किसानसँग प्रतिकिलो तीन रुपैयाँमा किनेको काउली ५० रुपैयाँमा बिक्री



गोरखा : व्यापारीले खरिद नगरेपछि गोरखाको घ्याल्चोकका किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रमै कुहिन थालेको छ ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्यामिरेघाटका किसानले बिक्रीका लागि संकलन केन्द्रमा जम्मा पारेको तरकारी व्यापारीले किसानको माग अनुसारको मूल्यमा नकिनिदिँदा कुहिन थालेको हो ।

त्यहाँको जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामा आवद्ध किसानले उत्पादन गरेको झण्डै १० टन काउली संकलन केन्द्र कुहिन थालेको वडा नम्बर ७ का वडाध्यक्ष तुलसी रेग्मीले बताए । 

जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थाका झण्डै १ सय किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । यो सिजनमा सबैजसो किसानले काउली खेती गरेका थिए । 

तर खुद्रा बजारमा ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने काउलीका लागि व्यापारीले भने किलोको ३ रुपैयाँ मात्रै तिर्न सकिने बताएपछि दुई दिनयताको उत्पादन बजारमा पठाउन नसकिएको सहकारीका अध्यक्ष गोविन्द रेग्मीले बताए ।

लगानी अनुसारको मूल्य नपाएपछि किसानले बिहीबार तरकारी बिक्री बहिष्कार गरेका थिए । बारीको काउली बजारमा नल्याएर बिक्री बहिष्कार गरेका किसानले ३ रुपैयाँ प्रतिकिलोमा बेच्दा लगानी समेत नउठ्ने बताएका छन् ।

‘तीन रुपैयाँमा बेच्नु र बारीमा कुहाएर फाल्नुमा केही फरक भएन’, रेग्मीले भने, ‘मल र बीउको समेत मूल्य नआउने देखिएपछि किसान निराश छन् ।’

प्रतिकिलो काउलीको मूल्य कम्तिमा १५ रुपैयाँ हुनुपर्ने माग राखेका किसानले शुक्रबार भने १० रुपैयाँ घटीमा नबेच्ने अडान राखेका थिए ।

किसानले न्यूनतम १० रुपैयाँभन्दा कम मूल्यमा बेच्न नसक्ने अडान राखेपछि व्यवसायीले काउली नकिनेका हुन् ।

‘१० रुपैयाँ किलोमा बेच्न पाए कम्तिमा मल र बीउको लगानी उठ्छ’, सहकारीका अध्यक्ष रेग्मी भन्छन्, ‘नर्सरीमा काउलीको एउटा विरुवा हुर्काउन मात्रै ३ रुपैयाँ खर्च हुन्छ, किसानको श्रम, अरु लगानी जोड्दा एक किलो काउली फलाउन २२ रुपैयाँसम्म खर्च हुन्छ ।’

उचित मूल्य पाउने आशमा बिक्री बहिष्कार गरेका किसानले शुक्रबार भने काउली संकलन गरेर बजारमा ल्याएका थिए । तर किलोको ३ रुपैयाँभन्दा बढीमा किन्न कुनै पनि व्यापारी तयार नभएपछि झण्डै १० टन काउली संकलन केन्द्रमै थन्किएको हो ।

गत वर्षको यही सिजनमा ६८ रुपैयाँ प्रतिकिलोसम्म पुगेको काउलीको भाउ यो वर्ष खस्किएको हो । 

प्रतिक्रिया दिनुहोस्