झापामा ७ वटा उद्योग कारबाहीमा



झापा । झापामा ७ वटा उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए। “केही फाइल जिल्लाबाहिर पठाएका छौँ”, उनले भने, “केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ ।”

प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक÷एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ । “खाद्य गुण नियन्त्रण गर्न हामी लागि परेका छौँ”, उनले भने, “पुराना फाइल पनि छन्, तिनीहरुलाई पनि किनारा लगाउँदै नयाँमा काम–कारबाही अगाडि बढाइरहेका छौँ ।”

४ वटा जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको तथा सीमित जनशक्ति भएकाले भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । कार्यालयअन्तर्गत इलामका ६२ होटल व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर एवं होटल व्यवसायीले पालना गर्नुपर्ने मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

झापाको मेचीनगरमा स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिका लागि खाद्य स्वच्छता अभिमुखीकरण, उपभोक्ता भेला लगायतका कार्यक्रम गरिएको छ । सडक खाना (स्ट्रिट फुड) व्यवसायीलाई स्वच्छतासम्बन्धी तालिम दिने तयारी भइरहेको कार्यालयले जनाएको छ । पानीपुरी, चटपटे, ठेला पसल व्यवसायीलाई भेला गराएर एकदिने तालिम दिन लागिएको कार्यालय प्रमुख भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्