प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, माओवादीका २ र एमालेका १ मन्त्री थपिए



विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन्।

उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन्।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ।

विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्