शुक्रराज अस्पताल : ९० वर्षमा, ३०० शय्यामा विस्तार हुँदै



काठमाडौँ । शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालले मंगलबार आफ्नो ८९ औँ वार्षिकोत्सव मनाएसँर्गै ९० वर्षमा प्रवेश गरेको छ । स्थापनको कालको झण्डै एक शताब्दी पुग्न लागेको देशकै पुरानो र एक मात्र सरुवा रोग अस्पतालले अब मुहार फेर्ने भएको छ । पुराना भौतिक संरचना, संकुचित ठाउँमा बिरामीको बाक्लो भीड हुने शुक्रराज अस्पताल अब नयाँ भौतिक संरचना निर्माण गर्ने तयारी अवस्थामा रहेको छ ।

देशको एक मात्र केन्द्रीय सरुवा रोगको अस्पतालका भौतिक संरचनाहरु झण्डै ४० वर्ष पुराना छन्। १०० शय्यामा फैलिएको यो अस्पताल अब ३०० शय्यामा विस्तार हुने छ ।

अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो।

७२ रोपनी क्षेत्रफलको आफ्नै जग्गा भएको शुक्रराज अस्पतालको अहिलेको अवस्था भने नाजुक जस्तै छ । एक मात्र केन्द्रीय अस्पताल भएपनि अस्पतालको भवन, व्यवस्थापकिए अवस्था हेर्दा यो अस्पताल यस्तो देखिदैन । अहिले अस्पताल १६ दशमलव ५ रोपनी क्षेत्रमा फैलिएको छ भने बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ।

अब शुक्रराज अस्पतालले आफ्नो स्वरुप परिवर्तन गर्दैछ। अस्पतालले सुविधा सम्पन्न ३०० शय्याको भवनबाट सेवा दिने तयारी गर्दैछ।

करिब ३ महिनापछि भवन निर्माणको काम सुरु हुने गरी शुक्रराज अस्पतालले निर्माण प्रक्रिया अघि बढाएको छ। भवन निर्माणका लागि अस्पतालले गएको पुसको दोस्रो साता टेण्डर आह्वान गरेको थियो। टेण्डर आह्वान, मूल्यांकन लगायतको काम सकेर निर्माण सुरु गर्न करिब ३ महिना लाग्ने अस्पतालले जनाएको छ।

करिब ३ अर्बको लागतमा शुक्रराज अस्पतालको ३०० शय्याको नयाँ भवन निर्माण हुन लागेको हो। साढे ३ वर्षमा निर्माण कार्य सक्ने अस्पतालको योजना छ।

बिरामीको उपचारलाई ध्यानमा राख्दै अस्पतालका भवनहरु पालै पालो भत्काइनेछ। सुरुमा अस्पतालको ओपिडी छेउको क्वाटर भवन, टिकट काउन्टरको पहेलो भवन र एआरटी सेन्टरको भवन भत्काइनेछ। उपचारका लागि अस्थायी संरचना निर्माण भइसकेपछि मात्र मुख्य भवनहरु आइसीयू, इमरजेन्सी र वार्ड भत्काइनेछ।

३०० शय्याको उक्त भवन ६ तल्लाको डिजाइन गरिएको छ। सबैभन्दा तल बेसमेन्ट पार्किङ्ग, ग्राउण्ड फ्लोरमा इमरजेन्सी, ओपिडी, रेडियोलोजी विभाग रहनेछन्। पहिलो तल्लामा प्रयोगशाला, ओपिडी, फिभर वार्ड रहनेछ।

प्रयोगशाला विशेष, जेनरल वार्ड, इमरजिङ्ग आइसोलेसन वार्ड, तेस्रो तल्लामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, नवजीवन वार्ड लगायत, चौथोमा टिबी, रेबिज-टिटानस, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया र सेमिनार हल रहनेछ भने छैठौँ तल्लामा लन्ड्री रहनेछ।

८ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.केदार सेन्चुरी थिए। यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न सकेको थिएन। तर सरुवा रोग विशेषज्ञ एवम् पूर्वनिर्देशक डा.अनुप बास्तोलाले ३०० शय्या भवन निर्माणको काम अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

३०० शय्याको अस्पताल बनाउने गुरुयोजना २ वर्ष अघिमात्र सरकारी कार्यक्रममा परेको थियो। त्यो पनि जग्गा छनोट विवादका कारण अल्झिन पुगे। टेकु अस्पतालमै ३०० शय्याको भवन बनाउने सुनिश्चितता गत आर्थिक वर्षमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्