विकृत गठबन्धन



काठमाडौं । तत्कालनीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गर्दै ताजा जनादेशमा जाने निर्णय गरेपछि सेलाइसकेको दलीय गठबन्धन संस्कृतिको गाँठो कसिलो बन्यो। यो गाँठो आमचुनाव हुँदै सरकार गठनसम्म आइपुग्दा वर–पर सरिरह्यो । अर्थात् गठबन्धनका दलमा हेराफेरी भइरह्यो । संसद् र संविधान जोगाउने भन्दै कांग्रेस नेतृत्वमा गठबन्धन बन्यो।

यो चुनावसम्म गयो तर चुनावपछि भताभुङ्ग भयो। अहिले एमाले नेतृत्वमा त्यही भताभुङ्ग गठबन्धनलाई जोडजाड पारिएको छ। र, क्रमशः दरारतर्फ छ यो गठबन्धन । कारण– दुवैको उद्देश्य राष्ट्रहितमा थिएन र छैन। राजनीतिक दलहरू निश्चित दर्शन, आदर्श र विचारबाट परिचालित हुन्छन् ।

राजनीति उद्देश्य पूरा गर्न र जनताका आवश्यकता पूरा गर्न दलहरूले निर्णायक भूमिका खेल्ने हो हाम्रो जस्तो देशमा।यसका लागि दलहरूले जनताको मन जितेर सत्तामा पुग्ने हो। तर, पछिल्ला वर्ष दलहरूमा जनताको विश्वास जित्नेभन्दा एकभन्दा बढी दल मिलेर सत्ताको स्वाद लिने होडबाजी मात्र छ।

कांग्रेस नेतृत्वको पूर्वगठबन्धन होस् या एमाले नेतृत्वको वर्तमान गठबन्धन, दुवैको उद्देश्य र गन्तव्य सत्ताको स्वादमा रमाइरहने मात्र छ । गठबन्धन निर्माण गर्दा निश्चित उद्देश्य पूरा गर्ने अठोट हुन्छ । तर, यी दुवै गठबन्धनले कागजी उद्देश्य बनाएर आँखा सधँै सत्तामा मात्र राखिराखे । फलस्वरूप जनजीविकाका धेरै सवाल सधैँ काँचै पल्टिरहेका छन् । सत्ता र शक्तिमा पुग्न गठबन्धन गरेका दलहरू यो प्राप्ति नहुनेबित्तिकै गठबन्धन छाड्न धम्की दिन्छन् । सरकार निर्माणका बेला राष्ट्रिय स्वतन्त्र पार्टी र अहिले नागरिक उन्मुक्ति र जनता समाजवादी पार्टीको घुर्की पनि यसैको कडी हो ।

सरकारको साझा कार्यक्रमअनुसार अघि बढ्दै जान सकेको भए यो बेला योजना बनिसक्ने र परिणाम देखिन थाल्ने बेला हो। तर, सत्ता केन्द्रित गठबन्धनका कारण नेतृत्व एक्लो बन्ने गठबन्धन निर्माणमा भूमिका खेल्ने हावी हुने र कुर्सीको मालमोलाइ मात्र भइरहने अवस्था देखिइरहेको छ । यो दुर्भाग्य हो । आगामी यात्रा पनि यसैगरी अघि बढ्ने हो भने राजनीतिक दलहरू आफ्नो एजेन्डा स्थापित नै गर्न नसक्ने बिन्दुमा त पुग्नेछन् नै, विचार र सिद्धान्त नै नमिल्ने दलहरूबीचको गठजोडले दल र तिनका नेता तुलनात्मक रूपमा बलिया दलको कठपुतली मात्र बन्ने छन्।

यो अवस्थाको अन्त्य गरी देशलाई समुन्नत बनाउने हो भने सत्ता प्राप्तिका लागि हुने दलीय गठबन्धन संस्कारको अन्त्य हुनुपर्छ । जनमतअनुसारको जिममेवारी लिएर अघि बढ्न् प्रण दलहरूले गर्नुपर्छ । यतिबेला प्रतिगमन सच्याउने, संविधान बचाउनेजस्ता नारा फिका भइसकेका छन्।

अब दलहरू मिल्ने एउटै मात्र एजेन्डा समृद्धि हो, जसमा कुनै दलको बिमति छैन भने केवल सत्ताका लागि मिल्ने संस्कृति अन्त्य गरेर प्रतिस्पर्धात्मक राजनीतिक संस्कारलाई पुर्नजिवन दिन दलहरू तयार हुनै पर्छ। विकृत गठबन्धनको पासोमा राखेर देशलाई थप अधोगतितिर लैजाने खेल बन्द हुनै पर्छ। दलहरूमा बेलैमा चेताना पलाओस्।

प्रतिक्रिया दिनुहोस्