बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकाका विभिन्न वडाबाट बालबालिका संकलन गरेर काठमाडौं लैजान लागेको अवस्थामा उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले पढाउन लैजाने भन्दै संकलन गरेर ल्याईएका १० जना बालबालिकाको उद्धार गरेको हो ।
अतिविपन्न दलित परिवारका बालवालिकाहरुलाई काठमाण्डौमा लगेर पालन पोषण र पढाई दिने भन्दै बुढीनन्दा नगरपालिका वडा नं. ८ का वीरबहादुर लुहारले जिल्ला सदरमुकाम ल्याएर सदरमुकाम मार्तडीको पाणी होटलमा राखेका थिए ।
शङ्कास्पद लागेपछि लुहारसँग सोधपुछ गर्दा जिल्लाको सिफारिस विना काठमाडौं लैजान लागेको पाइएपछि प्रहरीले बालबालिकाको उद्धार गरेर निजलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला बाल कल्याण समिति र स्थानीय प्रशासनलाई जानकारी नदिई बालबालिकालाई काठमाण्डौ लैजान लुहारले अभिभावकसँग बाजुरादेखि काठमाण्डौं सम्मको भाडा बराबरको रकम समेत संकलन गरेको प्रहरीले बताएको छ ।