सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित



धनगढी । सुदूरपश्चिमको सभामुखमा बझाङबाट चुनाव जितेका माओवादी सांसद भीम भण्डारी चयन भएका छन्। पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर वहुमत नपुगेपछि माघ ३ गतेको बैठकबाट भण्डारी बहुमतसहित सभामुख चुनिएका हुन्।

यसअघि पुस २९ गते बैठक बस्ने भनिए पनि दलहरूबीच सहमति नहुँदा स्थगित भएको थियो। त्यसपछि पुस ३० गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सासंद तटस्थ बस्दा सभामुखका उम्मेदवार बनेका भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल मध्ये कुनै एक जनाले पनि बहुमत पाउन सकेनन्।

त्यो दिन दुबै उम्मेदवारले पक्ष र विपक्षमा २२-२२ मत पाएका थिए। त्यसपछि पुनः माघ २ प्रदेश सभाको बैठक बोलाइएको थियो। पोखरामा भएको हवाईजवाज दुर्घटनाबारे राष्ट्रिय शोक परेका कारण सर्वदलीय बैठकले उक्त बैठकले स्थगित गरेको थियो।

मंगलबार बसेको बैठकले माओवादीका भण्डारीको पक्षमा २९ र कांग्रेसका रावलको पक्षमा २० मत परेको थियो। भण्डारीलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन थियो।

यो सँगै बझाङ जिल्लाले लगातार दोस्रो पटक सुदूरपश्चिमको सभामुख पाएको छ। २०७४ सालमा एमाले–माओवादीको बाम गठबनधन हुँदा एमालेबाट निर्वाचित अर्जुन थापा सभामुख भएका थिए।

प्रतिक्रिया दिनुहोस्