चिकित्सा क्षेत्र सेवामुखी बनाऊ



काठमाडौं । चिकित्सा क्षेत्र यस्तो क्षेत्र हो, जसको सम्बन्ध प्रत्यक्ष रूपमा मानिसको जीवनसँग जोडिएको हुन्छ। मानिस जब अस्वस्थ हुन्छ, उसको एक मात्र भर र विश्वास चिकित्सक हुन्। चिकित्सकले भनेको अक्षरशः मान्नु र दिएको औषधि बिनाशङ्का प्रयोग गर्नु मानिसको चिकित्सकप्रतिको पूर्ण भरोसा हो।

यस्तो क्षेत्रमा कुनै पनि प्रकारका विकृति, विसङ्गति र गलत कार्यहरू हुनु सोझै मानिसको जीवनमा जोखिम हुनु हो। सवारी चालक र चिकित्सकप्रतिको आमजनको विश्वास र भरोसा साँच्चै महत्वपूर्ण मानिन्छ। तर, अत्यावश्यक र महत्वपूर्ण मानिने चिकित्सकीय सेवामा पछिल्लो समय विकृतिका चाङ देखिन्छन्। पैसाको पछि लाग्दा मानव स्वास्थ्यमा जोखिम त छ नै धेरैको ज्यान अनाहकमै जाने अवस्था पनि छ।

पेसाभन्दा बढी सेवाका रूपमा लिइने चिकित्सालाई पछिल्लो समय पेसा बढी र सेवा कमका रूपमा लिइन थालिएको छ । यसर्थ, सरकारी अस्पतालमा नियुक्त चिकित्सकहरू अहिले सरकारी अस्पतालमा भेटिँदैनन् बरु निजी क्लिनिकहरूमा चौबीसै घन्टा उपलब्ध हुन्छन् । यसको मूल कारण पैसा नै हो ।

हुन पनि लाखौँ रुपैयाँ खर्च गरेर पढेको विद्या सरकारी अस्पतालमा जागिर खाएर पढेको दाम उठाउनै गाह्रो छ चिकित्सकहरूलाई । यो सरकारको विषय भयो तर सरकारी सेवामा के कति सेवा, सुविधा छन् भनेर जानीबुझी त्यहाँ जागिर खान गएपछि तलब, सुविधा खाए बराबरको समय सरकारी अस्पतालमा दिनै पर्छ । होइन भने राजीनामा दिएर निजी धन्दामा संलग्न भए कसैको चिन्ताको विषय हुनेछैन।
यस्तो अवस्था त विद्यमान छ नै, अझ सरकारी अस्पतालका चिकित्सक र नर्सहरूले गर्ने व्यवहार त सम्झी साध्य छैन।

बिरामी र कुरुवासँग बोल्ने टर्रो र तीतो बोली अनि गर्ने रूखो व्यवहार सम्झिँदा सामान्य बिरामीको त प्रेसर हाई हुन्छ नै, सग्लो कुरुवासमेत बिरामी हुन्छ। तर, उनै चिकित्सक वा नर्स निजी क्लिनिक वा अस्पतालमा छन् भने देउता जस्ता भइदिन्छन्। बाफ्रे ! पैसाको कमाल ! उनीहरूले निजी क्लिनिक र अस्पतालबाट बिरामीमार्फत राम्रै रकम सोसेका हुन्छन्।

यसर्थ, सेवामुखी कार्यहरूलाई पैसासँग जोख्न थालिएपछि मानिसको जीवन जोखिममा परिरहने अवस्थाको अन्त्य होस् । चिकित्सक भगवान् भरोसे नभई वास्तवमै भगवान्का स्वरूप बनून् भन्ने आमजनको अपेक्षा पूरा होस्।

प्रतिक्रिया दिनुहोस्