८ वर्षीय भाञ्जाको घाँटी रेटेर हत्या गर्ने मामा पक्राउ



सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको हत्या गरेका छन् । कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा हुन् ।

हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले बताएका छन् । डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ ।

खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिएका छन् । स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि प्रहरी टोली घटस्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्