माओवादी-नेसपा एकता : पार्टीको नामको विषयमा सुरु भयो विवाद



काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढेको छ। एकताबारे दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच मंगलबार दोस्रो पटक औपचारिक छलफल भएको छ।

वार्ता समितिमा नटुंगिएको विषयमा आ-आफ्ना पार्टीभित्र छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको नेसपाबाट वार्ता टोली संयोजक रहेका गंगानारायण श्रेष्ठले जानकारी दिए। ‘वैचारिक कुरा वार्ता समितिमा टुंग्याउने र नटुंगिएको कुरा आ-आफ्ना पार्टीमा छलफल गर्ने कुरा भएको छ’, उनले भने।

दुवै वार्ता टोलीबीच शनिबार विधान र राजनीतिक दस्तावेज आदान प्रदान भएको थियो। विधान र वैचारिक बिषयमा कुरा नमिले मिल्ने कुराहरु मात्रै राखेर अन्तरिम विधान र राजनीतिक घोषणा पत्र बनाएर जाने गरी छलफल भएको बताइएको छ।

२ पार्टीबीच एकतापछि समाजवादी केन्द्र नाम राख्नुपर्ने प्रस्ताव नेपाल समाजवादीको छ। तर, माओवादीले भने नेकपा पनि राख्नुपर्ने बताएको छ। यो विषयमा अहिले सहमति नभए विशेष महाधिवेशनमा टुंग्याउने गरी सहमति गरेर जान सकिने एक नेताले जानकारी दिए।

समाजवादी मात्रै नाम राख्ने नेसपाको प्रस्तावमा माओवादीले विशेष महाधिवेशनसम्मका लागि ‘नेकपा’ र ‘समाजवादी केन्द्र’ दुवै राख्नुपर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्