नेपाल टी-२० लिगमा स्पट फिक्सिङ : ४ नेपाली र ६ विदेशीको संलग्न पुष्टि



काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशीको संलग्नता रहेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । फिक्सिङमा संलग्न ५ जना विदेशी खेलाडीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने समेत निष्कर्षमा प्रहरी पुगेको छ।

फिक्सिङ प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४ नेपाली र ६ विदेशीको स्पट फिक्सिङमा संलग्नता देखिएको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ ।

नेपाल टी-२० लिगको व्यपारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस नै स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया र सीईओ अभिशेख सक्लानी प्रतियोगिताकै दौरान पुस १८ गते भारत भागेका थिए।

उनीहरुलाई प्रहरीले फरारको सूचीमा राखेको छ। त्यसबाहेक फिक्सिङ प्रकरणमा संलग्न गरेका विदेशीहरुमा एउटा टिमका टिम म्यानेजर, एक जना खेलाडी, एकजना टिम सपोर्ट स्टाफ र एकजना ब्रोकर (बुके) रहेको प्रहरीको भनाइ छ । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

नेपालबाट ४ जनाको संग्लग्नता रहेकोमा प्रहरीले पूर्वक्रिकेटर मेहबुब आलम, जनकपुर रोयल्सबाट नेपाल टी-२० लिग खेलेका मोहम्मद आदिल अन्सारीसहित ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्