निदाएको अस्पताल ब्युँझिएपछि ल्याएको खुसी



  • विशाल बस्नेत

जलेश्वर । ‘अस्पताल ब्युँझियो भन्ने आशा गरौँ । स्वास्थ्य उपचारका लागि निजी अस्पताल जान पर्दैन कि !’, बर्दिबास-३ का रमेश खड्काले खुसी हुँदै भने । रमेश जस्तै निजी अस्पतालमा महँगो शुल्कमा उपचार गराइरहेका बर्दिबास नगर क्षेत्रका धेरै सर्वसाधारण अहिले निकै खुसी छन् ।

अस्पतालले विभिन्न २६ वटा सेवाहरू विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणवाट प्रवाह गरेपछि सर्वसाधारणमा खुसी छाएको हो । ‘सामान्य सुत्केरी हुन नसकेका महिलाहरूको अपरेसन गर्न निजी अस्पतालमा ५० हजार रुपैयाँसम्म तिर्नुपथ्र्यो । यतिसम्म कि स्वास्थ्य बीमा गरेका सर्वसाधारण निजी अस्पतालमै गएर लामो लाइन बस्नुपथ्र्यो’, बर्दिबास- ५ का रोजबहादुरले उत्साहित हुँदै भने ।

पहिलेपहिले अस्पतालमा जाँदा भएका चिकित्सक भेटिँदैनथे । केही जाँच गर्नुप¥यो भने पनि अस्पतालले निजी क्लिनिकमा पठाउँथ्यो । पहिलेको बेथिती सम्झँदै स्थानीय सविता भण्डारीले भनिन्, ‘अहिले रगत जाँचदेखि एक्सरेसम्म एकै ठाउँमा हुँदा निकै खुसी लाग्यो ।’बर्दिबास अस्पतालले सर्वसाधारणको स्वास्थ्य उपचारलाई ख्याल गर्दै आफ्ना सेवाहरू विस्तार गरेपछि निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्त बन्ने विश्वास गरिएको छ ।

अस्पतालले यसअघि नभएका जनरल ओपीडी सेवा, इमर्जेन्सी सेवा, प्रसूति तथा महिला रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा जस्ता महत्वपूर्ण सेवा विस्तार गरेको छ । पूर्ववर्ती स्थानीय सरकारले सरकारी अस्पतालको विषयलाइ लिएर निकै आलोचना खेपिरहेका बेला नवनिर्वाचित स्थानीय सरकारले गरेको यस कार्यको जनस्तरवाट निकै सराहना भएको छ । निर्वाचित भएको ८ महिनासम्म पनि देखिनेगरी केही काम नभएको आलोचना खेपिरहेको प्रह्लादकुमार क्षेत्री नेतृत्वको सरकारले जनस्तरसँग जोडिएको स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाएपछि पुनः चर्चा सुरु भएको हो ।

शल्यक्रिया सेवा, नवजात शिशु स्याहार सेवा, दाँत, मुख तथा गिजा रोग सेवा, ल्याब सेवा जस्ता अत्यावश्यक सेवाले अस्पतालको महत्व थप बढाएको छ । नागरिकहरूको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्ने बताउँदै आएका नगर प्रमुख क्षेत्रीले अस्पतालमा देखाएको तदारुकताले यसलाइ प्रमाणितसमेत गरेको स्थानीयको भनाइ छ । नगर प्रमुख क्षेत्रीले भने, ‘अब देखिनेगरी कामका नतिजा आउँछन् । हामी जनताका समस्याहरूलाई पहिचान गरेर सोहीअनुसार काम गर्न लागिपरेका छौँ ।’

एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा, भर्ना सेवा जस्ता सेवाहरूले सर्वसाधारणले निजी अस्पतालमा तिर्नुपर्ने महँगो शुल्कबाट मुक्त हुने अस्पताल प्रशासनको दाबी छ । नगरले अस्पतालको भौतिक संरचनामा पनि ध्यान दिएको छ । सेवा क्षेत्र विस्तारअनुसार अस्पतालको माथिल्लो तलामा पनि आवश्यकताअनुसार कोठाहरू बनाइएको छ । अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर–किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषण सेवा, होल बडी चेकअप सेवा जस्ता सेवाहरू विस्तार गरेसँगै बर्दिबास मात्र होइन, महोत्तरी क्षेत्र नं.– १ कै लागि बर्दिबास उपयुक्त उपचार केन्द्र बन्ने विश्वास गरिएको छ ।

५० शैय्या क्षमता भएको अस्पतालमा अहिले ८३ जनाभन्दा बढी चिकित्सक, परिचारिका र कर्मचारी कार्यरत रहेका मेडिकल सुपरिटेन्डेन्ट कृष्णा महर्जनले जानकारी दिइन् ।अस्पतालमा दिने भनिएका सम्पूर्ण सेवा सुचारु भएपछि उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्त हुने नगरको विश्वास छ । ‘न्यून आय भएका सर्वसाधारणले पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था थियो, अब त्यो पूर्ण रूपमा समाधान हुन्छ’, अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण घिमिरेले भने, ‘यो बर्दिबासलगायत महोत्तरीका लागि युगान्तकारी परिवर्तन हो ।’

अघिल्लो स्थानीय सरकारले अस्पतालको भौतिक संरचनादेखि चिकित्सक व्यवस्थापनमा गरेको नेतृत्व र नयाँ स्थानीय सरकारले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य उपचारमा खेलेको भूमिकाको संयोजनले नै अस्पतालले उचाइ लिएको स्थानीयहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्