नेपालमा कृषिको रूपान्तरण तथा वैज्ञानिकीकरण



  • गम्भीरबहादुर हाडा

काठमाडौं । नेपालको अर्थतन्त्र मूलतः कृषिमा आधारित छ। नेपालका अधिकांश मानिसहरू कृषिमा आश्रित छन्। कृषि नै एक मात्र व्यवसाय भएका कारण ग्रामीण विकासका सन्दर्भमा चर्चा गर्दा कृषिको चर्चा गर्नु अनिवार्य हुन्छ। वास्तवमा भन्ने हो भने नेपालका सन्दर्भमा ग्रामीण विकास भन्नु नै कृषि क्षेत्रको विकास हो।

मानिसहरूको निरन्तर संलग्नता, रोजगारीका अन्य विकल्पहरूको अभाव, औद्योगिकीकरणको अभाव आदिको कारणले कृषिको महत्वपूर्ण तथा सर्वोपरी स्थान रहेको छ। ग्रामीण क्षेत्रमा ६५ प्रतिशत मानिसहरू बसोबास गर्छन्। अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू कृषि व्यवसायमा आश्रित रहेका सन्दर्भमा ग्रामीण विकास तथा ग्रामीण क्षेत्रका बासिन्दाको उन्नति कृषि क्षेत्रको उन्नति तथा समुन्नतिमा निर्भर छ।

कृषि नेपालीको आर्थिक आधार मात्र नभई सामाजिक संरचनाको निर्धारकसमेत रहेको छ। नेपालको कृषि मूलतः निर्वाहमुखी छ। यसमा मूलतः खाद्यवस्तुको उत्पादनलाई बढी जोड दिइन्छ। उत्पादन प्रक्रिया सामान्य र परम्परागत तरिकाको हुन्छ । नाफा कमाउनेभन्दा बढी जीविकोपार्जनका लागि गरिन्छ।

कृषि उत्पादनका क्रियाकलापहरू सामान्यतः श्रमप्रधान हुन्छन्। यसका विपरीत व्यावसायिक खेती प्रणाली ग्रामीण उत्पादनको विकसित रूपमा रहेको हुन्छ। उत्पादकहरू जीविकालाई भन्दा पनि नाफालाई प्रधानता दिन्छन्। कृषिलाई एउटा व्यवसायको रूपमा अपनाएर त्यसबाट पुँजी निर्माण गर्छन् । आधुनिकीकरणका विविध पक्षहरूमध्ये भौतिक पक्ष पनि एक हो।

कृषिको औद्योगिकीकरण यसैमा पर्छ। वास्तवमा नेपालको सन्दर्भमा कृषिको औद्योगिकीकरण नगरेसम्म ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन कठिन नै पर्छ। यसको उदाहरण नेपालको ५० वर्षको योजनाबद्ध विकासलाई लिन सकिन्छ। नेपालको उपलब्ध प्राकृतिक स्रोत, साधनको पृष्ठभूमिमा दिगो आर्थिक विकास तथा मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार कृषि क्षेत्र नै हो।

प्रविधिको प्रयोग न्यून रहेको विद्यमान अवस्थाबाट माथि उठाउन प्रविधिको व्यापक प्रयोग गराई प्रतिइकाई उत्पादकत्वमा वृद्धि ल्याउन र उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन नसकिएसम्म कृषि विकासले गति लिन नसक्ने हुन्छ। कृषिको व्यावसायीकरणमा निजी क्षेत्रको लगानीलाई पर्याप्त रूपमा आकर्षित गर्न नसक्नु, रासायनिक मलको पर्याप्त व्यवस्था नहुनु, कृषि व्यावसायीकरणको निमित्त पकेट विकास आशाअनुरूप हुन नसक्नु र निकासी केन्द्रविन्दुहरूको विकास नहुनु, कृषि सडक निर्माणमा आवश्यक लगानी हुन नसक्नु, स्थानीय उत्पादनमा व्यावसायीकरण तथा प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि नहुनु, व्यावसायिक पशुपालनले प्राथमिकता प्राप्त कृषि उद्योगको दर्जा नपाउनु चुनौती देखिएको छ ।

हुनत ग्रामीण विकास कृषिको औद्योगिकीकरण जस्ता भौतिक पक्षको मात्र प्रगति र प्रवद्र्धन मात्र होइन, सांस्कृतिक रूपान्तरण र उन्नति पनि हो । तर, जति नै मात्रामा गैरभौतिक पक्षको विकास भए तापनि भौतिक विकासबिनाको विकासले वास्तविक रूपमा ग्रामीण जनताको जीवनस्तरमा रूपान्तरण र उन्नति हुन सक्दैन ।

अर्थशास्त्री सुल्जले परम्परागत कृषि रूपान्तरणको सिद्धान्त प्रतिपादन गरी विकासका विभिन्न सिद्धान्तहरूको विकासक्रममा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यस सिद्धान्तको अझ बढी महत्व भने कृषि क्षेत्रमा नै देखापरेको छ। परम्परागत कृषिलाई आधुनिकतातर्फ रूपान्तरण गर्ने प्रक्रिया सजिलो त छैन तर पनि रूपान्तरण प्रक्रियाका विभिन्न सम्भावनालाई सुल्जले प्रष्ट्याउने प्रयास गरेका छन्।

यदि पुरानो तथा परम्परागत उत्पादन तरिकाबाट कृषि उत्पादनलाई निरन्तरता दिने हो भने भूमि जतिसुकै उर्वर भए पनि जनशक्तिले अन्तिम प्रयास वा कडा परिश्रम गरे पनि उत्पादनमा वृद्धि हुन सक्दैन तर विज्ञान र प्रविधिलाई अवलम्वन गर्ने हो भने माटो उर्वर नभए पनि र मानिसहरू श्रमप्रति समर्पित नदेखिए पनि उत्पादनमा वृद्धि आउँछ भन्ने धारणा यस नमुनाले प्रस्तुत गरेको छ।

वास्तवमा परम्परागत कृषि संरचनामा पुस्ताहरूले प्रयोग गर्दै आएको उत्पादन फर्म समावेश भएको हुन्छ। अनि परम्परागत कृषिमा आश्रित राज्यहरू गरिब हुन्छन् र तिनीहरूले आम्दानीको अधिकतम अंश खाद्यान्नका लागि खर्च गर्छन् । जुन देशको कृषि क्षेत्र विकसित हुन्छ त्यहाँको कृषि उत्पादन तीव्र दरमा हुन्छ ।

जनताको आँत बलियो हुन्छ। आम्दानीको थोरै भाग मात्र खाद्यान्नका लागि खर्च गरिन्छ। यसरी कमजोर, जर्जर वा मीतव्ययी अवस्थामा रहेको परम्परागत कृषिलाई कसरी उच्च आर्थिक फाइदा प्राप्त हुने क्षेत्रमा परिणत गर्न सकिन्छ भन्ने कुरालाई यस मोडेलले प्रकाश पारेको छ। परम्परागत कृषि रूपान्तरणको आधारभूत समस्या भनेको लगानी समस्या हो । तर, लगानीको आपूर्ति गम्भीर समस्याको रूपमा देखापरेको छैन कृषि लगानीको स्वरूपमा निर्धारण गर्ने प्रक्रिया वास्तविक र केन्द्रीय समस्याका रूपमा देखापरेको छ।

यसका साथै कतिपय राष्ट्रहरू कृषि क्षेत्रलाई तुलनात्मक रूपले ध्यान नदिईकनै औद्योगिक प्रणालीमा रूपान्तरण भए पनि आर्थिक वृद्धिमा आधुनिक कृषि क्षेत्रले खेल्ने भूमिकालाई सहजै नकार्न सकिँदैन।
वास्तवमा द्वितीय विश्वयुद्धपछि अल्पविकसित राष्ट्रमा किसानहरूको समस्याहरू तीव्र रूपमा देखापरे। सबैमा साधारण चेतना के थियो भने किसानहरू ‘आर्थिक मानिस’ होइनन्। यही कुरालाई अगाडि सारेर कतिपय आर्थिक सिद्धान्तहरू चर्चामा पनि आउन सफल भए।

वास्तवमा किसानहरूको कार्यशैलीमा पनि परम्पराका साथै अन्धविश्वास पनि नभएको भने होइन। सन् १९६० पछि किसानहरूको यस्तो अवस्था तेस्रो विश्वमा केही हदसम्म रहिरह्यो तर पछि किसानहरू आर्थिक उत्प्रेरणाका विभिन्न स्वरूपहरू प्राप्त गर्न सफल भए। विस्तारै अन्धविश्वास अन्त्य हुँदै र बौद्धिकता एवं विवेकको प्रवेश भयो। यसका अतिरिक्त थुप्रै आनुभविक अनुसन्धानहरूले किसानहरूको व्यवहारलाई अध्ययन गर्न तथ्यगत ज्ञानको स्थिर आधार सिर्जना गरे। यसै सन्दर्भमा अन्य अर्थशास्त्रीको दृष्टिलाई परिवर्तन गर्दै एउटा पुस्तकको सिर्जना वा प्रकाशन भयो। त्यो पुस्तक हो– थियोडोर सुल्जको ‘ट्रान्सफर्मिङ ट्रेडिसनल एग्रिकल्चर’।

सन् १९७९ मा अर्थशास्त्रका लागि नोबेल पुरस्कार प्राप्त गर्न सफल यो पुस्तक विभिन्न विद्वान्हरूको आलोचनाबाट टाढा नरहे पनि यसमा नयाँ सिद्धान्त प्रस्तुत गर्ने प्रयास गरिएको छ । सुल्ज नमुनाले परम्परागत कृषिको वरिपरि रहेका किसानहरूको व्यवहारलाई प्रकाश पार्छ र परम्परागत कृषिलाई लगानीको माध्यमबाट रूपान्तरण गर्नाले फाइदा प्राप्त हुने कुरा प्रकाश पार्छ।

परम्परागत उत्पादन प्रणालीलाई अवलम्बन गरेका किसानहरूले आर्थिक वृद्धिमा पर्याप्त योगदान पुर्‍याउन सक्दैनन् किनकि त्यहाँको इकाई वा स्रोतहरूको विभाजनमा केही महŒवपूर्ण कमजोरीहरू हुन्छन्। परम्परागत किसानहरूको तत्कालीन उत्पादनमा वृद्धि गर्ने माध्यम लगानी हो, जुन आर्थिक वृद्धिको महत्वपूर्ण स्रोतका रूपमा रहेको हुन्छ।

परम्परागत कृषिका विशेषताहरू

– फर्म जीवनको माध्यम हो, जुन स्थापित परम्परामा आधारित हुन्छ । परम्परागत कृषिलाई जनताको जीवनयापन गर्ने माध्यमका रूपमा सांस्कृतिक चित्रण गरिएको हुन्छ।

– संस्थागत संरचनाले भूमिको कानुनी वैधताको स्वामित्व र कृषि उत्पादनमा घरायसी उपभोगको हिस्सालाई झल्काउँछ र वितरण गर्छ। वास्तवमा परम्परागत कृषिलाई सापेक्ष आर्थिक वृद्धिका रूपमा परिवर्ततन गर्न सकिन्छ। यो विशेष किसिमको सन्तुलन हो, जुन लामो समयपछि देखापर्छ । उत्पादनका नयाँ इकाईहरू पनि समावेश भएका हुन्छन्। यही समयमा उत्पादनका नयाँ साधन वा इकाईहरूले केही समस्याहरूको सामना गर्नुपर्छ ।

तर, यतिबेला उत्पादनमा वृद्धि भन्दा पनि ग्रामीण जनताका मूल्य, मान्यताले उच्चस्थान लिएका हुन्छन् । जनता कडा परिश्रम विरलै गर्छन् र अतिरिक्त कार्यबाट पनि प्रतिफल प्राप्त हुन्छ। परम्परागत कृषिले आधुनिक कृषि प्रणालीमा उत्पादनका नयाँ इकाईहरूलाई स्वीकार गर्छ अनि यहाँ फाइदाको दर र समुचित वितरणको पनि उल्लेखनीय महत्व रहन्छ। सुल्जका अनुसार सबै गरिब कृषि समुदायहरूमा परम्परागत कृषिका समान आर्थिक विशेषताहरू हुँदैनन्। यस्ता समुदायहरूमा मानिसहरूको आर्थिक सूक्ष्म दृष्टि सामान्यतः उपयुक्त हुँदैन किनकि तिनीहरूले आफूसँग रहेका इकाईहरूको दुरुपयोग गर्छन् ।

तिनीहरूले आम्दानीको थोरै र कम मात्र बचत र लगानी गर्छन् । यसका साथै मूल्यमा परिवर्तन र प्रत्येक चरणमा आर्थिक उत्प्रेरणा गर्नुपर्ने कुरालाई ध्यान दिँदैनन् र महत्वका साथ लिँदैनन्। परम्परागत कृषि समुदायको विचार राम्रो वा ठिक नभएको दृष्टि तयार गरिन्छ तर यही समयमा गरिब समुदायहरूमा कृषि उत्पादन गर्ने वा फर्मलाई व्यवस्थित गर्ने अनुभव हुँदैन। महत्वपूर्ण विकल्पहरू हुँदैनन्।कुनै किसिमको परिस्थितिअन्तर्गत रहेको परम्परागत कृषि समुदाय गरिब हुन्छ किनकि यस अर्थव्यवस्थाकोे विभिन्न इकाइहरू परर्निभर हुन्छन्। प्रशस्त मात्रामा उत्पादन गर्न सक्दैनन् ।

यस्ता समुदायहरूमा देखापरेको गरिबी उत्पादनका इकाईहरूको अनुपयुक्त वितरणको परिणामका रूपमा भने देखिएको हुँदैन । साना तथा घरेलु उद्योगमा हुने लगानी अधिकांश साना आकारका छन्। यस्ता स–साना कर्जा लगानी गर्दा बैंकको शिरोभार खर्च बढी हुने र व्यवसायीहरूलाई पनि कर्जा लिन धेरै समय लाग्ने हुँदा बैंकहरूले धेरै साना–साना कर्जा लगानी गर्नुभन्दा ग्रामीण क्षेत्रका वित्तीय संस्था/सहकारी बैंकिङ कार्य गर्न स्वीकृत प्राप्त गैरसरकारी संस्थालाई थोक कर्जा प्रदान गरी र ती संस्था प्रत्यक्ष लगानी गर्ने व्यवस्था हुन आवश्यक छ ।

लघु उद्योगहरूका लागि विद्यमान धितोपत्र कर्जा लगानी प्रक्रियालाई सरलीकरण गरी कर्जा सीमा बढाउनुपर्ने हुन्छ । वित्तीय संस्थाहरूलाई लघु उद्यममा लगानी गर्न कम ब्याजदरमा पुनः कर्जा दिने व्यवस्था गर्नुपर्ने साथै उत्पादनशील उद्योगमा गरिने लगानीमा विद्यमान चर्को ब्याजदरलाई कम गर्नुपर्ने हुन्छ। ग्रामीण क्षेत्रमा लगानी बढाउन कर्जा कार्यक्रमलाई स्थानीयस्तरमा पुर्‍याउने आवश्यक छ। यसका लागि स्थानीय सहकारी, वित्तीय संस्थालाई क्रियाशील तुल्याउने गर्छ।

भूमिसुधार कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरी जमिन पुनर्वितरणलाई अगाडि बढाउने र कृषि क्षेत्रमा विद्यमान पुरातनवादी सामाजिक, आर्थिक प्रणालीको विघटन गरी नयाँ तथा प्रगतिशील संस्थागत व्यवस्था गर्नु आवश्यक छ । कृषि क्षेत्रको विकासका खातिर सिँचाइको व्यवस्था गर्ने र नवीन प्रविधिको प्रयोग तथा लगानीको यथोचित प्रबन्ध गर्ने र बाली उत्पादनमा विविधीकरण गर्ने तथा नगदे बालीको उत्पादनमा जोड दिनुका साथै कृषि क्षेत्रमा संस्थागत ऋण प्रवाहको आवश्यक प्रबन्ध गर्नुपर्छ ।

नेपालको भौगोलिक बनावटलाई मध्यनजर गर्दा पशुपालन व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने र ग्रामीण उत्पादनलाई उपयुक्त बजार व्यवस्थाका लागि ग्रामीण बजारको प्रवद्र्धन गर्नुका साथै कृषि सडकको स्थापनाको साथै चिस्यान केन्द्रहरूको समेत स्थापना गर्नुपर्छ । कृषकहरूको सोचाइमा गुणात्मक परिवर्तनका लागि आवश्यक शिक्षा तथा तालिमको व्यवस्था गर्ने र स्थानीय तहमा कृषि क्षेत्रलाई सहयोग पुग्नेगरी साना कृषि उद्योगको विकास गर्नुका साथै कृषिलाई जीवन निर्वाह प्रणालीबाट व्यावसायिक बनाउन र विकेन्द्रित ग्रामीण योजना बनाई कार्यान्वयन गर्नु अतिआवश्यक छ।

कृषि आधुनिकीकरणका समस्याहरूमा विविधतायुक्त धरातल र जलवायु, प्रचुर जलस्रोत, मौलिक ज्ञान, कृषिमा आधारित उद्योग, बजारको विकास जस्ता क्षेत्रहरू देखापरेका छन्। यस क्षेत्रका समस्याहरूलाई समाधान गन यस्ता उपायहरू अपनाउन सकिन्छ। जस्तै : कृषिलाई प्रथामिकता दिई उत्पादकत्व अभिवृद्धि गर्न, आधुनिक प्रविधिको उपयोग, सिँचाइ सुविधाको वृद्धि गर्न । कृषिको व्यावसायीकरण तथा विविधीकरण गर्ने, बेमौसमी खेती तथा दोहोरो बाली उत्पादन गर्ने, व्यावसायिक रूपमा ठूलो क्षेत्रमा खेती गर्ने र उत्पादन बढाउने । कृषि पूर्वाधारमा जोड दिने।

यसरी नै कृषि प्रविधिको विकास गर्ने । कृषकलाई सहुलियत ऋण तथा मल–बिउ दिने अन्य सहयोगहरूमा बाली उत्पादनसँग सम्बन्धित अन्य परामर्श दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल कृषि तथा पशुजन्य कार्यक्रमलगायत उपयुक्त प्रविधिको अनुसरण र विकास गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्