जनकपुरधाम : महिलाको रहस्यमय मृत्यु प्रकरणमा बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै राति हत्या भएको छ।
धनुषाको विदेह नगरपालिका ५, मुडिवाका ६५ वर्षीय मांगैन ठाकुरको बिहीबार शव भेटिएको हो ।
उनी बिहीबार जिल्ला अदालत धनुषामा बकपत्र गर्न जाने योजनामा थिए । छोरा प्रदीपका अनुसार मांगैन बुधबार साँझ साढे ६ बजे खाना खाएर घुम्न निस्केका थिए ।
परिवारले रातभर खोजतलास गर्दा पनि उनी भेटिएनन् ।
बिहीबार बिहान घरबाट दक्षिणतर्फ स्कुल अगाडिको खाल्टोमा परालले छोपिएको अवस्थामा शव फेला पर्यो ।
उनको घाँटी, अनुहार र आँखामा गहिरो चोट छ । मुद्दाको साक्षी प्रमाण नष्ट गर्न उनको हत्या भएको परिवारले दाबी गरेको छ ।
प्रदीपले भने, ‘वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्नेछ। तर बकपत्र गर्न आउनुपूर्व मेरो पिताको हत्या भयो। यो शंकाको विषय हो कि होइन ?’
वडाध्यक्ष विजय यादवले पनि मांगैनको हत्या भएको दाबी गरे । उनले भने,‘अनुहारमा धारिलो हतियारले काटेको निसान छ । पोस्टमार्टमपछि वास्तविकता थाहा हुन्छ ।’
सोही स्थानकी मोहनी देवीको १४ महिनाअघि मृत्यु भएको थियो । पति लक्ष्मी मण्डलले उनको हत्या भएको दाबी गर्दै भाइ रामबहादुर मण्डल, भाइबुहारीहरू तेतरी भन्ने अमिरकला, इन्दिरा तथा मनतोरियाविरुद्ध किटानी जाहेरी दिएका थिए । आरोपीलाई जिल्ला अदालतले तारेखमा छोडेको छ । आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।