सुदूर पश्चिम प्रदेशमा सधैँ इन्धन अभाव



कैलाली : सुदूरपश्चिम प्रदेशमा माग अनुसारको भण्डारण क्षमता नहुँदा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ । प्रदेशमा पेट्रोलियम पदार्थको खपत बढिरहेपनि भण्डारण क्षमतामा वृद्धि नहुँदा उपभोक्ताले इन्धन अभावको समस्या भोग्नुपरेको छ । 

 

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले देशको समग्र पेट्रोलियम पदार्थको खपत २० देखि २२ प्रतिशतले वृद्धि भएका बेला सुदूरपश्चिम प्रदेशमा ३० देखि ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र खपत बर्षेनि बढ्दै गए पनि भण्डारण क्षमता नहुँदा भने समस्या देखिएको हो ।

 

लामो समय लाइनमा बसेर पनि पेट्रोलियम पदार्थ नपाएपछि व्यवसायीले सार्वजनिक सवारी साधन चलाउनै छाडेका छन् । सुदूरपश्चिम प्रदेशमा लगातार पेट्रोलियम पदार्थको अभाव हुँदा पनि सरोकारवालाले समस्या समाधानका लागि पहल नगरेको यातायात व्यवसायी हरि पालको गुनासो छ ।  

 

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सडक, पुल, जलविद्युत परियोजना लगायत अन्य भौतिक पूर्वाधारको विकास बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि वृद्धि भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए ।

जग्गा प्राप्त नहुँदा भण्डारण क्षमता बढाउन निगमले बनाएको योजना कार्यान्वयन हुन नसकेको शर्माको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस्