काम गर्ने’ मन्त्रीहरूका काम देखाऊ



काठमाडौं । हरेक चुनावताका नेताले भन्ने गर्छन्- म काम गरेर देखाउँछु । र, वर्षौंदेखि ‘काम गरेर देखाउने’ नेताहरूले चुनाव जितेपछि आफ्ना बाचा चटक्कै भुल्छन् । यो सनातन प्रवृत्ति बनेको छ हाम्रा नेताहरूको । यस प्रवृत्तिको सिकार सधैँ आमजनता भएका छन् । यति हुँदा पनि आमजन भने उनै नेतालाई पटकपटक सत्तामा पुर्‍याउन बाध्य छन् किनभने राजनीतिक दलहरूमा उनीहरूकै हालिमुहाली र दबदबा कायम छ वर्षौंदेखि । यो सुधार हुने लक्षण प्रभावकारी छैन । केही ‘नयाँ’ भनिएका दलहरू बेलाबेला अस्तित्वमा आए पनि तिनीहरू पानीको फोका सावित हुँदै आएका छन् ।

अहिले नयाँ संविधान जारीपछिको दोस्रो आमचुनाव सम्पन्न भई त्रिशङ्कु सरकार बनेको छ । नयाँ भनिएका, आमूल परिवर्तनकामी, पूर्णपूरातनवादी, नवपुरातनवादी, नव आमूल परिवर्तनकामी आदि सबै प्रकारका मार्ग भएका दलहरूको यो सरकार विविध रङका अनुहारहरूको संयोजन बनेको छ । यस सरकारमा रहने दलका नेताहरूले पनि गत ४ मङ्सिरको आमचुनावताका माथि भनिएकै भाषण ठोकेका थिए । सत्तामा पुगेपछि पनि प्रधानमन्त्री, गृहमन्त्रीलगायतले ‘कम बोल्ने, बढी काम गर्ने’ ढर्राका भाषण ठोक्न भ्याइसकेका छन् । तर, यिनको चाल भने उही पुरानै छ । यिनबाट ‘काम’को अपेक्षा गर्नु फेरि पनि हाम्रो दिवास्वप्न हुने सङ्केत प्रशस्त छन् ।

खासमा करिब दुई तिहाइको सरकार हुँदा त आन्तरिक किचलोका कारण ‘काम’ देखाउन नसक्ने हाम्रो सरकारको नियति अहिले खिचडी सरकारले काम देखाउला भन्ने सोच्नु नै बढी हुन सक्छ । तथापि, कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने मान्यता राख्ने हो भने परिस्थिति मिलाउन र ‘साँच्चै केही गर्नै पर्छ’ भन्ने स्वयंमा दबाब राख्न सके भने केही नहोला भन्ने पनि होइन । यद्यपि, हाम्रो परम्परा र नियतिलाई विश्लेषण गर्ने हो भने यसमा शङ्का गर्ने सुविधा पनि प्रशस्त छ ।

हामी आन्तरिक द्वन्द्व, सशस्त्र हिंसा, दरबार हत्याकाण्ड, विनाशकारी भूकम्पलगायतका समस्या र विपत्तिबाट गुज्रिएका छौँ । पछौटेपना र अविकास हाम्रा दुर्दान्त नियति बनिरहेकै छन् । कम्तीमा विकाशशील देशको सिँढी चढ्न पनि दशकौँ लाग्ने अवस्थाका हामी हाम्रै कारण पछि परेका पनि यथार्थ हो । चुनौतीलाई अवसरमा बदल्ने साहस, कुशलता र आत्मविश्वासको हामीमा सधैँ कमी भयो । अब त्यस्तो अवस्था रहनुहुँदैन । जनताले ‘मिलिजुली देश चलाऊ, मिलेर विकास गर’ भन्ने सन्देश आमचुनावबाट दिइसकेका छन् । जनताको मतको कदर गर्दै वर्तमान सरकारले साँच्चै ‘काम गरेर देखाउने’ शक्ति र सद्बुद्धि प्राप्त गरोस्, हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्