स्वास्थ्य संयन्त्रमा सुधारको विकल्प छैन



काठमाडौं । नेपालमा जाडो बढ्दो छ । तराईका अधिकांश जिल्लामा शीतलहर चलेको छ। ट्राफिक प्रहरीले आममानिस र सवारी चालकलाई सावधानी अपनाउन सुरु गरिसकेको छ। तुवाँलो र हुस्सुका कारण समस्या बढ्दो छ । समस्या यतिमै सीमित छैन, धेरै स्थानमा पराल बाल्ने प्रचलन बढेको छ।

यसले निम्त्याउने प्रदूषणको त कुरै नगरौँ, दम र श्वासप्रश्वासको समस्या त जाडो महिनामा विगतदेखि नै हुन थालेको छ। कोरोनाको म्युटेसन र नयाँ भेरियन्टका कारण यो समस्या अझ बढ्दो छ। हाम्रो खाद्यान्नमा रहेको मिसावटका कारण मानिसको शरीर अझै जीर्ण बनेको छ। कोरोना महामारी भित्रिएको ३ वर्ष भइसकेको छ।

यसकारण यसबारे सर्वमान्य कुरा सबैलाई जानकारी भइसकेको छ। यो सङ्क्रमणका कारण श्वासप्रश्वासमा हुने समस्या बढ्ने र रगतले अक्सिजन पुर्‍याउन नसकेपछि धेरे अङ्गले काम गर्न छाड्ने हुन्छ। यसपछि मानिसको ज्यानै जानेसम्मको जोखिम हुन्छ।

यसमा थपिने वायु प्रदूषणले त झनु विकराल समस्या निम्तिन सक्छ। धेरै ग्रामीण भेगका नेपालीलाई त जाडोयाममा अझै बढी समस्या हुने गरेको छ। आम गरिब नेपालीका लागि जाडो चल्न त्यत्तिकै कठिन बनेको छ। यसका कारण श्वासप्रश्वासमा समस्या आई दम रोगको जोखिम बढ्ने हुँदा तत्कालै अस्पताल लैजानुपर्ने अवस्था पनि हुन सक्छ। यस अवस्थामा सरकारी स्वाथ्य संयन्त्रको यो कमजोरी साँच्चै दुःखलाग्दो छ। धेरै स्थानमा हुने गरेको चिकित्सक अभाव र उपकरण अभाव थप समस्या हुन्।

नेपालमा तल्लो तहसम्मका सरकार बन्दा पनि डोजरे विकास पहिलो प्राथमिकता बनेको छ । केही देखावटी कुरा गरेर बढी प्रचार गर्ने र आत्मरतिमा रमाउने समस्या स्थानीय सरकारमा समेत देखिएको छ। अनुत्पादक कुरामा धेरै खर्च गर्ने तथा आफू अनुकूल कार्यकर्तालाई खुसी बनाउनमै धेरै रकम खर्चिने मनोरोग नेपाली राजनीतिमा तल्लो तहसम्मै देखिएको छ। यस कठिन परिस्थितिमा नागरिकको स्वास्थ्य कहिल्यै पनि पहिलो प्राथमिकतामा परेको आभास भएको छैन।

नेपालमा धेरै यस्ता गाउँ छन्, जहाँ पछिल्लो समय मोबाइल संस्कृति भित्रिएको छ । तर, गर्भवती महिलाले नियमित स्वाथ्य जाँच गराउने परम्परा बस्न सकेको छैन । घरमा रहेका प्रौढ व्यक्तिलाई नियमित स्वास्थ्य जाँच गराउने प्रचलनको सुरुआत पनि भएको छैन। हाम्रा लागि या हाम्रो घरमा रहेका बच्चा र प्रौढका लागि अबको १ महिना केही कठिन समय हो।

हिउँ, माघे झरी र तुसारो त भोग्न बाँकी नै छ। मुस्ताङ र सङ्खुवासभा जस्ता जिल्लामा बहने चिसो हावाको प्रकोप त यस वर्ष पनि झेल्नु नै छ। कुनै पनि सरकारको पहिलो जिम्मेवारी र दायित्व भनेको नागरिकको जीवन हो । यसका लागि स्वास्थ्य संयन्त्र बलियो बनाउनु नै हो। जाडोका कारण हुने क्षति कम गर्न स्वास्थ्य संयन्त्र तयार गर्न जरुरी छ। यसतर्फ राज्यका निकाय गम्भीर हुनैपर्छ।

प्रतिक्रिया दिनुहोस्