काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।

समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । यस्तै समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो। ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो। ब्राजिल र क्रोएसिया यसअघि अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेका थिए जसमा ब्राजिल ३-१ गोलले विजयी भएको थियो ।

आज नै हुने अर्को खेलमा दुईपटकको विजेता अर्जेन्टिना र तीनपटक फाइनल पुगेर पराजित भएको नेदरल्यान्ड्स भिड्न लागेका छन् । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ। सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै पराजित गरेर पहिलोपटक विश्व विजेता बनेको अर्जेन्टिना सन् २०१४ मा उसैलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो।

यसपटक पहिलो खेलमा साउदी अरबसँग पराजित भएपनि त्यसपछि लगातार जित हात पारेर नकआउट चरण पुगेको अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो। समूहगत चरणमा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्सले प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३-१ गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्