फ्राइडे रिलिज: हलमा दैलो, गुनगुन र अनुग्रह



काठमाडौं : आज शुक्रबार एकसाथ तीन नेपाली फिल्म दैलो, गुनगुन र अनुग्रह प्रदर्शनमा आएका छन् । अघिल्लो साता ठग्स अफ हिन्दुस्तानका कारण नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन् । तर, यो साता भने एकसाथ तीनवटा फिल्म प्रदर्शन गरिएको छ ।

सुरेश उप्रेतीको लेखन, निर्माण र निर्देशनमा बनेको दैलो पारिवारिक कथानक फिल्म हो । फिल्ममा सुरेश आफैँ मुख्य भूमिकामा छन् भने उनका साथमा दुर्गा साउद, विकास चापागार्इं, दीपक डोटेल, मुना प्रसाई, दीक्षा आचार्य, प्रदीप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगानालगायत कलाकारले अभिनय गरेका छन् । 

विमलकुमार भट्टराईले खिचेको फिल्ममा अप्रत्यक्ष दाइजो, वैदेशिक रोजगारी तथा शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध देखाइएको बताइन्छ ।

पुकार भट्टराईको निर्देशनमा बनेको गुनगुन फिल्ममा सञ्चिता लुइँटेल शीर्ष भूमिकामा छिन् । सञ्चिताका साथमा निर्देशक पुकार आफैँ, रवीन्द्रप्रताप सेन, सुवास मेचेलगायत कलाकारले अभिनय गरेका छन् । 

एकराज उप्रेती, सहदेव पौडेल, मोहनप्रसाद भट्टराईलगायतले निर्माण गरेको फिल्ममा विकास चौधरी र मनहरि थापाको संगीत छ ।

कुमार केसीको निर्देशनमा बनेको अनुग्रहमा सुवास मेचे, रोहन सेन्चुरी, क्रिष्टिना राई, दीपशिखा सिलवाललगायत कलाकारले अभिनय गरेका छन् । 

विक्रम डिसीले खिचेको फिल्मको निर्मातामा सन्तोष खवास छन् । फिल्म पारिवारिक प्रेमकथामा निर्माण गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्