भारतीयलाई नागरिकता दिने वडाध्यक्षमाथि छानबिन हुने



उदयपुर : उदयपुर त्रियुगा नगरपालिका १० का वडाध्यक्षले भारतीय नागरिकता दिएको विषयमा छानबिन हुने भएको छ । बिहे गरेर भारत गएकी महिलालाई अविवाहित भनी नेपाली नागरिकता दिएको आरोप वडाध्यक्षमाथि लागेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले छानबिन सुरु गरेको छ ।

 

वडाध्यक्ष प्रकाश खड्काको सिफारिसमा भारतको मधुवनी जिल्ला लौकाहा थाना एकासी मझौरा बस्ने नसरुल मियाँसँग विवाह गरेकी त्रियुगा १० की लजिना खातुनलाई नागरिकता दिएको रहस्य खुलेको थियो ।

 

समाचार प्रकाशन भएपछि उदयपुर सीडीओ विष्णु कार्कीले बिहीबारै त्रियुगा नगरपालिका १० वडा कार्यालयलाई पत्र लेखी वडा सरजमिन र सनाखतमा बस्नेहरूलाई प्रशासन कार्यालयमा उपस्थित गराउन आदेश दिएका छन् ।

 

‘कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाद्वारा हस्तक्षर भएको पत्रमा नागरिकतासम्बन्धी कुरा बुझ्नुपर्ने भएकाले प्रशासनमा उपस्थित गराइदिन प्रशासनले वडालाई आदेश दिएको छ,’ उनले भने, ‘प्रशासनले काटेको पत्रमा १३ जना व्यक्तिको नाम छ ।’ नक्कली सर्जिमिन मुचुल्का हस्ताक्षर गर्ने त्रियुगा १० का अमिना खातनु, मोहम्मद साविर, मजिदा खातुन, कृष्णमाया राई, जुगेश्वर ठाकुर हजाम, प्रशान्त विक, दादिकी शेर्पा, निर्मलाकुमारी शर्मा, अनिताकुमारी ठाकुर, फिरोज मोहमद, सीता विक, सम्झना मगर र बन्दना मगरलाई हाजिर गराउन वडा कार्यालयलाई पत्राचार गरिएको छ ।

 

‘वडा कार्यालयले सबै कुरा पूरा गरेर ल्याएका छौँ भन्छ,’ उनले भने, ‘सक्कली र नक्कली थाहा पाउनै गाह्रो हुन्छ ।’ त्रियुगा १० बस्ने दिल मोहमदकी छोरी ३१ वर्षीया लजिना खातुनलाई त्रियुगा वडाध्यक्ष खड्काको सिफारिसमा नागरिकता दिइएको थियो ।

 

नेपालको संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वत विदेशी हुने व्यवस्था छ । अविवाहित भनेर नागरिकता दिलाइएकी लजिनाका दुई सन्तान छन् । २०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी नजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर १८ गते नागरिकता दिएको थियो ।

 

२०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नागरिकता जारी गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा रहेको बेला जिल्ला प्रशासन कार्यालयको सेटिङमा विदेशीलाई नागरिकता दिइएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्