स्वास्थ्य नीति र नर्सिङ क्षेत्रप्रतिको उदासीनता



  • अमृतनाथ तिमल्सिना

काठमाडौं । मृत्युको मुखमा पुगेको बिरामीलाई पनि जब सेतो कोट लगाएका व्यक्तिको निधारमा हल्का स्पर्श पर्छ, होसमा छ भने त्यो बिरामीलाई बाँच्ने आशा पलाउँछ। मनोवैज्ञानिक ढङ्गले बिरामीलाई बाँच्छु भन्ने आशा जगाउने पहिलो स्पर्श गर्ने पेसा नर्स हो। बिरामीलाई मृत्युको मुखबाट तानेर धर्तीमा अड्याउने एउटा भरपर्दो सारथि नर्सिङ पेसासँग जोडिएका अनेक अन्तरकथा छन्।

मधुर मुस्कानसहित बिरामीको सेवामा हरदम दत्तचित्त एक नर्सको मुस्कानपछाडि पीडाका अनेक डोब हुन सक्छन्। तर सेवाभावको अथाह उपमा मानिने नर्सिङ पेसाप्रति जनविश्वास, स्वाभिमान र सम्मानको भाव निर्माण हुनु जरुरी छ। बिरामीलाई पहिलो स्पर्श र नियमित हेरचाह गर्ने अनि उपचारमा डाक्टरलाई सघाउने परिचयको रूपमा रहेको यो पेसाको पहिचान र इतिहास नै आकस्मिक रूपमा सेवाभाव जागृत भएर स्वयंसेवी रूपमा काम गर्न सुरुआत गरेर भएको पाइन्छ।

सन् १८५३ मा क्रिमिया युद्धताका रुसका विरुद्ध बेलायती र फ्रेन्च सैनिकहरूले गरेको आक्रमणका क्रममा घाइते भएका योद्धाहरूको उपचारका लागि केही स्वयंसेवी महिला लिएर रातारात युद्ध मैदानमा बत्ती बोकेर आपतकालीन सेवा र विना तालिमको भए पनि सेवाभाव प्रकट गर्न खटेकी एक ब्रिटिश महिला फ्लोरेन्स नाइटिंगेलले सुरु गरेको भावनामा आधारित कर्मको निरन्तरता नर्सिङ पेसा हो। त्यतिबेलादेखि अहिलेसम्म पनि यो पेसा उस्तै अप्ठयाराहरूमा उस्तै आकस्मिक उपचार र तत्काल राहत महसुस हुने सेवा प्रदायक परिचयसाथ रहेको छ।

सेवाभाव पर्याप्त नहुँदा नर्सिङ पेसामा टिक्न नसक्ने अवस्था अनुभवीहरूले व्यक्त गर्ने गरेका छन्। क्रिमिया युद्ध सकिएसँगै विश्वभर एउटा सन्देश प्रवाह भयो फ्लोरेन्स लाइटिंगेललाई लेडी विथ द ल्याम्प भनेर विश्वभरका मिडियाले चर्चामा ल्याए। अनि त्यो पेसामा सक्रिय महिलाहरूलाई दयाका बहिनीहरू भनेर चर्चा हुन थाल्यो।

संसारभर सेवाभावले समर्पित हुने र डाक्टरहरूलाई सघाउँदा सघाउँदै अत्यावश्यकीय सेवाहरूसम्बन्धी सीप डाक्टरले सिकाएर सहयोगी स्वयंसेवीको रूपमा संसारभर फैलिन थाल्यो। दयाका बहिनीहरू नाममै फैलिएर १४१ देशमा पुगेका पेसाकर्मीहरूको अन्तर्राष्ट्रिय भेलाले १९७४ मे १२ मा यो पेसालाई नर्स पेसाका रूपमा विश्वभर परिचय दिलाउने, मे १२ लाई विश्व नर्स दिवसको रूपमा मनाउनेलगायत उद्घोष गरेको थियो।

यस्तो जीवनको महत्वपूर्ण अवस्थाका साक्षी नर्सको पेसाको गरिमा र महत्वको बहस नेपालमा १९९३ देखि सुरु भएको हो। १९४६ सालमा पृथ्वी वीरविक्रम शाहले वीर अस्पतालको स्थापना गरेसँगै नेपालमा नर्सिङ सेवा सुरु भएको हो । १९८५ मा भारत अध्ययनका लागि पठाएका ४ जना नेपाली महिलाहरू विद्यावती, राधादेवी, धर्मादेवी र विष्णुदेवी हुन्। अहिले नेपालमा १ लाख १२ हजारभन्दा बढी नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। हाल स्टाफ नर्स ७३ हजार ५१४, अनमी ३६ हजार ९६९ र विशेषज्ञ १ हजार १९४ तथा विदेशी नर्स ८४८ र मिडवाइफ ५१ जना रहेको काउन्सिलको तथ्याङ्कले देखाउँछ।

२०१३ सालमा डब्लूएचओको प्राविधिक सहयोगमा सुरु भएको इतिहास छ। २०१६ मा शान्तभवन नर्सिङ स्कुलको स्थापना भयो भने अहिले नेपालमा सरकारी तथा निजी क्षेत्रमा २७० को हाराहारीमा रहेका शैक्षिक संस्थाहरूले विभिन्न नर्सिङ कार्यक्रम सञ्चालन गरेर वार्षिक झन्डै १० हजारका दरले नर्स उत्पादन गरिरहेका छन्।

नेपाली शैक्षिक संस्थाबाट उत्पादन भएको सङ्ख्याको तुलनामा रोजगारीको सङ्ख्या न्यून हुने र पेसाको मिहिनेत र आवश्यकता अनुसार पारिश्रमिक नभएसँगै नर्स पेसामा विदेश पलायन र पेसाप्रति वितृष्णा बढेको देखिन्छ। जुन अत्यन्तै चिन्ताजनक विषय हो। नर्सहरूको व्यवस्थापन र उनीहरूको क्षमता अभिवृद्धि गर्न सके अहिलेको नर्सको सङ्ख्या नेपालका लागि अति नै कम हो।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले प्रति १० हजार जनसङ्ख्यालाई चिकित्सक, नर्स र मिडवाइफ गरी २३ जनाको अनुपातमा दक्ष स्वास्थ्यकर्मीको उपलब्धता अथवा प्रतिहजार बिरामीका लागि ४ दशमलव ४५ स्वास्थ्यकर्मी हुनुपर्ने भनिए पनि नेपालमा नर्सहरू बेरोजगार र सीमित नर्सले सीमित पारिश्रमिकमा असीमित सेवा दिनुपर्ने बाध्यता छ। काममा भएका नर्स र नेपालको जनसङ्ख्या हिसाब गर्दा एक नर्सले करिब ४०० जनसङ्ख्यालाई हेर्नुपर्ने बाध्यता छ।

यसरी १ नर्सले यति धेरै जनसङ्ख्यालाई हेर्नुपर्दा सेवाको गुणस्तर कायम हुन सकेको छैन। अहिले नेपाली स्वास्थ्य क्षेत्रमा हाराहारी ३५ हजार नर्सले आफ्नो सदस्यता नवीकरण गर्ने गरेका छन्। सदस्यता नवीकरण नगरेरै पनि थप केही नर्सहरू कार्यक्षेत्रमा रहे पनि नर्सिङ काउन्सिलमा दर्ता भएका झन्डै ५० प्रतिशतको हाराहारी नर्सहरू रोजगारीका लागि बिदेसिएका छन्। परिषद्बाट प्रमाणीकरण गराएरै ३९ हजारभन्दा बढी नर्सहरू विदेश गएको तथ्याङ्क छ।

त्यसबाहेक अनौपचारिक माध्यमबाट र परिषद्मा जानकारी नै नभई २५ हजारभन्दा बढी नर्स विदेशमा कार्यरत छन्। नेपालमा लोक सेवा आयोगमार्फत परीक्षा दिएरै सरकारी सेवामा कार्यरत १२ हजार हाराहारी नर्सले सेवा दिइरहेका छन् भने विकास समितिअन्तर्गत ११ हजार हाराहारी नर्स कार्यरत छन्। त्यसबाहेक निजी अस्पतालमा कार्यरत नर्सहरू उत्साहजनक ढङ्गले काममा दत्तचित्त हुने अवस्थामा अनेकन ढङ्गबाट अवरोध भइरहेको छ। यी तथ्याङ्कहरू हेर्दा नेपालमा नर्सिङ शिक्षा देशभित्रका स्वास्थ्य सस्थामार्फत सेवा गर्न नभई वैदेशिक रोजगारीका लागि हो भन्ने सन्देश गइरहेको छ।

नेपालबाट विभिन्न नाममा विदेश गएर भए पनि नर्सिङ क्षेत्रमै रोजगारी गर्ने गरेको तथ्य उजागर हुन लागेसँगै श्रम मन्त्रालयसँगको औपचारिक संवाद भएरै गत वर्ष यूकेले नेपाली नर्सलाई वैदेशिक रोजगारीमा लैजान तयारी गरेको थियो। अहिले पनि विभिन्न देशहरूले नेपाली नर्सहरूलाई न्यून पारीश्रमिकमा काम लगाइरहेका छन्। देशभित्रै पनि शोषणमा परेका कारण नर्सिङ पेसालाई न्याय नमिलेको सरोकारवालाहरू बताउँछन्।

नेपालको आन्तरिक श्रम बजारमा आवश्यक मात्रामा नर्सहरूले रोजगारी प्राप्त नगर्नु र रोजगारी प्राप्त गरेको संस्थाहरूमा पनि मर्यादित श्रमको अधिकार नपाएको अवस्थामा सम्बन्धित निकायहरूले गम्भीर भएर यस क्षेत्रलाई हेर्न नसक्नु बडो विडम्वनापूर्ण अवस्था हो। संविधानमा नै समाजवाद स्थापनाको लक्ष्य राख्दै थुप्रै लोककल्याणकारी कार्यक्रमहरू प्रस्तुत गरेका हरेक सरकारले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अझ नर्सजस्तो अत्यन्तै संवेदनशील काम गर्ने पेसाकर्मीहरूलाई प्राथमिकता दिन नसक्नु दुःखद् विषय हो । अझ विशिष्ट अस्पतालहरूमा कार्यरत नर्सप्रति त सरकार अलिकति पनि संवेदनशील छैन।

मानसिक अस्पताललगायत कतिपय विशेष प्रकृतिका अस्पतालमा नर्सहरूलाई बिरामी सम्हाल्न अत्यन्तै कठिनाइ हुने अवस्था सरकारसमक्ष पटकपटक जानकारी गराउँदा समेत नसुनिनु नर्सहरूप्रतिको उपेक्षा हो भन्नेसम्म पेसाकर्मीहरूमा मनोवैज्ञानिक छाप परिरहेको छ। लोककल्याणकारी राज्यमा ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण, कतिपय ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिने लगायतका लोकप्रिय कार्यक्रमहरू सरकारले अगाडि सारिरहेको हुन्छ। गएका केही वर्षयता प्रदेश सरकारहरूले एक आधारभूत माध्यमिक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा सहज बनाउने अभ्यास गरेको छ।

यसरी परीक्षणमा रहेका कार्यक्रमहरू जसले नागरिकहरूलाई राज्यद्वारा अभिभावकत्व प्रदान गरेको आभास भएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिनेतर्फ ध्यान दिनु जरुरी छ। यसले राज्यको नागरिकप्रतिको कर्तव्यलाई दीर्घकालीन ढङ्गले सुनिश्चित गर्ने अभ्यास बस्ने गर्छ भने अर्कातर्फ नर्स पेसाकर्मीहरूलाई सम्मानित ढङ्गले राज्य र नागरिकलाई सेवा गर्ने अवसर प्राप्त हुन्छ। नर्सहरूको आवश्यकता र योगदान विशेष गरी ठुला महामारीमा देखिएको छ।

कोभिड महामारी तथा डेंगी प्रकोपको समयमा अस्पतालहरूमा नर्स अभाव प्रष्टै देखिएको छ। न्यून पारिश्रमिक, शोषण र पेसाको दीर्घकालीन सुरक्षाको प्रत्याभूति नभएका कारण नर्सिङ पेसाकर्मीहरू विस्थापित हुनु स्वास्थ्य सङ्कटको हिसाबले मात्र नभई सामाजिक र प्रशासनिक हिसाबले समेत सोचनीय विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्