डाक्टरले बलात्कारी छुटाउने गरी मेडिकल रिपाेर्ट बनाएकाे खुलासा



जनकपुरधाम : धनुषामा भएको एउटा बलात्कारको घटनामा प्रहरीले गलत मेडिकल रिपोर्ट तयार गरेर बलात्कारका अभियुक्त छुट्ने गरी षड्यन्त्र गरेको देखिएको छ । प्रहरीले समयमै सावधानी अपनाउँदा डाक्टरको बदमासी छर्लङ्ग भएको छ ।

 

जनकपुर अञ्चल अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण प्रतिवेदन दिँदा गलत प्रतिवेदन दिने गरेको रहस्य खुलेपछि चिकित्सकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्रालय लगायतलाई पत्राचार गरेको छ ।

 

यसरी भयो रहस्यको पर्दाफास

धनुषाको जनक नन्दिनी गाउँपालिका–२ पुरानो भन्सारस्थित घरमा १२ वर्षीया बालिकाको बलात्कार भयो । आमाको निधन भइसकेको र बुवा विदेशमा भएका कारण बालिका ठूलीआमाको संरक्षणमा थिइन् । भान्सा ठूलीआमासँगै भए पनि सुत्नलाई बालिका आफ्नै घरमा आउँथिन् । ती बालिकाका ८ वर्षीया बहिनी र ६ वर्षीया भाइसमेत घरमै बस्छन् ।

 

भदौ ८ गते राति ठूलीआमाको घरमा खाना खाएर आफ्नो घरमा सुत्न आएका बेला छिमेकी रामकरण खत्वे मण्डलले १२ वर्षीय बालिकालाई बलात्कार गरे । बालिकाको मुख थुनेर ‘कसैलाई भने ज्यान मार्ने’ धम्की दिए पनि बालिका चिच्याएर रुन–कराउन थालिन् । त्यसपछि घरमा सँगै सुतिरहेका भाइ र बहिनी पनि उठेर कराउन थाल्यो । सबै कराउन थालेपछि अभियुक्त खत्वे फरार भएर भारततर्फ भागे ।

 

घटना भएपछि इलाका प्रहरी कार्यालय खजुरीले घटनाको भोलिपल्ट भदौ ९ गते पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पुर्यायो । जनकपुर अञ्चल अस्पतालका चिकित्सक भीके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतले ११ दिनपछि भदौ २० गते स्वास्थ्य परीक्षण प्रतिवेदन प्रहरीमा पठायो ।

 

तर, प्रतिवेदनमा बलात्कार भएको कुरासम्बन्धी कुनै पनि लक्षण देखा नपरेको भनेर उल्लेख गरेको थियो । अस्पतालको प्रतिवेदनमा कुनै पनि लक्षण नदेखिएको भनिएपछि प्रहरी झस्किए ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलिया भन्छन्, ‘बालिकाको बलात्कार भएको कुरा उसको तात्कालिक अवस्थाबाट प्रष्ट देखिएको थियो । गाला, ओठलगायत विभिन्न भागमा दाँतले टोकेको थियो । तर, मेडिकल प्रतिवेदन उल्टो आएपछि हामीले फेरि स्वास्थ्य परीक्षणका लागि अर्को सरकारी अस्पताल सिरहा जिल्ला अस्पताल पठायौं ।’

 

भदौ २५ गते सिरहा जिल्ला अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका लागि पठाउँदा डा. राकेशकुमार सिंहले परीक्षण गरे । परीक्षण प्रतिवेदनमा बालिकाको यौनाङ्ग च्यातिएको, शरीरको दुवै गाला तथा ओठमा टोकाइको प्रमाण देखिएको प्रतिवेदन धनुषा प्रहरीलाई बुझाएको थियो ।

 

अभियुक्तद्वारा अपराध स्वीकार

भदौ ११ गते पक्राउ परेका अभियुक्त खत्वेले अनुसन्धानका क्रममा आफूले बालिकालाई बलात्कार गरेको स्वीकार गरे । असोज ५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासमा उपस्थित गराउँदासमेत खत्वेले कसुर गरेको स्वीकार गरेका थिए । अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाइएको छ ।

 

रक्सी सेवन गरी नसामा बालिकाको घरमा गएर जबर्जस्तीकरणी गरेको खत्वेले अदालतमा बयानसमेत गरेको अवस्थामा जनकपुर अञ्चल अस्पतालका चिकित्सकले पठाएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ‘सबै कुरा सामान्य’ कसरी भयो भन्ने प्रश्न उठेको जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्कीले बताए ।

 

गलत प्रतिवेदन दिने चिकित्सकलाई नै आवश्यक छानबिन गर्न तथा छानबिनबाट दोषी देखिने चिकित्सकलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने निर्णयमा कार्की पुगेका छन् ।

 

सरकारी वकिल कार्कीले गरेको निर्णयमा लेखिएको छ, ‘जनकपुर अञ्चल अस्पतालबाट प्राप्त परीक्षण प्रतिवेदनमा पीडितको भेजिना र हाइमेनसमेत नर्मल भनेर पठाएको प्रतिवेदनबाट परीक्षणमा संलग्न जनकपुर अञ्चल अस्पतालका डाक्टरको लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको, त्यसरी पीडित नाबालिकालाई तत्काल स्वास्थ्य परीक्षण गर्न पठाउँदा ११ दिन ढिलो गरी जनकपुर अञ्चल अस्पतालले दिएको रिपोर्टमा यौनाङ्गमा केही नदेखिएको र पुनः स्वास्थ्य परीक्षण गर्न सिरहा अस्पतालमा पठाउँदा यौनाङ्गमा फ्याक्चर भएको देखिँदा स्वास्थ्य मन्त्रालय काठमाडौंमा दुवै मेडिकल परीक्षण प्रतिवेदन समेतको प्रतिलिपि र सीडी समेतको प्रतिवेदन राखी यकिन रिपोर्टको लागि स्वास्थ्य मन्त्रालयमा लेखी पठाउने र सोको कारबाहीको लागि नेपाल मेडिकल काउन्सिल काठमाडौंमा पठाई सो जानकारी महान्यायाधिवक्ताको कार्यालय, प्रहरी महानिरीक्षक तथा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय समेतलाई परीक्षण रिपोर्ट दिने डाक्टरलाई कारबाहीको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्