कांग्रेसको किंकर्तव्यविमूढता



  • ललितकुमार यादव

काठमाडौं । नेपाली राजनीतिले सही बाटो लिन नसकेको आमगुनासो छ । नेपाली राजनीतिमा रूपान्तरणको खाँचो महसुस गरिएको छ । नेपाली राजनीतिमा रूपान्तरणको बहस लामो समयदेखि चल्दै आएको छ । तर, राजनीतिमा पुस्तान्तरण नभई रूपान्तरण कुनै हालतमा सम्भव देखिँदैन । पुस्तान्तरणको बहसबाट युवा नेताहरू उत्साहित छन् भने बूढापाका नेताहरू निरुत्साहित छन् । पुस्तान्तरणले युवाहरूले आफूहरू स्थापित हुने देखेका छन् भने बूढापाका नेताहरूमा विस्थापित हुने त्रास छ । नेपाली राजनीतिमा पुस्तान्तरणपछिको रूपान्तरणको बहस यहीँ आएर अड्किएको छ ।

यस पटकको निर्वाचनमा जनताले ठूला दलहरूप्रति आफ्नो असन्तुष्टि व्यक्त गरे । नयाँ दलप्रति आस देखाए । दलहरूलाई जनताले उनीहरूको वास्तविक धरातल देखाइदिएर सुध्रिन जबर्जस्त सन्देश दिए । तर, दलहरू अझै पनि सुध्रिन तयार भएका देखिँदैन । सत्ताका लागि जे पनि गर्न तयार हुने दलहरूले आफ्ना पुराना प्रवृत्ति त्याग्न खोजेका छैनन् । सत्तामा जान वा टिकिरहन विगतमा दलहरूले जे जस्तो हथकण्डा अपनाए, फेरि सत्तामा जान त्यही हथकण्डा अपनाउने सङ्केत गरेका छन् ।

केही दिन अगाडि सत्तामा अप्रत्याशित उलटफेर भयो । सत्तामा भएको यही उलटफेरका कारण सत्तामा रहने अनुमान गरिएको नेपाली कांग्रेस प्रतिपक्षमा पुग्यो भने प्रतिपक्षमा रहने अनुमान गरिएको नेकपा एमाले सत्तामा पुग्यो । बहुमत नजिक रहेको वाम–लोकतान्त्रिक गठबन्धन भत्कियो भने एमालेसहितको वाम-उदीयमान शक्तिको नयाँ गठबन्धन बन्यो ।
उक्त आमनिर्वाचनबाट निकै मतान्तरसहित तेस्रो पार्टीको हैसियत पाएको हो नेकपा (माओवादी केन्द्र)ले । तेस्रो पार्टी भए पनि त्रिशङ्कु संसद् रहेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री खोजे । नपाएपछि पुरानो गठबन्धन छाडे । नयाँ गठबन्धनमा गएर प्रधानमन्त्री बने ।

विगतमा एमालेलाई सत्ताबाट प्रतिपक्षमा र कांग्रेसलाई प्रतिपक्षबाट सत्तामा पु¥याउने पनि दाहाल नै हुन् । सत्ता स्वार्थकै कारण नेपालको सत्ता उलटफेर हुँदै आएको छ । २०६२/०६३ सालको जनआन्दोलनपश्चात राजनीतिक दल र नेतृत्व आर्थिक प्रगतिमा केन्द्रित हुने आसमा नेपाली नागरिक थिए । नेपाली नागरिकको नयाँ नेपालको सपना पूरा हुने विश्वास नेपाली नागरिकले गरेका थिए । तर, राजनीतिक दल र नेतृत्वको चाल र चरित्र सुध्रिएको छैन । नेपाली राजनीतिमा फेरि सत्ताका विकृत खेलहरू सुरु भए, जुन खेलको क्रम अहिले पनि जारी नै छ ।

२०४७ सालदेखिको डेढ दशकसम्म राजनीतिक दलहरूले सरकार र संसद् दुवैलाई अस्थिर बनाए र बनाउन खोजे । २०६२÷०६३ पछि पनि दलहरूले त्यसलाई निरन्तरता दिएका छन् । अहिलेको निर्वाचनबाट आमनागरिकले परिवर्तन खोजे । नेतृत्वमा नयाँ अनुहार खोजे । जनताले नयाँ सोच, पारदर्शिता, गतिशीलता, सुशासन र सुसंस्कृत राजनीतिक संस्कार खोजेका छन् । हरेक निर्वाचनपछि जनताले सकारात्मक परिवर्तन खोजेका हुन्छन् । जनतालाई परिवर्तनको अभास गराउन सक्नु दलहरूको दायित्व पनि हो ।

गत १० पुसमा प्रधानमन्त्री बनेका दाहालले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिए । प्रतिपक्षमा बसेको कांग्रेसको समेत मत पाउन सफल प्रचण्डले संसद्मा प्रचण्ड बहुमत प्राप्त गरे । नेपाल मजदुर किसान पार्टी र जनमोर्चाबाहेक कोही प्रतिपक्षमा बस्न तयार भएन, सबैलाई सत्ता नै चाहिएको रहेछ । कांग्रेस आफूलाई प्रतिपक्षको लेप लगाए पनि सत्ताको सम्भावित खेल खेल्न सत्तापक्ष बने ।

सत्ताको आ-आफ्नै दाउमा रहेका कारण कांग्रेस गठबन्धन व्यवस्थापनमा चुके । गठबन्धन भत्कियो । गठबन्धन जोगाउन असफल भए कांग्रेस सभापति देउवा । प्रधानमन्त्री हुन ठिक परेका देउवा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा पुगे । तर, प्रमुख प्रतिपक्षी दलको भूमिका देउवालाई स्वीकार्य थिएन र छैन । आफ्नै गल्तीका कारण सत्ता शक्तिको अभ्यासको अवसर गुमाएका देउवा केही समय चुप लागेर बसेका थिए । तर, सत्ता शक्तिको अभ्यामा फर्किने लालच त्याग्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समयमा देउवाले एकाएक बढाएको सक्रियता र कांग्रेस प्रतिपक्षमा बस्छ भनेर खुलेर भन्न नसक्दा देउवाले सत्तामा पुनरागमन खोजेका प्रष्ट देखियो । राष्ट्रिय सहमतिको सरकारको कुरा उठाएर रामचन्द्रले कांग्रेसको सत्ता लालचलाई थप उचाइ दिएका छन् ।

कांग्रेसका बूढापाका नेताहरू अलमलमा रहेका छन् । सत्ताको लालच पनि उनीहरूमै रहेको छ । कांग्रेसका बूढापाका नेताहरूले सत्ता लालसा त्याग्न नसकेकै कारण पछिल्लो केही समयदेखि कांग्रेस अलमलमा रहेको छ र आगामी दिनमा वर्तमान संसद् पनि अलमलिने सम्भवना देखिन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्ता समीकरणमा जाने भ¥याङ बनाउन खोजेका छन्, कांग्रेसका बूढापाका नेताहरूले ।

कांग्रेसको अलमलको निर्णयले देउवामा रहेको सत्ता लालसाबाहेक केही उजागर गर्न सकेको छैन । प्रधानमन्त्री दाहाललाई विश्वासको मतको प्रस्तावमाथि बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले दिन खोजेको विश्वासको मतमा गम्भीर आशङ्का व्यक्त गरेका थिए । उनले यस समर्थनभित्र सदाशयताभन्दा बढी सत्ता लालसा रहेको आशङ्का गर्दै भने, ‘जाल हो भने भन्न चाहन्छु– माछा नभएको नदीमा जाल फ्याँकेको छ । यसभित्र भोलिका निम्ति अरू खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्नेछैनन् ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा पनि लिने कांग्रेसको निर्णयलाई एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवाले ‘डेमोक्रेसी’को नयाँ भाष्य बनाएको टिप्पणी गरे । दाहालले कांग्रेसको विश्वासको मत लिन खोजेका भए पनि ओलीले कांग्रेसको विश्वासको मतमा अविश्वास देखे । ‘कांग्रेसले कार्पेटमा नपोखेर चिया कपमै दिएको छ । कांग्रेसले प्रचण्डलाई २ वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो, अहिले २ वर्षअघि दिँदा के नै बिग्रिन्छ र !’ आदि ओलीका भनाइले भविष्यमा हुने सत्ताको खेलको सङ्केत गरेको छ । कांग्रेसले विश्वासको मत दिनुका पछाडि सत्तामा आउन घुमाउरो बाटो रोजेको तथ्यलाई पुष्टि गरेको छ । संसद्मा दाहाल र ओलीबीच चलेको जुहारीले पनि विभिन्न आशङ्काहरू जन्माएको छ ।

कांग्रेसले दाहाललाई विश्वासको मत दिएर एमालेलाई तर्साउन खोजे र एमाले तर्सियो पनि । ओली र दाहालबीच शक्ति बाँडफाँटमा खटपट गराउन र त्यही खटपटमा टेकेर सत्तामा पुनरागमन खोज्न देउवाले चतुर चाल चले । चतुर चाल चल्नु आफ्नो सफलता मानेका शेरबहादुर देउवाले ५ दलीय गठबन्धनबाटै दाहाललाई प्रधानमन्त्री स्विकारेका भए । सत्ता समीकरणमा देउवा नै हाबी हुने थिए भन्ने कुरा बिर्सनुहुँदैन ।

जसरी सत्तामा भएकै बेला ओलीले बुद्धि पुर्‍याउन नसक्दा सत्ताबाट बाहिरिन बाध्य भएका थिए, अहिले सत्ता समीकरणमा आगमन गर्न दाहाललाई काँध थाप्नुपरेको छ । त्यसरी नै देउवाले पनि बेलामा बुद्धि पुर्‍याउन सकेका भए प्रतिपक्षको भूमिका प्राप्त गर्ने थिएन, न त सत्ताका लागि अहिले ¥याल चुहाउनुपर्ने नै थियो । देउवाले नचाहेका व्यक्ति कोही राज्य शक्तिको प्रयोग गर्ने पदमा पुग्न सक्ने अवस्थै हुने थिएन ।

सत्ता स्वार्थकै कारण कांग्रेसलाई आफ्नो भक्तहरूको मण्डली बनाएका देउवाले सत्ता स्वार्थकै कारण संसद्मा कांग्रेसको बेइज्जतसम्म गराए । देउवाले यतिसम्मको अक्षमता देखाउँदा पनि देउवालाई सक्षम देख्ने उनका भक्तहरूको आँखाभन्दा नियत दोषी छ । पहिलो कार्यकालमा कांग्रेसलाई नीतिगत स्पष्टता दिन नसकेका उनै देउवालाई दोस्रो कार्यकालका लागि सभापतिको जिम्मेवारी दिनु नै कांग्रेसीहरूले गरेको ठूलो गल्ती थियो ।

तर, विभिन्न पदको लोभमा कांग्रेसीहरूले देउवालाई सभापतिमा पुनः निर्वाचित गरेर उनमा सत्ता स्वार्थलाई झन हाबी गराइदिए र कांग्रेसलाई अन्योलको बाटो देखाइदिए । आज देउवाबाट आश्वासन पाएका तिनै कांग्रेसीहरूले देउवालाई सत्ताको विकृत खेलको खेलाडी बनाएका छन् र देउवा आफ्नो सारा जीवनमा कमाएको सकारात्मक पक्षलाई नकारात्मकमा परिणत गर्न तयार भएका छन् ।

कुनै पनि नेता वा नेतृत्वले समयमै सहज रूपमा आफ्नो जिम्मेवारी उपयुक्त एवं असल व्यक्तिलाई हस्तान्तरण गर्न सक्नु उसको ठूलो सफलता हो । यो सफलता प्राप्त गर्नेहरू सधैँ असल पात्रका रूपमा चिनिन्छन् । पूर्ण असफल नभएसम्म नेतृत्वमा टाँसिएर रहन खोज्नेहरूको पनि एक न एक दिन बहिर्गमन हुन्छ । तर, त्यस्तो बहिर्गमन सुखद हुँदैन । त्यस्ता पात्रलाई सदैव लोभ र लालचमा लिप्त व्यक्तिको रूपमा चिनिन्छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा पुस्तान्तरणको मुद्दा जबर्जस्त रूपमा उठेको थियो तर प्रमुख नेतृत्वमा पुस्तान्तरण हुन सकेन । पछिल्लो समयमा संसदीय दलको नेताको चयनमा पुस्तान्तरण हुन सक्थ्यो तर भएन । देउवाले कांग्रेसको नेतृत्व गर्न असफल रहेको २०७४ सालको निर्वाचनमा कांग्रेसले ल्याएको नतिजाले पुष्टि गरिसकेको थियो । तर, त्यसलाई ढाकछोप गर्न वाम गठबन्धनको सहारा लिइयो ।

२०७९ सालको निर्वाचनमा वाम शक्ति विभाजित हुँदा पनि सत्ता स्वार्थकै कारण एक्लै निर्वाचनमा जाने हिम्मतसमेत कांग्रेसले गर्न सकेन । गठबन्धनको बलमा आफ्नो सिट सङ्ख्या बढाए पनि कांग्रेसले सफलता हात पार्न सकेको मानिँदैन । ठूलो दल बने पनि कांग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन सकेन, न त नेपाली राजनीतिको केन्द्रमा आफूलाई उभ्याउन सकेको छ ।

यी सवै देउवा र कांग्रेसको असफलताबाहेक केही होइन । कांग्रेसलाई देउवाले सत्ता स्वार्थमै डुबाएका कारण कांग्रेसले कुनै किनारा भेटाउन सकेको छैन । कांग्रेसलाई किनारा दिन पुस्तान्तरणपछिको रूपान्तरण अत्यावश्यक छ । संसद्मा बोल्दै कांग्रेस सभापति देउवाले संसद्मा प्रतिपक्षको भूमिकाको लामो सैद्दान्तिक ब्याख्या गरे तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएर आफ्नो र कांग्रेसको अन्योलतालाई दर्शाए । देउवाले प्रतिपक्षविहीन संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने तथ्यलाई नजरअन्दाज गरेर सत्ता लालसा देखाएका छन् । बलियो प्रतिपक्षी नभए सरकार निरङ्कुश बन्छ । चित्रबहादुर केसीको सत्य वचनको समेत ख्याल गरेन कांग्रेसले ।

आफूलाई परिवर्तनका सम्वाहक र अग्रगामी भन्ने राजनीतिक दलहरूले संविधानको प्वालको उपयोग गर्नतिर लाग्नुहुँदैन । संविधानका भावना, आदर्श, मूल्य र मान्यताको कदर गरेर सत्ताको खेल खेल्नुपर्छ । सबैथोक सत्ता र सत्ताको खेल मात्र होइन । जनादेश स्विकार गर्नु र सोहीअनुसार देश र जनताको पक्षमा भूमिका निर्वाह गर्नु राजनीतिक दलहरूको दायित्व एवं कर्तव्य हो ।

संसद् प्रतिपक्षको हुन्छ । लोकतन्त्रमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ भनेर राजनीतिक दलहरूले बुझ्न जरुरी छ । अहिले कांग्रेसले बुझ्न जरुरी छ । २०७४ सालको संसद्मा कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिकामा कमजोर देखिँदा कांग्रेसमाथि अनेकौँ प्रश्न उठेको थियो । निकै आलोचना भएको थियो । यसबाट पनि कांग्रेसले प्रतिपक्षको भूमिकाको महत्व बुझेर अबको दिनमा सत्ता स्वार्थमा लाग्नुभन्दा प्रमुख प्रतिपक्षको भूमिका सशक्त र रचनात्मक बानाउन लाग्नुपर्छ । कांग्रेस संसद्को ठूलो दल भए पनि जनादेश खण्डित भएको स्विकार्न सक्नुपर्छ ।

राजनीतिक दल सत्तामा पुगेपछि व्यवस्थापिका, न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र राज्यकोषसमेतमा आफ्नो पहुँच बढाएर बर्चस्व कायम गर्न खोज्छ । सत्ता र शक्तिको उन्मादमा मात्तिन सक्छ । त्यसबेला सत्तापक्षलाई नियन्त्रण गर्न संसद्मा शक्ति चाहिन्छ । संसद्को त्यो शक्ति प्रतिपक्ष हो । प्रतिपक्षको भूमिकामा हुनुपर्ने कांग्रेस सत्तालिप्सामा डुबेका कारण कर्तव्य विमुख हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्