भुवर भवानी मन्दिर परिसरमा थारु माघी मेलाको रौनक



बाँके । थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला शुरु भएको छ।

विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ। मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउनेगरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताए।

“भुवर भवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ।”

माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रुपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए। उनका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारु कलाकारको कला प्रस्तुति रहने छ।

यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारु गाउँ सञ्चालनमा ल्याइएको छ । मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रुपमा सञ्चालन भएको छ। माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले बताए।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पोडेलले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको बताए।

उनले भुवर भवानी मन्दिर राप्ती सोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

उनका अनुसार, माघी पर्वको अवसरमा थारु गाउँमा हर्षोल्लासका साथ मनरोञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सदभाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्