बेलायत, जापान र इटालीले नयाँ लडाकू विमान बनाउँदै



एजेन्सी । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान बनाउने तयारी गरेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको यो परियोजना अर्न्तगत नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नयाँ विमान हावामा लड्न सक्ने क्षमता समावेश हुनेछ। यसका साथै यो विमान शत्रुको नजरबाट बच्नसमेत सक्षम हुनेछ।

यसमा अत्याधुनिक सेन्सरसहित आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिने छ, जसले आवश्यक परे पाइलटलाई सहयोग गर्नेछ। यो विमानले बिस्तारै टाइफुन जेटलाई प्रतिस्थापन गर्नेछ।

आवश्यक पर्दा, यो लडाकू विमान पाइलट बिना उडान भर्न सक्षम हुनेछ र हाइपरसोनिक मिसाइलहरू प्रहार गर्न सक्षम हुनेछ ।

यस्तो विमान बनाउने काम निकै महँगो साबित हुन सक्छ । यस कारणले गर्दा बेलायतले यो विमानका लागि सहयोगीहरूको खोजी गरिरहेको छ ।

इटालीसँग पहिले नै सहमति भइसकेको थियो । अब यस मामिलामा जापान सम्मिलित हुनुलाई ठूलो कदम मानिँदै छ किनभने इन्डो प्यासिफिकमा चीनको बढ्दो महत्वाकांक्षालाई ध्यानमा राख्दै जापान पश्चिमी मुलुकका लागि महत्वपूर्ण सहयोगी बनेको छ ।

अमेरिका यस्तै खालको फाइटर जेट बनाउनमा जुटेको छ । जर्मनी, स्पेन र फ्रान्स पनि यस्तो छुट्टै परियोजनामा ​​काम गरिरहेका छन् ।

बेलायतका लागि यो सम्झौता सुरक्षाका लागि मात्र नभई आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण छ। यसबाट देशमा हजारौं नयाँ रोजगारी सृजना हुने र हतियार निर्यातको बाटो पनि खुल्ने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्