स्थानीय जनप्रतिनिधिमाथि नेकपाको प्रदेश कमिटीकाे प्रमुख निगरानी



कैलाली : नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि निगरानी गर्न सुरु गरेको छ । सार्वजनिक पदमा रहेर अनुचित आचरण गरेको विषयमा प्रदेशमन्त्री दीर्घ सोडारीलाई मन्त्री पद र पार्टी सदस्यबाट बर्खास्त गरेको सो पार्टीले थुप्रै व्यक्तिलाई कारबाहीको प्रक्रियामा ल्याएर शुद्धिकरण अभियान चलाइ रहेको जनाएको छ ।

 

 ‘नेकपा जस्तो पार्टीमा देश र जनताको निम्ती काम गर्छु भनेकालाई त्यसरी छोड्ने कुरा हुदैन ।’ नेकपा प्रदेश कमिटी कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले भने–‘पार्टी र जनताको हित विपरित काम भएको छ भने पार्टीको ध्यान, विधान र धारा आकर्षण हुन्छ ।’ बर्खास्तीमा परेका सोडारीलाई पनि पार्टी विधान अनुरुप नै कारबाही गरेको प्रदेश कमिटीले जनाएको छ ।     

 

सो पार्टीको प्रदेश पदाधिकारीहरुको बैठकले नेकपा आबद्ध मन्त्री, सांसद, स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सबैको कार्य र आचरणको मूल्याङ्कन गर्ने निर्णय गरेको थियो । ‘यति ठूलो पार्टीको कहाँ, कसले, के काम गरेको छ भनेर हामीले अनुगमन गरेनौ, खोजी गरेनौ भने त्यसले छाडा प्रवृत्ति उत्पन्न हुन्छ’, सुवेदीले अगाडी थपे–‘त्यसले पार्टी र जनताको काममा असर पुग्ने भनेर पार्टीको प्रदेश पदाधिकारीको अघिल्लो बैठकले काम र आचरण मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।’

 

 बैठकले सांसद् कोषको बजेट विनियोजन, मेयर, उपमेयरले गरेको बजेट विनियोजन र खास खास योजनाहरुको अभिलेख समेत राख्ने निर्णय गरेको सुवेदीले जनाए । तत्कालिन् प्रदेशमन्त्री सोडारीको गतिविधिपछि आचरण शुद्धिकरणमा गम्भीर देखिएको नेकपा प्रदेश कमिटीले पार्टीको विधान अनुसार स्थानीय तहमा पनि संसदीय दल बनाएर व्यवस्थित गर्ने योजना बनाएको छ । स्थानीय तहमा दलको प्रमुख र पार्टीको एउटा बोर्ड बनाएर जनप्रतिनिधिलाई व्यवस्थित गर्ने जनाइएको छ । 

 

‘पार्टीको निर्देशन, घोषणापत्र, कार्यदिशाबाट काम भएको छ कि छैन, देश र जनताको हितमा काम भएको छ की छैन ? उहाँहरुलाई लगाम लगाउने एउटा निकाय त चाहियो नि !’ कार्यालय सचिव सुवेदीले भने । 

 

सार्वजनिक महत्वका पद्मा बसेकाबाट कमी कमजोरी भएको खण्डमा प्रदेश कमिटीले प्रशिक्षणको व्यवस्था गरेको छ । पार्टीको नीति, पार्टीको अवधारणा र निर्वाचनमा जारी गरेको घोषणापत्र अनुरुप काम गर्नका लागि पार्टीले उत्प्रेरणा प्रदान गर्ने तर, त्यति गर्दागर्दै पनि स्वेच्छाचारी ढङ्गले कोही अगाडि बढेमा विधान आकर्षण हुने सुवेदीले उल्लेख गरे । 

 

सार्वजनिक ओहोदामा पुगेको व्यक्तिको जीवन व्यक्तिगत हुँदैन । उसले के खान्छ, के गर्दैछ, कहाँ जान्छ ? यावत कुराको निगरानी कुनै न कुनै रुपमा भइरहन्छ । प्रदेशमन्त्री सोडारीको बर्खास्तीपछि सार्वजनिक जीवनमा पुगेका व्यक्तिको आचरणको सवाल निकै पेचिलो बनेको छ । 

 

राजनीतिमा अहिले धेरै छाडापन बढेको उल्लेख गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. हेमराज पन्तले सार्वजनिक ओहोदामा पुगेकाहरु निकै सम्वेदनशील बन्न आवश्यक रहेको औंल्याए । 

 

‘मन्त्री, सांसद्हरु पब्लिक फिगर हुन’, उनले भने–‘उनीहरु के गर्छन, कहाँ जान्छन् भन्ने कुराले सार्वजनिक सन्देश जाने र अर्थ राख्ने गर्दछ । सोडारी जीमाथि जुनसुकै कारणले कारबाही भए पनि त्यसले त पब्लिकमा राम्रो सन्देश गइराखेको छैन नि ?’

 

पद्मा गएपछि मान्छेको ‘लाइफ स्टाइल’ अलिकित परिवर्तन हुन्छ नै । तर, त्यसलाई कसरी नियन्त्रण गर्ने त्यो नै मुख्य सवाल रहेको डा. पन्तको बुझाइ छ । ‘यहाँ त एउटा पद्मा पुग्ने बित्तिक्कै मान्छेले भुईमै खुट्टा टेक्दैनन् ।’, उनले भने–‘अझै त्यस्ता धेरै मान्छे हामीले नै सबैतिर देखि राखेका छौं । 

 

उहाँहरु आफैले पब्लिक फिगर हुँ भन्ने कुरा बुझ्न आवश्यक छ ।’ दुई वटा प्रदेशमा मन्त्रीहरुमाथि भएको कारबाही घटना अरुको लागि सिकाइको विषय बन्न सक्नु पर्ने बताइएको छ । ‘नैतिकता आखिर राजनीतिबाट नै जनताले सिक्ने हो ।’ डा. पन्तले अगाडि थपे–‘त्यसैले राजनीतिमा स्टान्डार्ड नैतिकता आवश्यक छ ।’

 

नाष्ट कलेज धनगढीका प्रमुख शिवहरी मुडभरीले उच्च ओहोदामा पुगेका व्यक्तिहरु समाजको नजिरको रुपमा रहने गरेको बताए । ‘उहाँहरुले गर्ने क्रियाकलापबाट नै कार्यकर्ता प्रभावित हुने हो ।’, मुडभरीले भने–‘तर, समाजलाई विखण्डित गराउने अथवा समाजमा दुष्ट चरित्र प्रदर्शन हुने किसिमको प्रवृत्ति भएमा त्यसले सिङ्गो सिस्टममाथि नै प्रहार गर्छ ।’

प्रतिक्रिया दिनुहोस्