स्वास्थ्य चौकीमै छैन सिटामोल



जाजरकोट । जुनिचाँदे गाउँपालिकामा ५ महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो ।

२० लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ ५ महिनादेखि औषधि अभाव भएको छ।

२ पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताएका छन् । “औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,” उनले भने ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपाली, दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउछन् । उनले भने, “स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।”

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे-४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गर्छन् । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बनेका खड्काले भने, “उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन् ।” चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । ५ वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रलाई ५ वर्षपहिला राष्ट्रिय बीमा संस्थानले १६ लाखको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताएका छन् ।

“विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,” उनले भने । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए । स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्