दमकमा “सन्तापको धून” माथि विमर्श सम्पन्न



काठमाडौं । डा. अशोक थापाको कथाकृति “सन्तापको धून” माथि झापाकाे दमकमा विमर्श तथा परिसंवाद सम्पन्न भएको छ। डाइनामिक पब्लिक लाइब्रेरीद्वारा आफ्नै भवनमा आयाेजित उक्त कार्यक्रमको अध्यक्षता लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले गरेका थिए।

कृतिमाथि समीक्षा गर्दै समीक्षक दीपक सुवेदीले डा. अशाेकका कथा भाषिक तथा वैचारिक क्लिष्टताबाट मुक्त, सरस, सरस र मनमाेहक रहेकाे बताए। “हात्तीछाप चप्पल” जस्ता उच्चस्तरीय कथाकाे उपस्थितिका कारण उक्त सङ्ग्रह सबै पठकका लागि उत्तिकै ग्राह्य र पठनीय हुने उनले बताए । कथा लेख्न चाहनेहरूका लागि अशाेकका कथा नमुना हुने उनले दाबी गरे।

अर्का वक्त समालाेचक महेश पाैड्यालले कृत्रिम र अनावश्यक प्रयाेगकाे बाेझबाट मुक्त डा. अशाेकका कथा नेपाली जमिनमा टेकेर उभिएकाे टिप्पणी गरे । कथाकार थापाले आफूले सिर्जनाका लागि ठूल्ठूला विषय साेचेर वर्षाैं खेर फालेकाे तर कथा ससाना विषयकाे अन्तर्यमा भेटिने गरेकाे बाेध भएकाे बताए । विश्वविद्यालय ज्ञानकाे केन्द्र हुँदाहुँदै सिर्जनाकाे पनि केन्द्र हुनुपर्ने कुरा स्वीकार गर्दै आफूले शिक्षणकार्य सँगसँगै सिर्जनाकर्ममा पनि हात हालेकाे बताए ।

गजलकार लाेकेन्द्र बन्जाराले युवा सर्जकहरूकाे साहित्यप्रवेशले पाठकहरूमा नयाँ उत्साहकाे सञ्चार गरेकाे बताए भने लाइब्रेरीका प्रमुख तथा यस कार्यक्रमका सभापति भेषराज न्याैपानेले आफ्नाे नेतृत्वमा रहकाे पुस्तकालय साहित्य र पठन संकृतिकाे प्रवर्धनमा लागि सदैव तत्पर रहेकाे बताए।

कार्यक्रममा उपन्यासकार तथा समाजसेवी दुर्गा काफ्लेले न्यून आयस्राेत भएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने लाइब्रेरीकाे अभियानमा सहयाेगस्वरूप एक लाख रपियाँ आर्थिक सहयाेग हस्तान्तरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्