जनादेशको सम्मान गर, राष्ट्रको भविष्य सुनिश्चित गर



  • श्यामप्रसाद मैनाली

काठमाडौं । आवधिक निर्वाचनले लोकतन्त्रलाई पुनर्ताजगी बनाउँछ। लोकतन्त्रमा निखार ल्याउने अचुक अस्त्र नै निर्वाचन हो। आफ्ना जनप्रतिनिधिहरूको आवधिक मूल्याङ्कन निर्वाचनमार्फत् सार्वभौमसत्ता सम्पन्न जनताले गर्छन्। नेपालमा करिब २० वर्षसम्म निर्वाचित निकायहरूलाई कर्मचारीहरूबाट सञ्चालित गराएको अवस्थासमेत थियो।

न्यायपालिकाका गैरराजनीतिक व्यक्तिलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने काम मात्र भएन, तत्कालीन समयमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख एकै व्यक्तिलाई बनाएर लोकतन्त्रको दुहाई दिने कामसमेत नेपालमा भयो । आवधिक निर्वाचनमा जनताले दिएको म्यान्डेटलाई सबैले सम्मान गर्दै पालना गर्नुपर्छ। लोकतन्त्रको संस्थागत विकास भएको हो वा होइन परीक्षण गर्ने यो नै अचुक आधार हो।

आवधिक निर्वाचनका चरणहरू धेरै पार गरिसकिएको छ। तर नेपालमा जनताको आदेशलाई शिरोपर गर्ने प्रणालीको र अभ्यासको विकास आजका दिनसम्म पनि हुन सकेको छैन । जनताले स्पष्ट रूपमा सरकार चलाउन, प्रतिपक्षमा रहन आदेश दिँदै गर्दा त्यसविपरीत सत्तामा पुग्ने अस्वस्थ प्रतिस्पर्धा नेपालका राजनीतिक दलहरूले गर्दै आएका छन्। संवैधानिक प्रावधानसमेत त्रुटिपूर्ण बनेको अनुभूति सहजै गर्न सकिन्छ। नेपालमा हालै सम्पन्न संसदीय निर्वाचनले दिएको मतादेश र यसमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले कसरी सम्मान गरेका छन्÷छैनन्, यसका बारेमा समेत विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ।

‘नेताले नेतृत्व प्रदान गर्छ, तर अन्त्यमा जनतासमक्ष आफ्नो कर्तव्य निर्वाह गरेको सन्दर्भलाई मूल्याङ्कन हुनका लागि समर्पित हुनुपर्छ’– यो भनाइ संयुक्त राज्यका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले संसद्मा निर्वाचित भएपश्चात् अभिव्यक्त गरेका हुन्। यो भनाइ नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ। नेपाली जनताले हालै सम्पन्न निर्वाचनमा हरेक राजनीतिक दलमा नयाँ नेतृत्वको चाहना राखेको देखियो।

यसका अतिरिक्त वैकल्पिक लोकतान्त्रिक शक्तिको चाहनासमेत नेपालीले धेरै लामो समयदेखि राख्दै आएका थिए। सन् २०२२ को संसदीय निर्वाचनले पनि यही विषयलाई उजागर गरेको छ। राजनीतिक दलहरूका अपेक्षाविपरीत राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूलाई विश्वास प्रकट गर्नुबाट यही विषयको उजागर हुन्छ। स्वतन्त्र पार्टीको घन्टी चिह्नले सबै स्थापित पुराना दलहरूलाई सुधार र रूपान्तरणका साथ राजनीति गर्न सचेत गराएको छ।

यस दलले सचेत नागरिक मतदाता रहेको क्षेत्र जस्तै– काठमाडौं, ललितपुर, चितवन जस्ता क्षेत्रबाट राष्ट्रिय दल बन्ने अवसर प्राप्त गरेको छ। यसबाट सचेत मतदाता स्थापित पुराना दलसँग निराश बनेको र ती दललाई सच्चिन बाध्य पारिने सङ्केत दिएका छन् । जनताको यो सन्देशलाई पुराना दलहरूले आत्मसात् गर्नैपर्छ। अन्यथा यी दल इतिहासमा सीमित हुनेछन्।

देशभर नै यी दल र युवाले ठुलो उपलब्धि हासिल गर्न सफल बनेका छन्। ठुला दलहरू (कांग्रेस, एमाले, माओवादी केन्द्र)को ठुलो प्रभाव रहेको निर्वाचन क्षेत्रमा समेत मतदाताले युवाहरूलाई अवसर प्रदान गरेका छन् । रास्वपामा अन्य दलको तुलनामा सचेत, शिक्षित, सुसभ्य र नयाँ अनुहारले अवसर प्राप्त गरेका छन् । यो मतदाताले जनप्रतिनिधिलाई पाठ पढाएका हुन् । भनिन्छ– संसारमा परिवर्तन मात्र स्थायी छ । परिवर्तनसँग आत्मसात् गर्दा मात्र राष्ट्र र समाजले प्रगति गर्छ।

सबै प्रकारका प्रभाव पार्दै आएका पुराना दलहरूलाई र यसका तथाकथित ठुला राजनीतिज्ञहरूलाई मतदाताले राम्ररी परिचयसम्म पनि गर्न नपाएका नितान्त नयाँ अनुहारबाट विस्थापित गराइदिएका छन्। यी जनताले विश्वास गरेका नयाँ अनुहारहरूमा राष्ट्रप्रतिको आस्था, सकारात्मक चिन्तन र दीर्घकालीन सोचसमेत भएको देखिँदै छ । नेपालको राजनीतिमा देखिएको यो उत्साहजनक पक्ष हो। सन् २०२१ को राष्ट्रिय जनगणनालाई आधार मान्दा नेपालको जनसङ्ख्याको ६१ प्रतिशत १५ देखि ६४ वर्ष उमेरका छन् ।

४ दशमलव ४ प्रतिशत मात्र ६५ वर्ष पुगेका छन्। ३४ दशमलव ६ प्रतिशत १४ वर्षमुनिका छन् । हालसम्मको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दा युवा र शिक्षित मध्यम वर्गीय जनशक्तिले नै मौलिक राजनीतिकलगायत परिवर्तनमा उल्लेखनीय योगदान गरेको पाइन्छ । जनसङ्ख्याको बनोट र देशले सामना गरिरहेका चुनौतीहरूलाई दृष्टिगत गर्दा नेपाली जनताले नयाँ परिवर्तनकारी शक्तिको प्रतीक्षा लामो समयदेखि गरिरहेको प्रतीत हुन्छ । यो नै समयको माग पनि हो ।

अर्को निकै महत्वपूर्ण र सकारात्मक सन्देश पनि प्रवाह भएको छ । यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अस्तित्व राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएको छ । यस दलले राजतन्त्रको पुनर्बहालीको माग गरेको छ । हिन्दु राष्ट्र कायम गर्ने पक्षमा वकालत गरिआएको छ । यस दलले राष्ट्रिय मूल्य र आदर्शको चुरो समाउन सफल बनेको छ। किनकि राष्ट्रिय पहिचान त्यस देशको क्षेत्रफल, संस्कृति, धर्म, विश्वास र भाषामा मात्र सीमित हुँदैन। नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुभन्दा पहिले विश्वमै एकमात्र हिन्दु राष्ट्रको पहिचान कायम गर्न सफल थियो।

विश्वमै एकमात्र हिन्दु राष्ट्रको पहिचान बनाएको यस देशले ठुलो इज्जत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त गर्न सफल भएको थियो । नेपालको सनातन हिन्दु धर्म र संस्कृति सबै राष्ट्रिय मूलधारमा रहेका धर्म संस्कृति, जसमा बौद्ध, शिख, जैन, किराँतलगायत जनजातिलाई एकै सूत्रमा आबद्ध गर्न सफल भएको थियो । हिन्दु राष्ट्र बनेको समयमा कुनै पनि धर्मलाई असमान व्यवहार गरिएको थिएन।

पश्चिमा लोकतान्त्रिक देशहरूमा जस्तो विभेदपूर्ण व्यवहार नेपालमा थिएन । संयुक्त अधिराज्यमा चर्च सदस्यहरूका लागि २६ स्थान आरक्षित गरिएको छ । युरोपका ३२ देशमा क्रिस्चियन धर्मलाई राज्यको मूल धर्मका रूपमा मान्यता दिइएको छ । युरोप र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले बाइबल समाएर शपथ लिन्छन् । धेरै युरोपियन देश क्रिस्चियन राजनीतिक दलको आधिपत्य छ । तर नेपालमा हिन्दु राष्ट्र बनेको समयमा सबै धर्मलाई सम्मान थियो । कुनै प्रकारको भेदभाव गरिएको थिएन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु धर्मका आधारमा शासन सञ्चालन गर्दै अन्य धर्मलाई असमान व्यवहार गर्ने लक्ष्य राखेको देखिँदैन। नेपालको मूल्य र पहिचान कायम गर्दै हिन्दु राष्ट्रको बारेमा आवाज उठाइरहेको हो, जसलाई सच्चा सम्पूर्ण नेपालीले सम्मान गर्नुपर्ने अवस्था छ। निर्वाचनको नतिजाले समेत यही यथार्थलाई आत्मसात् गरेको छ। तराईमा लामो समयदेखि तराई–मधेसको नाममा राजनीति गर्दै आएका केही क्षेत्रीय दल थिए। यस निर्वाचनमा मधेसका जनताले जनमत पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गरिदिएका छन्।

यसअघिसम्म मधेसवादी दलहरूले सीमित घेरामा रमाएर मधेसवादीका नाममा केही सीमित आफ्नाहरूलाई अवसर प्रदान गर्ने अस्वस्थ प्रतिस्पर्धा गरेका थिए। जनमत दलले पुराना क्षेत्रीय दलहरूलाई विस्थापित गर्नु र सीके राउतले आफ्नो दललाई केही शर्त पूरा भएमा सरकारमा सहभागी हुने तर आफू सरकारमा सहभागी नहुने उद्घोष गर्नुबाट पनि यस क्षेत्रका जनतामा नयाँ आशा पलाएको छ।

यस निर्वाचनमा आफ्ना प्रतिबद्धताहरू पूरा नगर्ने केही पुराना नेताहरूले पनि विजयी हुने अवसर प्राप्त गरेका छन् । देशभरका जनता परिवर्तनका पक्षमा खुलेर आफ्नो मत जाहेर गर्न विवश बनेका छन् । मतदाताले परिवर्तनको विकल्प अबको राजनीतिमा नहुने स्पष्ट आदेश दिएका छन्।

जनताका नाममा राजनीति गर्नेहरूले जनताको यो आदेशविपरीत गएर राजनीतिक भविष्य सुरक्षित गर्न सक्ने छैनन् । जनताको आवाजलाई सम्मान गर्दै तदनुरूप कार्य नगर्ने पुराना परीक्षण भइसकेका राजनीतिज्ञहरूलाई परिवर्तनका पक्षमा आवाज नदिई यथास्थितिवादी बन्दै राजनीति गर्ने छुट दिएका छैनन् । जनताको आवाजलाई सम्मान नगर्नेले अब राजनीति परित्याग गर्ने सोच बनाउँदा हुन्छ ।

पुराना शैलीमा शासन गर्न अभ्यस्त भएकाहरूवाट परिवर्तनको चाहना राख्नु व्यर्थ हो । यसका लागि राजनीतिमा नयाँ अनुहारहरूको प्रवेश हुनैपर्छ। पुराना दलभित्रका युवाहरू पनि परिवर्तनकै पक्षमा छन् । परिवर्तनको अभावमा राष्ट्रिय समृद्धि सम्भव नहुनेमा विश्वस्त छन्। देशले सामना गरिरहेका चुनौतीको सामना गर्न पनि नयाँ युवा शक्ति राजनीतिमा आउनु जरूरी छ।

नयाँ सरकारले नेपालको बौद्धिक पलायन र युवा पलायनलाई नियन्त्रण गरी उनीहरूको योगदान नेपाल राष्ट्रको निर्माणका लागि हुने अवस्था सिर्जना गर्न नयाँ शिराबाट चिन्तन मनन गर्दै नीति अवलम्बन गर्नु अत्यावश्यक छ । बेरोजगारी समस्याको समाधान गर्न देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने उपायहरूको खोजी हुनुपर्छ ।

राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन सक्नुपर्छ । व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न कामयाव हुनुपर्छ। विविधताका बीच एकताका लागि स्पष्ट नीति तर्जुमा गर्नुपर्छ। देशभित्र सुशासन कायम गर्न दृढताका साथ अघि बढ्नुपर्छ । पुरानाहरूले विगतमा पनि केही गरेनन् । वर्तमान समयमा पनि केही गर्ने सङ्केत गर्न सकेका छैनन्।

जनताले विश्वास गरेर पठाएका केही युवा नयाँ अनुहारलाई जनताले परीक्षण गर्ने सन्देश निर्वाचनमार्फत् प्रवाह गरेका छन् । पुरानाहरू शासनमा रहँदासम्म देशको भविष्य अन्धकार हुनेमा अपवादबाहेकका नागरिक विश्वस्त छन्। नयाँ प्रभावकारी नेतृत्वको खोजी राष्ट्रले गरिरहेको छ । आशा गरौँ– नेपाली जनताले छिपेका प्रतिभाहरूलाई देशको नेताका रूपमा प्राप्त गर्ने छ र देशको भविष्य सुनिश्चित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्