आज क्रिसमस डे मनाइँदै



काठमाडौं । आज क्रिसमस डे। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।

यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ। क्रिसमस सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको थियो। काठमाडौंका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वरआदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्