सुर्खेत : सुर्खेतमा सञ्चालित देउती नागरिक यातायात प्रालिले सुर्खेतबाट काठमाडौं जाने यात्रुका लागि माइलेज कार्ड वितरण गरेको छ ।
प्रालिले हालै सुरु गरेको काठमाडौं सेवाअन्तर्गत नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसबाट माइलेज कार्ड दिएको छ । प्रालिले बिहीबार काठमाडौंका लागि तीन ओटा रात्रिकालीन बस छुटाएको छ ।
हायस सेवा दिँदै आएको बस कम्पनीले पहिलो पटक काठमाडौं रुटका लागि बस सञ्चालनमा ल्याएको छ । ‘काठमाडौं सेवा सुरुसँगै यात्रुलाई माइलेज कार्ड दिएका छौं’, प्रालिका सचिव रमेश खड्काले भने ‘प्रालिका जुनसुकै बसमा पनि यात्रुले यात्रा गर्नुअघि काउन्टरमा माइलेज कार्ड देखाए १० प्रतिशतसम्म यात्रामा छुट पाउनेछन् ।’
उनले यात्रुहरुको मागअनुसार नयाँ गाडी भित्र्याएको पनि बताए ।
अन्य बसको तुलनामा यात्रुलाई आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले जानकारी दिए । उनले बसमा हिटर, एसी, फ्री वाइफाई र लक्जरी सिटको सुविधा रहेको बताए ।
अध्यक्ष खड्काले एकपटक कार्ड लिने यात्रुले उक्त कार्ड सुरक्षित राख्नुपर्नेछ । ‘एकपटक लिएको कार्ड पुनः हाम्रो सवारी प्रयोग गर्दा काउन्टरमा लिएर आउनुपर्नेछ’ उनले भने, ‘जुनसुकै ठाउँबाट पनि हाम्रो यातायातमा सवार यात्रुले जुनसुकै बेला १० प्रतिशत छुट पाउनेछन् ।’
आरामदायी यात्राका लागि यात्रुलाई आकर्षित गर्न माइलेज कार्ड व्यवस्था गरिएको उनले बताए । मंसिर १ गतेदेखि काठमाडौं बसपार्कमै काउन्टर स्थापना गरेर सेवा दिइने उनले जानकारी दिए । यसबाट यात्रा गर्ने सबैले माइलेज कार्ड प्राप्त गर्नेछन् ।
के हो माइलेज कार्ड
यात्राका क्रममा यातायात कम्पनीले यात्रुलाई दिने सहुलियत कार्ड हो । कम्पनीले यात्रुलाई आफ्नो गाडीतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्ड प्रयोगमा ल्याउने गर्छ । यो कार्ड देखाएर हरेक पटक यात्रा गर्ने यात्रुलाई कम्पनीले तोकेको सहुलियत तथा छुट उपलब्ध गराउने गर्छ ।