आयोजना सञ्चालनमा लागत लाभ विश्लेषण



  • गम्भीरबहादुर हाडा

काठमाडौं । कुनै पनि आयोजना सञ्चालन गर्दा त्यसको उद्देश्य निर्धारण गर्नुपर्छ। आयोजनाको उद्देश्य सामाजिक, आर्थिक, वित्तीय पृष्ठभूमि सुहाउँदो हुनुपर्छ। उक्त उद्देश्यले तत्कालीन समस्यालाई व्यवस्थित रूपमा पूरा गर्नुपर्छ । आयोजना सञ्चालन गर्दा लागत तथा लाभको विशेष ध्यान दिनुपर्छ किनभने यी २ पक्षको केन्द्रीयतामा नै आयोजना औचित्य सावित हुन्छ।

कृषि आयोजना सञ्चालन गर्दा आयोजनारहित कृषि कार्य गर्दा कति उत्पादन हुन्छ र आयोजनासहित कृषि कार्यक्रम सञ्चालन गर्दा कति उत्पादन हुन्छ, सो कुराको विश्लेषण गर्नुपर्छ। कृषि आयोजना कृषि कार्यक्रमको व्यवस्थित कार्यपद्धति र कार्ययोजना हो । त्यसैले यसको तयारी गर्दा लागत र लाभको गहन अध्ययन र विश्लेषण गर्नुपर्छ।

कृषि आयोजनामा विभिन्न किसिमका लागतहरू, जस्तै : भौतिक वस्तु, श्रमिक, भूमि, आकस्मिक खर्च, कर, ऋण आदि समावेश भएका हुन्छन्। यिनीहरूको पहिचान र विश्लेषण गरिन्छ। कृषि आयोजनामा विभिन्न किसिमबाट, जस्तै : उत्पादनमा वृद्धि गरेर, गुणात्मक सुधार गरेर, बिक्री समय र स्थानमा परिवर्तन गरेर वस्तुको स्वरूपमा परिवर्तन गरेर, मेसिन तथा यातायात लागत घटाएर, चुहावट रोकेर फाइदा प्राप्त गर्न सकिन्छ ।

यी सबै फाइदाहरू कृषि आयोजनाबाट प्राप्त हुने लाभ हुन्। आयोजना सञ्चालन गर्दा यी लागत तथा लाभ दुवैको व्यवस्थित विश्लेषण र लेखाजोखा गरिन्छ। कृषि आयोजनामा प्रत्यक्ष रूपमा देखापर्ने लागत र लाभको मात्र विश्लेषण एवं अध्ययन र तयारी मात्र नगरेर द्वितीय लागत तथा लाभ र अदृश्य लागत तथा लाभको पनि अध्ययन एवं विश्लेषण गर्नुपर्छ। यी लागत तथा लाभले कृषि आयोजनाको सफलतामा गहन भूमिका खेल्छन् साथै कृषि आयोजनालाई सकारात्मक एवं नकारात्मक प्रभाव एवं असर पार्छन् । त्यसैले कृषि आयोजना सञ्चालन गर्दा विभिन्न लाभ तथा लागतहरूको व्यवस्थित र वैज्ञानिक ढङ्गले पहिचान गर्नुपर्छ।

कुनै पनि आयोजना निश्चित उद्देश्य राखेर सञ्चालन गरिएको हुन्छ। यस्ता उद्देश्यहरूलाई सफल तुल्याउन आयोजनाको प्रारम्भदेखि अन्त्यसम्म लाग्ने लागत र आयोजनाबाट प्राप्त हुने फाइदाको विश्लेषण गरिन्छ। कृषि आयोजनालाई सफल तुल्याउनका लागि मानवीय एवं गैरमानवीय क्षेत्रमा लगानी गरिन्छ। उक्त लगानीबाट सकेसम्म अधिकतम् फाइदा प्राप्त गर्ने आशा राखिएको हुन्छ। वास्तवमा आयोजना एउटा विश्लेषणात्मक कार्य पद्धति हो, जसको उद्देश्यलाई लागत तथा लाभले प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। आयोजनाको लागत र लाभको बीचमा तुलनात्मक अध्ययन गरी कृषि आयोजना सञ्चालन गर्नुपर्छ।

आयोजनाका प्रकृति वा उद्देश्य विभिन्न किसिमका हुन्छन् । यस्ता उद्देश्यलाई क्षेत्र, समय, लागत, संस्कृति, समस्या, आवश्यकता, क्षमता आदिले प्रभाव पार्छन् । व्यक्तिगत वा सामुदायिक आवश्यकता राष्ट्रिय उद्देश्य अनि दाताहरूको प्राथमिकताअनुसार आयोजनाको उद्देश्य एवं मूल्य निर्धारण गरिन्छ । सामाजिक आवश्यकता राष्ट्रिय उद्देश्य अनि दाताको प्राथमिकता प्राविधिक सम्भाव्यताअनुसार आयोजनाको उद्देश्य निर्धारण गरिन्छ । आयोजनाको विश्लेषण्मा लागतले त्यस्ता वस्तु र सेवालाई जनाउँछ, जसले आयोजनाको उद्देश्य वृद्धि एवं सम्पादनलाई कटौती गर्छ अर्थात् फर्ममा सहभागी सदस्यको आम्दानी एवं राष्ट्रिय आयलाई कटौती गर्ने वस्तु र सेवा नै कृषि आयोजनाका लागतहरू हुन् ।

आयोजनामा यस्ता लागत सकेसम्म कटौती गर्ने वा कम गर्ने प्रयास गरिएको हुन्छ । कृषि आयोजना विश्लेषणमा फाइदाले त्यस्ता वस्तु र सेवालाई जनाउँछ, जसले आयोजनालाई उद्देश्यअनुसार अगाडि बढ्न सहयोग गर्छन् । फाइदाहरू त्यस्ता वस्तु वा सेवा हुन्, जसले व्यक्ति एवं फर्मको आम्दानी र समाजको राष्ट्रिय आम्दानी वृद्धि गर्न सहयोग पुर्‍याउँछन् । अहिले सामाजिक लागत तथा विश्लेषण विश्व बैंक तथा सरकारी संस्थाहरूले मात्र अवलम्बन नगरी निजी तथा अर्धसरकारी संस्था वा निकायले पनि अवलम्बन गर्दै आएका पाइन्छ।

सामाजिक लागत लाभ विश्लेषणले मौद्रिक मूल्यलाई भन्दा बढी सामाजिक मूल्यलाई जोड दिन्छ। आयोजना सञ्चालन गर्दा के कति सामाजिक लागत तथा लाभ प्राप्त हुन्छ, सो कुराको विश्लेषण गर्छ। अर्थात् सामाजिक लागतलाई भन्दा बढी लागत बेहोर्नुपर्ने आयोजना छन् भने त्यस्ता आयोजनालाई कार्यान्वयन नगर्न वा तत्काल बन्द गर्न निर्देश गर्छ। सामाजिक लाभ लागत विश्लेषण आयोजनाको सामाजिक लागत तथा फाइदासँग सम्बन्धित छ। यी फाइदा तथा लागतहरू मौद्रिक लागत र फाइदाहरू भिन्न छन्। बौद्धिक लागत तथा फाइदाले सामाजिक लाभ लागतलाई समेट्न सकेको पाइँदैन। त्यसैले सामाजिक लागत लाभ विश्लेषणको औचित्य बढ्न गएको पाइन्छ।

आयोजनाको तर्जुमा गर्दा आयोजनाको लक्ष्यसम्बन्धी प्रमुख आधारशिलाहरू तयार पारिएका हुन्छन् र आयोजना व्यवस्थापकले साधारणतया यो आशा गरेको हुन्छ कि निजले ती लक्ष्यहरूलाई पूरा गर्न सक्छ । तर, यदि आयोजनाका आधारशिलाहरू अव्यावहारिक छन् र तिनीहरूलाई पूरा गर्न सकिँदैन भनी आयोजना व्यवस्थापकले ठान्छ भने आयोजना व्यवस्थापकले त्यसका विकल्पहरू विकसित गर्न सक्छ र यस सन्दर्भमा पूर्वनिर्धारित आयोजनाको लक्ष्यमा परिवर्तन पनि ल्याउन सक्छ।

यस्तो स्थितिमा योजनाको विकल्पको छनोटको सम्बन्धमा उच्चस्तरीय व्यवस्थापक पनि योजनाको तर्जुमासम्बन्धी कार्यमा संलग्न हुन्छ। तर, यदि पूर्वनिर्धारित लक्ष्य व्यावहारिक र समयमा पूरा गर्न सकिने खालको छ भने आयोजना व्यवस्थापक स्वयंले परियोजनाको योजना तयार पार्ने कार्य गर्छ। परियोजनाको योजना तर्जुमा गर्दा विभिन्न विकल्पहरूमध्ये सर्वोत्तम विकल्पको छनोट गर्नुपर्ने हुनाले परियोजनाको योजना तर्जुमा गर्ने कार्य एक निर्णय लिने प्रकृतिको कार्य हो । परियोजनाको उचित योजनाको तर्जुमा गरिएमा परियोजना सफल हुन्छ अर्थात् निर्धारित समयमा निर्धारित स्रोत र साधनको प्रयोगद्वारा सम्पन्न हुन्छ।

आयोजना प्रतिपादन गर्दा वित्तीय विश्लेषण पनि गर्नुपर्छ । वित्तीय विश्लेषणमा वित्तीय स्रोतहरू, वित्तको प्रभावकारी सदुपयोग र प्रतिफलको विश्लेषण गरिन्छ। आयोजना सञ्चालनबाट वित्तीय रूपमा सन्तुष्टि प्राप्त हुन्छ या हँुदैन भनी हेर्नु पनि वित्तीय विश्लेषणको उद्देश्य हो। वित्तीय विश्लेषणबाट वित्तीय स्रोतहरू पहिचान गर्नुका अतिरिक्त आयोजना लागत, उत्पादन तथा बिक्रीको अनुमान, उत्पादन लागत, मुनाफा अनुमान, नगद प्रवाह आदिका बारेमा पनि जानकारी पाउन सकिन्छ ।

वित्तीय विश्लेषण कसरी गर्ने र यसभित्र कुनकुन तत्वको विश्लेषण गर्नुपर्छ भन्ने कुरा आयोजनाको प्रकृतिमा भरपर्छ । आयोजनाको प्रकृतिअनुसार वित्तीय विश्लेषण ढाँचा फरकफरक गर्न सकिन्छ। वित्तीय विश्लेषण गर्दा आयोजना लागतका बारेमा अध्ययन गर्नुपर्छ। जग्गा खरिद, क्षेत्र विकास, भवन निर्माण, मेसिनरी खरिद, प्रारम्भिक खर्चहरू आयोजना लागतभित्र पर्छन् । यस्ता खर्चहरू आयोजनाका पुँजीगत खर्चहरू हुन् । यस्ता खर्चहरूको सूक्ष्म अध्ययन तथा विश्लेषणबिना वित्तीय विश्लेषण गर्नु सम्भव हुँदैन । वित्तका विभिन्न स्रोतहरू हुन्छन् ।

आयोजनाका लागि सबै स्रोतहरू समान रूपले उपयोगी हुँदैनन् । त्यसैले वित्तीय विश्लेषण गर्दा वित्तको विविध स्रोतहरूका बारेमा अध्ययन तथा विश्लेषण गर्नुपर्छ । उत्पादन र बिक्रीको सही अनुमानबाट वित्तीय व्यवस्था प्रभावकारी हुन जान्छ । कति उत्पादन गर्ने, त्यसका लागि कति लागत लाग्छ, कति बिक्री गर्ने बिक्रीबाट कति आम्दानी हुन्छ भन्ने कुराको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्नुपर्छ । वित्तीय विश्लेषण गर्दा अध्ययन गर्नुपर्ने अर्को महत्वपूर्ण तत्व उत्पादन लागत हो । वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने खर्चलाई उत्पादन लागत भनिन्छ । यसभित्र फ्याक्ट्री खर्च, प्रशासनिक खर्च र बिक्री वितरण खर्चहरू पर्छन् । उत्पादन लागत कम गर्न सकिने उपायहरूको पनि खोजी गर्नुपर्छ ।

उत्पादनको कुन अवस्थामा आयोजनालाई घाटा हुन्छ, कुन अवस्थामा लाभ पनि हुँदैन र हानि पनि हुँदैन र कुन अवस्थामा मुनाफा हुन्छ भन्ने कुराको विश्लेषण गर्न ‘बीइएपी–एनालाइसिस’ गरिन्छ। यसलाई वित्तीय विश्लेषणको ज्यादै महत्वपूर्ण औजार मानिन्छ । वित्तीय विश्लेषणलाई प्रभावकारी बनाउन मुनाफा पनि अनुमान गर्नु अनिवार्य हुन्छ। बिक्री आम्दानी र उत्पादन लागतलाई विश्लेषण गरेर मुनाफा अनुमान गरिन्छ। वासलातले आयोजनाको वित्तीय स्थितिलाई चित्रण गर्छ । त्यसैले वित्तीय विश्लेषण गर्दा अनिवार्य रूपले वासलात तयार पार्नुपर्छ । निष्कर्षमा आयोजना प्रतिपादन गर्न अनिवार्य रूपले वित्तीय विश्लेषण गर्नुपर्छ।

यसबाट आयोजना सञ्चालन गर्न वित्तीय रूपले उपयुक्त हुन्छ या हुँदैन भन्ने निर्णय गर्न सजिलो हुन्छ। आयोजना सञ्चालन गर्न वित्तीय रूपले उपयुक्त भएमा मात्र सञ्चालन गर्नुपर्छ। आयोजनालाई लागत लाभसँग तुलनात्मक अध्ययन गरेर सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्नका लागि लागत लाभ विश्लेषण गरिन्छ। यहाँ लाभलाई निरपेक्ष वित्तीय रूपमा मात्र नहेरी सामाजिक लाभलाई पनि अध्ययन तथा विश्लेषण गरिन्छ । यसको अर्थ आयोजना सञ्चालनबाट वित्तीय लाभ मात्र प्राप्त नभई सामाजिक लाभ पनि प्राप्त हुनुपर्छ भन्ने हो । आयोजना सञ्चालन गर्नका लागि वित्तीय तथा सामाजिक लाभ अनिवार्य रूपले हुनुपर्छ।

सम्भाव्यता विश्लेषण गर्दा सर्वप्रथम प्राविधिक पक्षको विश्लेषण गर्नुपर्छ । प्राविधिक रूपले उपयुक्त भएमा मात्र आयोजना कार्यान्वयन गर्न सकिन्छ र सफलता पाउन सकिन्छ अन्यथा जतिसुकै प्रतिबद्धता भए तापनि सफलता हात पार्न सकिँदैन। आयोजनाको सफलतामा प्राविधिक विश्लेषणको महत्वपूर्ण भुमिका रहन्छ । त्यसैले यसअन्तर्गत पर्ने उपर्युक्त तत्वहरूका बारेमा अध्ययन तथा विश्लेषण गर्नुपर्छ। उपयुक्त उत्पादन प्रविधि रोज्न सक्नुपर्छ र त्यसैअनुरूप उपयुक्त हुने मेसिनरी तथा औजारका पर्याप्तता छ या छैन ? विदेशबाट आयात गर्न सकिन्छ कि सकिँदैन ? आदि कुराहरूमा विचार पुर्‍याउनुपर्छ।

त्यसैगरी आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति स्वदेशी श्रम बजारमा प्राप्त हुन्छ या हुँदैन ? विदेशबाट झिकाउनुपरेमा त्यस सम्बन्धमा सरकारी नीति के कस्ता छन् ? आदिका बारेमा विस्तृत विश्लेषण गर्नुपर्छ। सम्भाव्यता विश्लेषणको अर्को महत्वपूर्ण पक्ष आर्थिक विश्लेषण हो। यसअन्तर्गत मुख्य गरी मुनाफा विश्लेषण गरिन्छ। आयोजनामा गरिएको लगानीबाट प्रतिफल पाउनुपर्छ । ‘कर्म गर, फलको आशा नगर’ भन्ने कथन यहाँ लागू हुँदैन। चाहे सार्वजनिक आयोजना हुन् चाहे निजी आयोजना हुन्, सबै आयोजनाहरू मुनाफामूलक हुन्छन् ।

सार्वजनिक आयोजनाले सामाजिक मुनाफाको अपेक्षा राखेको हुन्छ भने निजी आयोजनाले ब्यापारिक मुनाफाको अपेक्षा राखेको हुन्छ। त्यसैले मुनाफा प्रष्ट देखिने भएमा मात्र आयोजना कार्यान्वयन गर्नुपर्छ। प्रशासनिक विश्लेषण, सम्भाव्यता विश्लेषण अर्को महत्वपूर्ण पक्ष हो । प्रशासन व्यवस्थापन आयोजनाको मस्तिष्क हो। प्रभावकारी प्रशासनको अभावमा कुनै पनि शर्तमा आयोजना अगाडि बढ्न सक्दैन। प्रशासनिक विश्लेषणअन्तर्गत सङ्गठन संरचना, कर्मचारी, आन्तरिक तथा बाह्य सञ्चार, योजना कार्यान्वयन उपर्युक्त तत्वहरूलाई राम्रोसँग विश्लेषण गरेर परिणाम सकारात्मक भएमा मात्र आयोजना कार्यान्वयन गर्नुपर्छ ।

प्रशासनिक विश्लेषण गर्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा प्रशासनिक क्षमता हो। व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिपादन भएका व्यवस्थापनका सिद्धान्तहरू ब्यवहारमा उतार्न सक्नु सबैभन्दा ठूलो सफलता हो। आयोजना सञ्चालन गर्न आयोजनाको लागि प्राकृतिक वातावरण उपयुक्त हुनुको अतिरिक्त आयोजना पनि वातावरण अनुकूल हुनुपर्छ। त्यसैले सम्भाव्यता विश्लेषण गर्ने क्रममा प्राकृतिक वातावरण विश्लेषण गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्