प्रतिबन्धित विषादी बिक्रीबितरण गर्नेलाई सरकारले कडा कारवाही गर्ने



काठमाडौं : प्रतिबन्धित विषादी बिक्रीबितरण गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । यसका लागि सरकारले ऐन ल्याउन लागेको छ । 

जीवनाशक विषादी व्यवस्थापन ऐनमार्फत प्रतिबन्धित विषादी बिक्रीबितरण गर्ने व्यवसायी, आयातकर्ता, भण्डारणकर्ता र उत्पादनकर्तालाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्मको आर्थिक जरिवानासँगै एक वर्षको कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

उपभोक्ता र किसानको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले घातक विषादी नियन्त्रण गर्न नयाँ ऐन ल्याउँदै छ । यसअघिको जीवनाशक विषादी ऐन २०४८ मा भने सूचीकृत नभएका तथा प्रतिबन्धित विषादी आयातनिर्यात गर्ने, बिक्री गर्ने, भण्डारण गर्नेको हकमा पाँच हजार जरिवाना र विषादी जफत गर्ने व्यवस्था गरिएको थियो ।

‘पहिलेको ऐनमा सजाय र दण्डको दायरा साँघुरो भएकाले व्यवसायी र आयातकर्ता सरकारी नीति मिचेर आफूखुसी प्रतिबन्धित विषादी भित्र्याएर बिक्री गर्दै आएका थिए’, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा।डिल्लीराम शर्माले भने, ‘कानुनीरूपमै त्यस्ता कार्य निरुत्साहित गर्न दण्ड र सजायको दायरा फराकिलो बनाएर नयाँ ऐन ल्याउँदै छौं ।’ 

ऐनको मस्यौदा स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्