कहाँ छन् हत्या अभियुक्त सांसद कोइरी ?



  • विशाल बस्नेत

महोत्तरी । महोत्तरीबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी फरार भएको घटनाभन्दा पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर यतिबेला राजनीतिक वृत्त तातेको छ। हत्या अभियोग लागेका फरार अभियुक्त कोइरीलाई पक्राउ गर्न चर्को दबाब परेपछि बाध्य भएर विज्ञप्तिको सहारा लिएको गृह मन्त्रालय नै यतिबेला विवादित बनेको हो छ।

हत्या अभियोगमा २०७७ सालमै जनकपुर उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि चलान गर्नुपर्ने सजाय सुनाएपछि फरार कोइरी २०७९ को निर्वाचनमा एमालेका तर्फबाट महोत्तरी– १ बाट निर्वाचित भए। अदालतबाट पारम्भिक दोषी ठहर भएका कोइरीलाई पक्राउ गरेर कानुनी प्रक्रियामा ल्याउनुको सट्टा विज्ञप्ति निकालेर भगाउन नै भूमिका खेलेको आरोप मन्त्रालयलाई छ।

कोइरीलाई पक्राउ गर्न नसक्नुको कारण गृह मन्त्रालय स्वयं दोषी भएको नेकपा एमालेका नेताहरूले बताउन थालेका छन्। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सचिव रघुवीर महासेठले सांसद कोइरी पक्राउ हुन नसक्नुमा गृह मन्त्रालय नै दोषी भएको आरोप लगाए।

गृह मन्त्रालयले महतोलाइ पक्राउ गर्न प्रहरीलाई ध्यानाकर्षण गराउँदै ६ माघ, २०७९ मा लिखित विज्ञप्ति निकालेको थियो। प्रहरीलाई पटकपटक गृहमन्त्री रवि लामिछानेले मौखिक निर्देशन दिँदा पनि अभियुक्त कोइरी पक्राउ नपरेपछि लिखित निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

कोइरीका विषयमा राजनीतिक वृतमा थुप्रै आशङ्का जन्मिएका छन्। नेकपा एमाले निकट कतिपय महोत्तरीस्थित स्थानीय नेताहरूले कोइरी प्रहरीको आँखाअगाडि नै रहेको दाबी गर्दै आएका छन् । कोइरी भागेर भारत पुगेको खबरमा सत्यता नरहेको र उनी गृह जिल्लामै रहेको एमालेका स्थानीय नेताहरू दाबी गर्छन्। यता, एमाले इतरका पार्टीहरूले भने संसद् कोइरीलाइ गृह मन्त्रालयले नै संरक्षण दिइरहेको आरोप लगाएका छन्।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर नाटक मञ्चन गरेको आरोप लगाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाशहरि पोखरेलले गृह मन्त्रालय नै दोषी भएको जिकिर गरे। देशैभरि कोइरीलाई पक्राउ गर्ने विषयले प्राथमिकता पाइरहेका बेला कोइरी कहाँ लुकेका छन् भन्ने विषय यतिबेला आमचासो बनेको छ । ७७ वटै जिल्लामा कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले सर्कुलरसमेत जारी गरेको छ । तर उनी कहाँ छन् भन्ने सूचना प्रहरीसँग छैन ।

कतिपयले कोइरीको गृह जिल्ला महोत्तरीस्थित गौशालाको निगौलबाट भारत फरार भएको बताएका छन् भने कतिपयले नेपालमा नै भएको दाबी गरिरहेका छन् । गृह जिल्ला महोत्तरीका प्रहरीहरू कोइरी अहिले सीमापारि छन् कि नेपालमै छन् भन्न नसकिने बताउँछन्। प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले कोइरी भारत फरार भएको अनौपचारिक सूचना आए पनि उनी नेपालमै बसिरहेको दाबी गर्छन्। नेपालभित्र वा बाहिर जहाँ भए पनि कोइरी चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ।

उता, कोइरी निर्वाचित भएको महोत्तरी–१ जनप्रतिनिधिविहीन बनेको छ। उनी निर्वाचित भएदेखि नै प्रहरीको आँखा छल्दै आएका महतो लुकीछिपी विजय जुलुसमा सहभागी भएका थिए। प्रहरीको आँखाअगाडि नै कतिपय कार्यक्रममा सहभागी भएका महतोको विषयलाई लिएर द नेपालटपले समाचारसमेत प्रकाशित गरेको थियो। त्यसपछि सार्वजनिक कार्यक्रम नदेखिएका कोइरी एकै पटक प्रचण्डलाई विश्वासको मत दिन संसद् भवन प्रवेश गरेका थिए।

महतोले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरे। तर अहिले पनि स्थानीय कार्यक्रम गोष्ठी तथा उद्घाटनमा पोखरेल नै उपस्थित भइरहेका छन् । सरकारले महतोलाई प्रदान गर्ने भनिएको प्रवल जनसेवा श्री पदकसमेत खोसेको छ । मन्त्रालयको बैठकले फरार कोइरीलाई भुलवश नाम सिफारिस भएको बताउँदै रद्द गरेको हो । फौजदारी अभियोग लागेका व्यक्तिहरूको मुद्दाको किनारा नलागेसम्म यस्ता प्रकारका विभूषण दिन नमिल्ने भन्दै महतोको नाम हटाइएको छ ।

महासेठ भन्छन् : कोइरी अपराधी होइनन् 
नेकपा एमालेका सचिवसमेत रहेका सांसद रघुवीर महासेठले मङ्गलबार संसद्मा बोल्दै लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरे । बैठकमा महासेठले महोत्तरीका घरघरमा कोइरीको प्रत्येक दिन पूजा हुने गरेको भन्दै त्यस्ता लोकप्रिय नेताको मुद्दा पुनरावेदनका क्रममा रहेको अवस्थामा अहिले नै अपराधी भन्न नमिल्ने उनको तर्क थियो ।

सम्बोधनका क्रममा उनले राज्य र कानुनले दोषी करार नगरिसकेको अवस्थामा कोइरीलाई अपराधी भन्न नमिल्ने बताए। ‘कोइरीलाई अपराधी करार गरिएको छ, कानुनले अपराधी भनेर निर्णय गरेको छैन । तर संसद्मा अपराधीको आरोप लगाइएको छ’, उनले भने, ‘अपराधीकै रूपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा बनाउनु गलत हो ।’ तर, कोइरी कानुनसम्मत दोषी भए एमालेले नै पक्राउ गर्न सहजीकरण गर्ने आश्वासन पनि उनले व्यक्त गरेका थिए।

‘३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? योभन्दा अघिको सरकारले त झनै उहाँलाई सम्मान नै गरेको थियो’, महासेठले भने, ‘गृह मन्त्रालयलाई मेरो अनुरोध छ– कानुनअनुसार काम गर्नुहोस्, उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस्, एमालेका नेताबाट बाधा आउँदैन।’

प्रतिक्रिया दिनुहोस्