माया खोला हाइड्रोपावरको आईपीओ खुला



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ। सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नम्बर ३, ४ र ५ तथा मादी नगरपालिका वडा नम्बर ४ र ६ का वासिन्दाका लागि छुट्याएको छ।

आयोजना अति प्रभावित क्षेत्रबाहेक संखुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने ४ लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाहरूले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन्। स्थानीय वासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेबपोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभू बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव ९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस्