१४ जनाकाे ज्यान लिने चितुवाकाे डीएनए परीक्षण हुने



सन्धिखर्क  : अर्घाखाँचीमा पाँच वर्षमा २४ बालबालिका चितुवाको आक्रमणमा परे । १४ जनाको त ज्यानै गयो । नरभक्षी चितुवाको आतंकबाट सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायत गाउँका स्थानीय त्रस्त थिए । कति त गाउँ छाड्नै बाध्य भए ।

 

२४ कात्तिकमा ढिकुरा पियालेमा थापिएको पासोमा परेर एउटा चितुवा मारियो । चितुवा मरेपछि स्थानीयको खुसीको सीमा रहेन । तर, ज्यानमारा चितुवा त्यही हो त ? छ्यानब्यान गर्न डीएनए टेस्ट गर्न लागिएको छ ।

 

डीएनए जाँच्न मरेको चितुवाको रगत र र्‍याल काठमाडौं पठाइएको सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । गत शनिबार साँझ चितुवाको आक्रमणबाट पियालेमा चार बर्से बालकको ज्यान गएको थियो । जंगलमा बच्चा भेटिएको स्थानको नमूना र बच्चाको रगत समेत परीक्षणका लागि पठाइएको छ ।

 

अर्घाखाँचीमा चितुवा आक्रमणमा १४ जना मारिएको र १० जना घाइतेको उपचार गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । गत शनिबार समेत बालकको ज्यान लिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो ।

 

तर प्रहरीले चितुवा फेला पार्न सकेन । त्यसपछि स्थानीयले बाघखोर बनाएका थिए । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा याे समाचार छ । 

प्रतिक्रिया दिनुहोस्