आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य : मेयर शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।

‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’ बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन् । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उनले भनेका छन् ।

एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् । ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’

प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन् । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपील गर्दछु’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्