स्वच्छ समुदाय निर्माणमा ‘९ र’ अभ्यास



  • अमृतनाथ तिमल्सिना

काठमाडौं । फोहोरमैलाको विषय मानवीय क्रियाकलापसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । आफ्नै क्रियाकलापबाट भएको उत्पादनलाई सही ढङ्गले व्यवस्थापन गर्न नसक्दा आफूलाई असर पार्ने सम्पूर्णतत्व नै फोहोर हो । ठोस, तरल वा ग्यासको रूपमा उत्पादन हुने फोहोरमैलाको यसको उत्पतिको स्वरूप र पार्ने असरका आधारमा प्राणी जगत् यसबाट टाढा रहने गर्छ ।

मानिसदेखि पशुपक्षीसम्मले फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने आफ्नै शैली प्राकृतिक रूपमा नै विकास गरेका हुन्छन् । जब प्राकृतिक प्रणालीमाथि मानवीय क्रियाकलापको अतिक्रमण बढ्छ, त्यसपछि फोहोरले विकराल रूप लिन्छ । संसारमा प्रत्येक दिन मानव क्रियाकलापबाट प्रतिव्यक्ति २०० देखि ५०० ग्राम फोहोर उत्पादन हुन्छ । विश्वभर दैनिक करिब ५२ लाख टन र एसिया प्रशान्त क्षेत्रमा मात्र दैनिक करिब ११ लाख ९० हजार टन फोहोर उत्पादन हुन्छ । यसमा औसत ६० देखि ७० प्रतिशत प्राङ्गारिक फोहोर हुन्छ भने २० देखि २५ प्रतिशत फोहोर पुनः प्रयोगयोग्य हुन्छ ।

अव्यवस्थित फोहोरमैलाका कारण करिब ४०० किसिमका रोगहरू लाग्ने स्वास्थ्य अध्ययनले देखाएको छ । यस्ता रोगहरूका कारण दिनानुदिन मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । जैविक फोहोरमैलाका कारण उत्पन्न हुने मिथेन ग्यासको प्रभावले वार्षिक ० दशमलव ०६ डिग्री सेल्सियसले पृथ्वीको तापक्रम वृद्धि भई हिमालहरूको अस्तित्वसमेत खतरामा छ ।

तरल तथा अर्धतरल फोहोरलाई ढलको रूपमा चिनिन्छ । संसारभर सार्वजनिक ढल व्यवस्थापन ज्वलन्त समस्याको रूपमा बढिरहेको छ । सन् २०३० सम्ममा ढल पहुँचमा नपुग्नेहरूको सङ्ख्या ५ दशमलव ४ विलियन पुग्ने अनुमान गरिएको छ भने सन् २००० मा ढलको पहुँचमा नहुनेको सङ्ख्या ७१ प्रतिशत रहेकामा हाल ६७ प्रतिशतमा झरेको भए तापनि यो अवस्थालाई सकारात्मक मान्न सकिँदैन ।

ढल प्रशोधन स्थलको अभाव, निर्माण कार्यको ढिलाइ र विविध कारणले भइरहेको ढिलाइ मानव स्वास्थ्य र वातावरणका लागि खतरनाक सावित भइरहेको छ । फोहोर पानीसँग सम्बन्धित रोगहरूले दैनिक ५ हजार जनाको ज्यान गइरहेको छ । नेपालमा सन् २००० मा १४ प्रतिशत नागरिक आधारभूत सरसफाइको पहुँचमा रहेकामा सन् २०२० सम्ममा ७७ प्रतिशत नागरिक आधारभूत सरसफाइको पहुँचमा पुगेका छन् तर व्यवस्थित ढल निकासको पहुँच भने न्यून छ ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य ६(२) अनुसार सन् २०३० सम्ममा सम्पूर्ण नागरिकलाई सरसफाइमा न्यायोचित पहुँच हुने कुरामा नेपालले प्रतिबद्धता जनाइसकेको छ । नेपालमा ४५ प्रतिशत नगरपालिकाका ९ दशमलव ४ प्रतिशत घरधुरी मात्र ढल व्यवस्थापन सुविधाको पहुँचमा छन् । नेपालको संविधान, २०७२ को धारा ३५(४)ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको अधिकार मौलिक हककै रूपमा व्यवस्था गरेको छ । विषयवस्तुको सम्वेदनशीलताका कारण पनि स्वच्छता र सरसफाइको हक प्रत्याभूत गर्नका लागि यस क्षेत्रमा गर्नै पर्ने केही अभ्यासहरूलाई चर्चा गर्न आवश्यक छ । विशेषगरी यस क्षेत्रलाई समस्याको रूपमा नभई सम्भावनाको रूपमा देख्न पनि केही चर्चा हुन आवश्यक छ । स्वच्छ समुदायका लागि ‘९ र सवाल’ लागू गर्ने विषयमा चर्चा हुनु जरुरी ठानिएको छ ।

रिड्युस अर्थात् कम गर्नु । फोहोरमैलालाई स्रोतबाटै कम गर्नुपर्छ । सम्भव भएसम्म प्रयोग गर्ने, पुनःप्रयोग गर्ने वा सही व्यवस्थापन गरेर फोहोको रूपमा हुने उत्पादनलाई कम गर्नुपर्छ । ठोस वा तरल जुनसुकै रूपको फोहोर भए पनि स्रोतमै कम गर्ने हो भने फोहोरमैला व्यवस्थापनको विषय दीर्घकालीन समाधानका लागि सजिलो हुन्छ । रियुज अर्थात् पुनः प्रयोग । फोहोरमैलाको रूपमा हामीले भन्ने गरेका सामग्रीहरूको पुनःप्रयोग गर्न सकिन्छ । प्लास्टिकका बोतलहरू, झोलाहरू वा अन्य प्लास्टिकका सामग्रीहरूलाई पटकपटक प्रयोग गर्न सकिन्छ । एक पटक प्रयोग भएपछि सिधै फोहोरको रूपमा नफ्याँकेर त्यसलाई काम लागुञ्जेल पुनः प्रयोग गर्ने हो भने स्वच्छ समुदाय निर्माण गर्न सकिन्छ ।

घर, भान्छामा सानातिना काम गर्दा निस्कने फोहोर पानीलाई करेसाबारी वा घर कम्पाउन्डमा रहेको तरकारी बारीमा उत्पादन भएकै स्वरूपमा प्रयोग गरियो भने सेफ्टी ट्यांकी भरिने वा ढल निकासको ट्यांकी भरिने सम्भावना कम हुन्छ । यसर्थ, पुनः प्रयोग निकै महत्वपूर्ण सवाल हो । रिसाइकल अर्थात् पुनः चक्रीय प्रयोग । पुनः प्रयास गरेर गरिने प्रयोगलाई रिसाइकल भनिन्छ । कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरिसकेपछि नकुहिने फोहोरलाई प्रशोधन गरेर अर्को रूपमा रिसाइकल मेटेरियल बनाउन सकिन्छ । जस्तैः पेट बोतलहरूबाट फाइबर निर्माण गर्न सकिन्छ भने अन्य साना प्लास्टिकहरूबाट प्रशोधन गरेर अर्को प्लास्टिक सामग्री बनाउन सकिन्छ । ढलको पानी पनि रिसाइकल गरेर पुनः सवारी साधन धुने, खेतबारीमा प्रयोग गर्ने वा अन्य प्रयोजनमा पुनः प्रयोग गर्न सकिन्छ ।

रट अर्थात् घरायसी फोहोरको कम्पोस्टिङ । कुहिने वा अर्गानिक फोहोरलाई घरायसी रूपमै कम्पोस्ट बनाउने अभ्यासले फोहोरमैला व्यवस्थापन तथा कम्पोस्ट निर्माणको दोहोरो फाइदा हुन्छ । घरमै निर्माण गरेको अर्गानिक कम्पोस्ट कौसी खेती तथा गार्डेन फार्मिङका लागि उपयोगी हुन्छ । अर्कातर्फ अर्गानिक फोहोरले फोहोरमैला व्यवस्थापनमा नाइट्रोजन र मिथेन ग्यासको उत्सर्जन न्यूनीकरण हुने हुँदा प्रदूषणको कमी हुन्छ । उल्लेखित ‘४ र’ फोहोरमैलाको व्यवस्थापन तथा स्वच्छ समुदाय निर्माणका लागि गरिने प्राविधिक काममा आधारित सवालहरू हुन् भने अन्य ‘५ र’ फोहोरमैला व्यवस्थापनको नीतिगत र व्यवस्थापकीय एवं प्रशासनिक सवालमा आधारित छन् ।

रेस्पोन्सिबिलिटी अर्थात् उत्तरदायित्व । स्वच्छ समुदाय निर्माणका लागि फोहोरमैला व्यवस्थापनको सवालमा उत्तरदायित्व अत्यन्त महŒवपूर्ण विषय हो । यसमा नागरिकको आफ्नो विशिष्ट उत्तरदायित्व छ । नागरिक स्वयं उत्तरदायी नबनी स्वच्छता र सरसफाइको विषय काल्पनिक कुरा मात्र हुन्छ । जिम्मेवार नागरिक भएको खण्डमा सफाइ सम्बद्ध निकायहरू उत्तरदायी हुनुपर्छ ।

फोहोरमैला वा ढल व्यवस्थापनको सामुदायिक निकाय होस् वा निजी क्षेत्र, जो छ, त्यो सेवा प्रदायक निकाय उत्तरदायी हुनुपर्छ । त्यसपछि राज्यका निकाय उत्तरदायी हुनुपर्छ । नेपालको संविधानअनुसार फोहोरमैला व्यवस्थापनको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्छ । कानुनले तोकेको उत्तरदायी सरकारी निकाय स्थानीय तह हो भने राज्य कानुनले फोहोर उत्पादक स्वयं जिम्मेवार भएकाले प्रदूषक आफैँले फोहोरमैला व्यवस्थापनको शुल्क तिर्नुपर्ने उत्तरदायित्व छ ।

रिन्युएबल अर्थात् नवीकरणीय । फोहोरमैला ठोस होस् वा तरल, जस्तो अवस्थाको भए पनि त्यसलाई नवीकरणीय स्रोतको रूपमा लिनुपर्छ । त्यसलाई नयाँ रूपमा रूपान्तर गरेर उपयोग गर्नुपर्छ । कतिपय स्थानमा खेर गएका टायरहरूलाई वा फोहोरमा भेटिएका सामानहरूलाई उपयोग गरेर अन्य सामग्रीहरू बनाइएको पाइन्छ । यस्तै, जिम्मेवारीहरूको नवीकरणलाई पनि हामीले महŒवपूर्ण सवालका रूपमा लिनुपर्छ । जिम्मेवार निकायले दिएको जिम्मेवारीलाई नवीकरण गरिरहनुपर्छ । फोहोरमैला व्यवस्थापनका लागि तोकिएको निजी क्षेत्र वा सामुदायिक सङ्घसंस्थासँग राज्य र उपभोक्ता दुवै पक्षले सम्बन्ध वा सम्झौतालाई नवीकरण गरिरहनुपर्छ ।

रिजनेबल) अर्थात् व्यावहारिक । फोहोरमैला व्यवस्थापनका नियम, कानुनदेखि कार्यसञ्चालन प्रक्रिया, जिम्मेवार निकायहरू र त्यसको समन्वयलगायतका पक्ष व्यावहारिक हुनुपर्छ । फोहोरमैला व्यवस्थापनको विषय स्थानीय तहलाई जिम्मेवारी प्रदान गरे पनि माथिल्ला तहका सरकारहरूको समन्वय प्रभावकारी नहुनाले अहिले त्यो विषय जटिल बनिरहेको छ । त्यसैले नियम, कानुन व्यावहारिक बनाउनुपर्ने आवश्यकता खट्किएको छ । कतिपय कानुनहरू अव्यावहारिक हुनाले गर्दा फोहोरमैला प्रशोधनलगायतका काममा अप्ठ्यारो सिर्जना भएको छ ।

रियाक्टिभ अर्थात् प्रतिक्रियाशील । फोहोरमैला व्यवस्थापनमा संलग्न सम्पूर्ण संरचना प्रतिक्रियाशील हुनुपर्छ तर सन्तुलित र स्वस्थ । उग्र, अस्वस्थ र व्यग्र प्रतिक्रियाले नभई स्वस्थ नियमित र सन्तुलित प्रतिक्रियाले यो क्षेत्र व्यवस्थित हुन्छ । फोहोरमैला निषेधित क्षेत्र वा सार्वजनिक क्षेत्रमा कसैले फोहोर फ्याँकेको देखेमा तत्काल जसले देख्यो, त्यसले प्रतिक्रिया दिइहाल्नुपर्छ ।

कसैले परागको खोल बाटोमा फ्याँक्यो भने अर्को सचेत व्यक्तिले एउटाले ‘जाबो परागको खोल फ्याँकेको त हो नि’ भनेर मौनता देखायो भने यो समस्या समाधान हुँदैन तर तत्काल रियाक्सन (प्रतिक्रिया) दिइहाल्नुपर्छ । यस्तो प्रतिक्रियाशीलताले फोहोरमैला व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । प्रदूषक कर सङ्कलनको विषय होस् वा अन्य हरेक जिम्मेवारीको कार्यान्वयनमा क्रियाशीलतासँगै प्रतिक्रियाशीलता जरुरी हुन्छ ।

रिफ्युज अर्थात् इन्कार । कुनै सेवा, वस्तु वा पदार्थ आवश्यक छैन वा वातावरणलाई असर गर्छ भने त्यसलाई इन्कार गरिहाल्नुपर्छ । इन्कारीले तत्काल नकारात्मक सन्देश गएजस्तो लागे पनि दीर्घकालमा त्यो महत्वपूर्ण प्रतिरोधको रूपमा स्थापित हुन्छ । त्यसैले आफ्नो क्षेत्रलाई सरसफाइका मामिलामा कडा नियमहरू बनाएर इन्कारी कार्यान्वयनलाई प्रभावकारी ढङ्गले लागू गर्नुपर्छ ।

यसरी फोहोरमैला व्यवस्थापनलाई दिगो र प्रभावकारी एवं न्यायोचित ढङ्गले हेर्ने हो भने प्राविधिक र व्यवस्थापकीय पक्षहरूलाई सही ढङ्गले हेर्नुपर्छ । स्वच्छ समुदाय निर्माण गर्ने विषय जसरी सबैको लागि हो भन्ने प्रष्ट छ, त्यसको अनुभूति गराउनका लागि सम्पूर्ण पक्षलाई समेट्नेगरी सवालहरूलाई सार्वजनिक रूपमा स्थापित गराउनुपर्छ । जब फोहोरमैला व्यवस्थापनको विषयलाई एकीकृत रूपमा स्वच्छताको सवालसँग जोडेर उठाइन्छ, तब मात्र सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेअनुसार र संविधानले मौलिक हकमा व्यवस्था गरेअनुसार स्वच्छ वातावरणको हक प्राप्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्