डडेल्धुरामा १८ दिनदेखि हराएका बालकको शव गाडिएको अवस्थामा फेला



धनगढी । डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन्। गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय दानबहादुर विष्टले पुस २७ गते उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा प्रहरीले उनको खोजी गरेको थियो। शनिबार घरबाट ५ सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिएका छन्। मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए। उनका बुवा भने कामको लागि भारतमा रहेका छन्।

बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडुले बताए। उनको हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरीले टोली घटनास्थलमा मुचुल्का उठाइरहेको छ। शवको प्रकृति हेर्दा केहि दिनअघि नै हत्या गरिएको हुनपर्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्