स्पट फिक्सिङ प्रकरण : ६ खेलमा ३६ लाखको मोलमोलाइ



काठमाडौं । राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी–२० लिगका २ वटा खेलमा स्पट फिक्सिङ गरेको तथ्य भेटिएको प्रहरीले दाबी गरेको छ। २ वटा खेलका २ वटा ओभरमा उनले स्पट फिक्सिङ गरेको प्रहरीको अनुसन्धान क्रममा पुष्टि भएको हो।

प्रहरी अनुसन्धानअनुसार प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेका थिए। १२ पुसमा काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरूका लागि पनि अस्वाभाविक थियो। उनले ११ दशमलव १ ओभरमा नो बल फालेका थिए। त्यसलगत्तै अर्को बल वाइड फालेका थिए।

सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए। त्यस खेलमा उनको २ वाइड र १ नो बल सामेल थियो। १४ पुसमा जनकपुरको खेल फारवेस्ट युनाइटेडविरुद्ध थियो। सो खेलमा आदिलले १ ओभरमात्र बलिङ गर्न पाए। पावर प्लेको अन्तिम ओभरको पहिलो बलमा उनले नो बल फाले। लगत्तै वाइड बल पनि फाले। यो ओभरमा उनले त्यही गरेका थिए, जुन २ दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२औँ ओभरमा गरेका थिए।

बयानमा आदिलले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे केही नखुलाएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले सोमबार गृह नगर सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो। कीर्तिमानी क्रिकेटर मेहबुब आलमले पनि नेपाल टी–२० लिगमा २ जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार प्रतियोगितामा सहभागी १ बलर र १ ब्याट्सम्यानलाई मेहबुबले प्रतिखेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पाइएको हो।प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ। ‘६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो,’ अडियोमा मेहबुबले नाम नखुलेका खेलाडीसँग भनेका छन् । मेहबुबले प्रस्ताव गरेका २ खेलाडीमध्ये १ जना मोहम्मद आदिल आलम थिए। अर्का खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन।

नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी पनि छानबिनको दायरामा आउने बताएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए।

‘क्यानको काम खेल आयोजना गर्ने हो। अहिलेसम्म क्यानका पदाधिकारीको संग्लग्नता देखिएको छैन। स्पट फिक्सिङको प्रमाण सङ्कलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री पनि अनुसन्धानको दायरामा आउँछन्,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भने। सीआईबीले आफ्नो अनुसन्धानका क्रममा क्यानले आफ्नो साझेदार संस्थाको विश्वसनीयतामा ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ।

राष्ट्रिय क्रिकेट र राष्ट्रको छविमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको नेपाल टी–२० लिगको रणनीतिक तथा व्यापारिक साझेदार, फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, विगतमा क्रिकेट सङ्घसँगको आबद्धता, पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ।

३ किसिमका व्यक्ति फिक्सिङमा संलग्न

प्रहरीले सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको टी–२० लिगमा व्यवस्थापकको भूमिकामा रहेका व्यक्ति, खेलाडीसँग सम्पर्क भएका व्यक्ति र खेलमा सहभागी भएका खेलाडी स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला पारेको जनाएको छ। गृह मन्त्रालयको निर्देशनपछि सिआईबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरेको थियो।

एसपी सञ्जयसिंह थापाका अनुसार अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ । प्रहरीले १० जना फिक्सिङमा संलग्न देखिएको बताएको छ। जसमा ४ जना नेपाली र ६ जना विदेशी छन् । फिक्सिङका लागि ५ वटा प्रस्ताव आएको प्रहरीको भनाइ छ, जसमा यी मध्येका ३ प्रस्तावलाई खेलाडीले एन्टी करप्सन युनिटलाई खबर गरेका थिए। प्रस्ताव आउनेबित्तिकै एन्टी करप्सन युनिटलाई खबर गर्नुपर्ने आईसीसीको नियम छ । फिक्सिङ प्रस्तावको अस्वीकार गर्दै जानकारी नगराएकै कारण क्रिकेटर पक्राउ परेका हुन्।

सीआईबीले नेपाल टी–२० लिगमा फिक्सिङ भएको घटनामा प्रमुख योजनाकार जतिन अलुवालियालाई मानेको छ । २८ पुसमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा सकिएको लिग सुरुदेखि नै विवादित बनेको थियो। जतिन अलुवालिया सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन्। सीआईबीले लिगमाथि अनुसन्धान गरिरहेको जानकारी पाएसँगै उनी भारत भागेका थिए । लिग सञ्चालन गर्ने जिम्मा लिएका अलुवालिया भागेपछि सीआईबीले उनीमाथि थप अनुसन्धान गरेको थियो।

जतिन नेपाल आउजाउ गरिरहने व्यक्ति हुन् । नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग उनको पछिल्लो समय राम्रो हिमचिम थियो । सीआईबीले फोन कल विवरण, उनको पृष्ठभूमि हेर्दा पनि नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग राम्रै चिनजान फेला पारेको थियो। लिगमा मुख्य प्रायोजकको रूपमा वान् एक्स ब्याट कम्पनी थियो । बेटिङ गराउने कम्पनी वान् एक्स बेटको सहायक कम्पनी रहेकाले पनि यसको आर्थिक स्रोत बेटिङ नै हो कि भन्ने प्रहरीको आशङ्का थियो।

सीआईबीले यस लिगमा प्रत्यक्ष रूपमा क्यानको संलग्नता नरहेको जनाएको छ। तर यसमा क्यानको कमजोरी भने औँल्याएको छ। कमजोरी भएको भन्दै क्यानलाई सुझाव दिएको छ । भारतमा केही खेल खेलाएकै भरमा क्यानले नेपालमा लिग चलाउन दिनु कमजोरी रहेको सीआईबीको भनाइ छ। यसरी लिग सञ्चालन गर्न दिनुअघि नै कम्पनीको पृष्ठभूमि नहेरेको हुँदा पनि यस्तो घटना भएको प्रहरीको बुझाइ छ।

फिक्सिङमा संलग्नको बैंक विवरणसमेत प्रहरीले हेरेको छ। कतिपय शङ्का भएका ठाउँमा खेलाडीले फिक्सिङ गरेको देखिए पनि कसले गराएको भन्ने नखुलेको प्रहरीले बताएको छ। लिगमा स्पट फिक्सिङ भएको आशङ्कापछि आईसीसीको टोली नेपाल आएको थियो । आईसीसीको टोलीले सीआईबीसँग भेटेर सहयोग गर्ने बताएको थियो।

सेभेन थ्री स्पोर्ट्ससँग कुनै ठुलो लिग गरेको अनुभव थिएन। कम्पनीलाई बेटिङ कम्पनी भएको आरोप लागेको थियो। सुरुदेखि नै विवादमा परेको नेपाली टी–२० लिगका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनीतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) दिँदै ८ वर्षको सम्झौता गरेका थियो।

सम्झौताअनुसार सेभेन थ्रीले ८ वर्षमा क्यानलाई ३३ करोड रुपैयाँ दिने उल्लेख थियो । पहिलो सिजन क्यानले ३ करोड ९० लाख रुपैयाँ पाउने सम्झौता थियो, तर क्यानले अहिलेसम्म पूरा रकम पाएको छैन। क्यानले लिगका लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको थियो। काउन्सिलमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक थिए भने सदस्यमा भारतीय पूर्वक्रिकेटर अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल थिए ।

यस्तै, परिषद् सदस्यमा नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्टस्का प्रमुख जतिन थिए । परिषद्मा जतिन नै हाबी भएका थिए। टी–२० चलिरहँदा जतिन एक्कासि भारत पुगेका हुन्। उनी भारत पुगेपछि लिगमा खेलाडीले पारिश्रमिक नपाएको सार्वजनिक भएको थियो। लगत्तै लिगमा स्पट फिक्सिङ भएको आरोप लागेको थियो।

लिग विवादित बनेपछि जतिनले भारतबाट आफूलाई सुरक्षा खतरा भएको भन्दै नफर्किने कुरा सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए। लिग चलिरहँदा गृह मन्त्रालयको निर्देशनमा सीआईबीले लिगमा स्पट फिक्सिङ भएको विषयमा अनुसन्धान थालेको थियो। सीआईबीले फिक्सिङमा सेभेन थ्रीका प्रमुख जतिनको संलग्नता भएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्