एन्फाले दियो केपी ओली कप आयोजना गर्न अनुमति



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिएको छ । एन्फाले अनुमति दिएसँगै फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने एमालेको भातृ संगठन युवा संघ नेपालले जनाएको छ ।

एन्फाले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ। युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फाले जनाएको छ । युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना रहेको अध्यक्ष पौडेलले बताए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्