चितवनमा गैंडा मारिनु निकुञ्जको लापरबाही



काठमाडौँ। शुक्रबार दिउँसो राष्ट्रिय निकुञ्जको नारायणी नदीको भंगालोमा २ वटा गैंडा मारिनुको कारण चितवन राष्ट्रिय निकुञ्जको लापरबाही भएको संरक्षणकर्मीहरुले बताएका छन् ।

घटनास्थलको झण्डै ३५० मिटर पर नेपाली सेनाको सुरक्षा पोस्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को सहरी पोष्ट छ । निकुञ्जको सुरक्षा नेपाली सेनाको खड्क दलले गर्दै आएको छ । सेनाको पोस्ट नजिकै खुला ठाउँमा गैंडालाई हृदय विदारक ढंगले मार्नुमा निकुञ्ज प्रशासनको उदासिनता प्रमुख कारण रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको ४ बर्षको केटो गैंडा पनि मारिएको थियो ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुर र सेरी गाउँको नजिकै नारायणीको सानो भंगालोको छिपछिपे पानीमा गैंडा मारिएका थिए। घटनाको प्रकृति हेर्दा गैंडा ठाउँको ठाउँ मारेर खाग काटिएको देखिन्थ्यो।

झण्डै १५–२० मिटरको जीआई तारमा हाई भोल्टको करेन्ट छाडेर गैंडा मारेको संरक्षणकर्मी बताउँछन्। तर, अचम्मको कुरा के छ भने, घटनास्थल वरपर विद्युतका कुनै पनि पोल र तार छैनन्। तर तस्करहरूले विल्कुलै नयाँ प्रविधि अपनाएर गैंडा मारेको देखिएको संरक्षणकर्मीहरु बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९–८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन्। तीमध्ये ७ वटा प्राकृतिक कारणले र ३ वटा गैंडा चोरी शिकारीले मारेका हुन्। निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले खुला र सहज ठाउँमा गैंडा मारेर खाग काटेर लैजानुले व्यवस्थापकीय कमजोरी भएको देखिने बताए।

‘यो कुनै अनकान्टार जंगलमा भएको घटना होइन, यसमा पक्कै पनि केही हाम्रा कमी कमजोरी छन्’ उपमहानिर्देशक कार्कीले भने, ‘सेना र निकुञ्ज प्रशासनकाबीचमा केही न केही समन्वयमा कमी भएको हुनसक्छ, त्यस बारेमा बुझ्छौं ।’

निकुञ्जमा सेनाले एसआरपी, एलआरपी, एमआरपी जस्ता विभिन्न नामका गस्तीहरु गर्ने गरेको छ। त्यसको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई हुने र उनले जीपीएस ‘ट्रयाक’ गरेर हेर्ने पनि गर्छन्। तर, पछिल्लो समयमा सेना र निकुञ्जबीच समन्वय नभएको निकुञ्ज स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्