हेटौँडा : प्रदेश ३ को शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तीनवटा निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले तीनवटा निर्णय गरेको हो ।
बैठकले उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयले पेश गरको नदीजन्य पदार्थ संकलन र उपयोगसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।
त्यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको राप्ती नगरपालिकाको कार्यालय र चितवनको प्रशासकीय भवन निर्माण अनुमति दिने निर्णय गरेको छ भने सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश भित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश २०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल सहित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल सहभागि थिए ।