विराटनगरमा ‘सन्तापको धून’ परिसंवाद सम्पन्न



काठमाडौँ । कथाकार डा.अशोक थापाको कथाकृति ‘सन्तापको धून’ माथि विराटनगरमा परिसंवाद सम्पन्न भएको छ। पूर्वाञ्चल साहित्य परिषद्, विराटनगरद्वारा नेपाल पत्रकार महासंघको सभाभवन, कलेज रोडमा आयोजित उक्त कार्यक्रममा विरष्ठ साहित्यकार तथा परिषद्का उपाध्यक्ष भूषण ढुङ्गेल सभापतिको रूपमा उपस्थित थिए भने समालोचक तथा सर्जक दधिराज सुवेदी प्रमुख अतिथि थिए।

कृतिमाथि बोल्दै समीक्षक शुभलक्ष्मी लम्सालले अशोकका कथा उज्यालोका कथा भएको टिप्पणी गरिन्। पोखरा आसपासको स्थानीय रङ, लवज र भाषाको लेपनले नवीन बान्की बोकेका अशोकका कथामा आजको समयका समस्या आख्यानीकृत भएको उनले टिप्पणी गरिन्। अर्का समीक्षक महेश पौड्यालले अशोकका कथाभित्र भेटिने विसङ्गतिको चित्रण उज्यालोकै लागि भएको बताए ।

सर्जक थापाले कथामा आफूले देखेको तथा भोगेको यथार्थको चित्रण गर्ने प्रयास गरेको बताए। प्रमुख अतिथि दधिराज सुवेदीले कथासाहित्यमा विविध रसका सुन्दर कथा आउनु ज्यादै खुसीको विषय भएको बताए । सभापति ढुङ्गेलले लेखकलाई सफलताको निम्ति शुभकामना दिए ।

कवि मीनकुमार नवोदितद्वारा संयोजन गरिएको उक्त कार्यक्रममा विराटनगर र आसपासका धेरै स्रष्टाहरूको उपस्थिति थियो। पुस्तकलाई पेज टर्नर प्रालिले बजारमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्