मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीका प्रतिनिधि कविता सिलिगुडीमा विमोचित



सिलिगुडी । चर्चित कवि मनप्रसाद सुब्बा तथा राजेन्द्र भण्डारीका प्रतिनिधि कविताका छुट्टाछुट्टै सङ्ग्रह भारतको सिलिगुडीमा विमोचित ‍भएका छन् । नयाँ दार्जिलिङ मोड, सिलिगुडीस्थित दुर्गा जनकल्याण सङ्गठनको सभाभवनमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि मोहन ठकुरी तथा अन्य अतिथिहरूले उक्त कृतिहरूको लोकार्पण गरेका हुन् । महेश पौड्यालले सम्पादन गरेका यी कृतिलाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।

कार्यक्रममा बोल्दै पेज टर्नर प्रालिका व्यवस्थापक जयराम तिमल्सिनाले आफू नेपाल र भारतबीच साहित्यिक कृतिको सहज आदानप्रदानका लागि काम गर्न इच्छुक रहेको बताए । सम्पादक महेश पौड्यालले कविद्वयका सिर्जनालाई भारत र नेपालका अतिरिक्त विश्वभरिनै पुर्याउने आफ्नो चाहनाअनुरूप यी कृतिको सम्पादन गरेको बताए ।

विशिष्ट अतिथि प्राध्यापक डाक्टर घनश्याम नेपालले सम्पादक पौड्याललाई अत्यावश्यक कार्य गरेकोमा बधाई दिए र कविद्वयको काव्यिक योगदानको चर्चा गरे । कवि मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीले आफ्ना प्रतिनिधि कविताको यस रूपको प्रकाशनले आफूहरू हर्षित भएको बचाए । प्रमुख अतिथि मोहन ठकुरीले नेपाल र भारतका सर्जक र प्रकाशकबीच यस प्रकारको सहकार्यले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिए ।

सर्जक लतिका जोशीले कविद्वयका सिर्जना वाचन गर्नुका साथै सभामा कविद्वय र सम्पादक पौड्यालको परिचय गराएकी थिइन् । साहित्यकार खेम सापकोटाले आफू पनि यस प्रकारको साहित्यक सहकार्यका लागि तत्पर र उत्साहित रहेको जनाए ।

कार्यक्रममा सिक्किम, कालेबुङ, सिलिगुडी, दार्जिलिङ, डुवर्स, असम, मणिपुर र नेपालका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्