पेसागत हकहित तथा शैक्षिक संगठन सुधार माग गर्दै शिक्षकद्वारा धर्ना



विराटनगर : पेसागत हकहित तथा शैक्षिक संगठन सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरस्थित शिक्षा विकास तथा समन्वय इकाइ मोरङमा धर्ना दिएका छन् ।

 

नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको आयोजनामा बिहान १० देखि दिउँसो २ बजेसम्म विरोधस्वरुप शिक्षकहरुले धर्ना दिएका हुन् । 

 

धर्नाका क्रममा जिल्लाका १७ वटै स्थानीय तहका स्थायी, अस्थायी, र राहत शिक्षक सहभागी भएका नेपाल शिक्षक महासंघ मोरङ सहसचिव अरविन्द यादवले जानकारी दिए ।

 

महासंघद्वारा घोषित तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरिका समन्वय इकाइमा विरोधका कार्यक्रम गरिएको उनले बताए । महासंघले उठाएको पेसागत हकहित र शैक्षिक सुधार २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने यादवको भनाइ छ ।

 

सो क्रममा शिक्षकहरुले समन्वय इकाइमा व्यंग्ग्यात्मक नाचगान गरेका थिए ।

 

गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि छुट्याइएको बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको चार प्रतिशत विनियोजन गर्न माग गरिएको शिक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्