ल्होसार एक, समय र समुदाय अनेक



  • पदम श्रेष्ठ

काठमाडौं । सोनाम ल्होसार तामाङलगायतका आदिवासीहरूको पहिचानरूपी नयाँ वर्ष हो। राजधानीको टुँडिखेलमा तामाङ घेदुङको अगुवाइमा विविध सांस्कृतिक कार्यक्रम, सभा, समारोहका साथ यो पर्व मनाइयो आइतबार। १५ पुसलाई वर्षको सर्वाधिक छोटो दिन र लामो रातलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाइसकेको र शेर्पाहरूको फाल्गुण प्रतिपदाको दिन ग्याल्बो ल्होसार तयारी भइरहेको पाइन्छ।

तमु ल्होसार संस्कृतियुक्त भए पनि तिथियुक्त नभएको र जन्म, मृत्यु, कर्मकाण्ड गणना गर्न नमिल्ने यस पर्वका अनुयायीहरूको कथन छ। राजा स्रङ्चङ्गम्पोको तिब्बतमा उदयसँगै उनले भाषा, लिपि, धर्म, संस्कृति विकासको अभियान थाल्दा नेपाल, भारत र तिब्बतका विद्वान् भेला गराई १ महिनासम्म जनस्तरबाट ठूलो हर्षोल्लासपूर्वक ल्होसार मनाएको हुँदा स्थान र जातीय पहिचानको आधारमा तमु, सोनाम र ग्याल्बो ल्होसारको नाउँमा वर्षको ३ पटक मनाउने परम्पराको थालनी हुन गएको तामाङ विज्ञ अजितमान तामाङको मत छ।

माघ शुक्ल प्रतिपदादेखि सुरु हुने सोनाम (जनता) ल्होसार तामाङ समुदायले मनाउँछन् भने १ महिनापछि राजाले समापन गरेको दिन फाल्गुण प्रतिपदालाई ग्याल्बो ल्होसार भनी शेर्पा समुदायले मनाउँछन्। तर, यी ३ वटै ल्होसारलाई एकीकृत रूपमा मनाउनुपर्ने भन्दै बर्सेनि आवाज उठ्छ । केही युवा समूहहरूले छलफल पनि चलाउँछन् । तर, बिना कुनै निर्णय वर्षको ३ पटक नै ल्होसार मनाउँदै आइरहेका छन् ।

विश्वमा सर्वाधिक प्रचलनमा रहेको तीव्बती पात्रोअनुसारको ग्याल्बो ल्होसारलाई नेपालमा पनि आधिकारिक मान्यता दिई मनाइनुपर्ने नेपाल तामाङ सेवा सङ्घ बौद्धका संस्थापक सूर्य लोप्चन बताउनुहुन्छ । ल्होसारको कथा एउटै महिना गिन्तीको आधार, नाउँ एउटै र गुम्बा शिक्षा परम्परादेखि थुपै कुरामा समानता रहे पनि ल्होसार मनाउने समय र समुदाय भने तमु तामाङ र शेर्पा छुट्टाछुट्टै भनी ल्होसार मनाइँदा ठूलो भ्रम सिर्जना हुन पुगेको लोप्चनको कथन छ।

कथनअनुसार शाक्यमुनि गौतम बुद्धभन्दा अगाडिको बुद्ध महापरिनिर्वाण हुन लाग्दा जुनजुन जनावर भगवान्को दर्शनमा पहिलो पटक पुगे, तिनै जनावरको नाउँमा वर्षको नाउँ राखिए । यसरी बुद्धको महापरिनिर्वाण हुनु केहीअघि संसारका सबै प्राणीलाई भेला गराई धर्मदेशना दिँदा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), योअी (खरायो), ड्रग (ड्रागन), डुल (सर्प), ता (घोडा), लुग (भेडा), टेप्रे (बाँदर), ज्या (डाँफे), खी (कुकुर), फागु (सुँगुर) क्रमशः भेला हुन पुगेका भनाइ छ।

२८ वर्षअघि महामञ्जुश्रीले तिथि गणना ज्योतिषशास्त्रअनुरूप व्यवस्थापन गरी थालिएको हुँदा माघ प्रतिपदाका दिन मनाइने नयाँ वर्षलाई सोनाम अर्थात् जनताको ल्होसार र राजा स्रङ्गचङ्गम्पोले थालेको सुधार कार्यसँगै मनाउन थालिएको फाल्गुण पतिपदाको ल्होसारलाई ग्याल्बो अर्थात् राजा ल्होसार भन्दै मनाउन थालिएको भनाइ छ। ल्होसार नेपाल, चीन, तिब्बत, भारतको लद्दाख, मङ्गोलिया, जापान, कोरिया, हङ्कङ्, भियतनाम, लाओस्, थाइल्यान्ड, ताइबान, मलेसिया, सिंगापुर आदि देशमा मनाइन्छ।

नेपालका तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, मनाङे, डोल्पाली, तोप्केगोला, सिङ्सा, ताङ्वे, थकाली, खाममगर, दुरा, भोटे, नेस्याङ्लगायतले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन्। मञ्जुश्री ज्योतिष पात्रोअनुसार पनि जन्म, मृत्यु, कर्मकाण्ड सबै १ माघदेखि मान्यता दिए पनि फागुन परेवा तिथिअनुरूप तिथि फेरिने हुँदा विश्वका अन्य देशले जस्तै ल्होसार ऐक्यबद्धता आवश्यक रहेको बताइएको हो। वर्ष दिनभित्र नसकिएका काम पूरा गर्न, अप्रिय घटना नदोहोरिऊन् भनी कर्मकाण्ड गर्ने, गाउँ–टोल, बाटोघाटो, आँगन, चौतारा, पानी–पँधेरो, गोठ आदि सफा, मर्मत गर्ने गर्छन् । खेतीपाती राम्रो होस् भनी प्रार्थना गर्नका लागि बिउ–बीजन पानीमा भिजाइ जमरा राख्ने परम्परा छ।

पुरानो वर्षको अन्तिम दिन गुम्बामा दीपावली उत्सवमा सहभागी हुन्छन् । लामा गुरुबाट मारमाथि विजय प्राप्तिका लागि मुकुण्डो नृत्य, टुसा आएको जमरा राखी गुम्बामा बुद्धलाई चढाउने, सबै परिवार एकै ठाउँमा भेला भई भोज खाने गर्छन् भने ल्होसार मनाउनेहरू वर्षको अन्तिम रात ११ बजे नराम्रा कामका प्रतीक ल्होकोर च्युङ्बी बनाएर मन्छाउने गर्छन्।

नयाँ वर्षको दिन घरमूली जेठोबाठोले बिहान सबेरै नुहाएर घरमा भएको लाखाङ (छ्योअीखाङ) बुद्धको कुथाङका चोखो पानीले पूजा गर्छन् । सो पूजामा फलफूल, कन्दमूल उसिनेको आलु, भ्याकुर, तरुल, खाप्से गेङ बाबर गेड्ढ (एक प्रकारको रोटी) आदि पक्वान्न राखी साङसेरग्याम भगवान् र पुर्खालाई धन्यवाद चढाउँछन्।

यसै उपलक्ष्यमा घर–आँगन, गुम्बामा नयाँ लुङदर दाज्र्यु (मन्त्र लेखिएको झल्लर) उठाउने र मान्यजनबाट नौनी घीउ (कोकोम्हेन्दो)को टीका, खादा (सेतो कपडाको माला)सहित आशीर्वाद लिने गर्छन् । यो क्रम प्रतिपदादेखि वसन्त पञ्चमीसम्म र अन्य समुदायले ६ फागुनसम्म कायम राख्छन्। यसै क्रममा भूमि पूजा मङ्गल पूजा, प्रीतिभोज, वनभोज तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने गर्छन्।

ल्होसार खगोलशास्त्रअनुसार १२ वटा जीवनजन्तुको नाउँमा तिनलाई प्रभाव पार्ने ५ भौतिक तत्व (आगो, पानी, हावा, पृथ्वी र आकाश)का आधारमा सिर्जना भएको ६० वर्षे चन्द्रपात्रो चक्र पूरा हुने बताइन्छ।
४ हजार ७०० वर्ष अगाडि सुरु भएको मानिने ल्होसार अधिक महिना परेका बेला नेपाल सम्वत् जस्तै १३ महिनाको हुने गर्छ । औँसीको भोलिपल्ट परेवादेखि पूर्णिमासम्म शुक्लपक्ष र पूर्णिमादेखि औँसीसम्म कृष्णपक्ष गरी २ भागमा विभाजन गरिएको ल्होसारमा १ चन्द्र महिना २९ दशमलव ५ दिनको हुन्छ भने १ चन्द्र वर्ष ३५४ दिनको हुने गर्छ ।

प्रत्येक ३ वर्षको १ पटक १३ महिनाको अधिकमास चन्द्र वर्ष हुने गर्छ। चिनियाँ पौराणिक सङ्केतअनुसार ल्होसारलाई मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, पक्षी, कुकुर, बँदेललाई ल्हो वर्ष परिवर्तनको प्रतीक मान्ने गरिन्छ। जन्मदा जुन तत्वको पभाव लिएर आएको हुन्छ, उसको जीवनभर त्यस्तै जीवन निर्धारण हुने गर्छ भन्ने मान्यता रहन्छ।

चन्द्र वर्ष ल्होसारलाई जीवजन्तुको नाउँमा गणना गर्नुको कारणबारे बौद्धशास्त्रमा आदिबुद्ध महापरिनिर्वाण हुन लाग्दा सबै प्राणीलाई उपस्थितिका लागि बोलाइएकोे र जुन प्राणी सर्वप्रथम बुद्ध सामु पुग्यो, उसैको नाउँबाट ल्हो गणना गर्ने परम्परा बसेको विश्वास यस समुदायमा पाइन्छ। अर्को आख्यानअनुसार जडान राज्यका बादशाहले संसारका सबै प्रणीलाई नदी पार गराउने प्रतियोगिता गराउँदा गोरुको कानमा बसेर मुसाले नदी पार गरी प्रथम भएको हुँदा मुसा वर्षलाई पहिलो गरिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्