‘कफिन’मा आएका शव बुझ्दैमा राज्यको दायित्व पूरा हुन्छ ?



काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाकसमा पोको पारिएको शव बाहिर निकाल्दा लक्ष्मी कार्कीको आँखाबाट आँसुका बलिन्द्र धारा बगेका थिए। जुम्ला तातोपानीका तिलक कार्कीको शव त्रिभुवन विमानस्थलमा आइपुगेपछिको क्षण साँच्चै हृदय विदारक थियो । त्यो दृश्य एक पटक होइन, पटक–पटक देखिने गरेको छ।

२ महिनाअघि कतारको राजधानी दोहामा भव्य रूपमा विश्वकप फुटबलको आयोजना भएको थियो । विश्वकपमा हार र जितको बहुतै चर्चा भएको थियो । तर, त्यस विश्वकप आयोजनाको तयारीका क्रममा नेपालजस्ता तेस्रो विश्वका हजारौँ युवाको चिहानमा टेकेर संरचना तयार पारिएकामा न आमनागरिकको चासो रह्यो, न त सरकारको नै । २०४६ को आन्दोलन र राजनीतिक व्यवस्थापछि नेपाली समाज फेरिएको छ । साँचो भन्नुपर्दा, समाज भत्किएर बजार बनेको र त्यो बजार व्यावसायिक हुन नसकेको सङ्क्रमणकालीन अवस्थामा हामी छौँ ।

धान फल्ने खेतबारीमा ठुला महल ठडिने क्रम बढ्दो छ। उत्पादन घट्दो छ। ठुला उद्योग धारासायी भएका छन्। समग्रमा भन्नुपर्दा नेपालको उत्पादनको आधार नै भत्किसकेको छ। पछिल्लो समय रेमिट्यान्सलाई देशको अर्थतन्त्रको मुख्य आधार त मानिएको छ। तर, देशको युवा शक्तिलाई विदेशमा धकेलेर समृद्धिको खोजी गर्ने आश्चर्यजनक देशको रूपमा नेपालले लगभग ३० वर्ष अघिदेखि परिचय बदलेको छ।

जग्गा बेच्ने या ऋण गर्ने । त्यसपछि विदेशमा बसेर त्यही जग्गा फेरि किन्न या ऋण तिर्नकै लागि वर्षौंसम्म पसिना बगाउने। यसै क्रममा आफ्नो जीवन नै दाउमा लगाउने नियति नेपालीहरूको देखियो। त्यही रेमिट्यान्समा नेपालमा बसेर मोजमस्ती गर्नेे र उत्पादनमा कुनै भूमिका नहुने जत्थाले राष्ट्रियताको नाममा पण्डित्याइँ छाड्न भने कहिल्यै छाडेन। श्रम गर्नेहरूमाथि उत्पादनमा कुनै भूमिमा नहने र श्रम गर्नका लागि कुनै सीप नहुनेले रजाइँ गर्न थालेको वर्षौं भएको छ।

वर्षौंदेखिको यो समस्यामा श्रम मन्त्रालय मौन छ। वैदेशिक रोजगार विभाग मौन छ। यो मौनतासँगै थुप्रै अनुत्तरित प्रश्न आमनेपालीको मनमा वर्षौंदेखि बिझेको छ। देशमै काम गरेर बाँच्न सकिने आधार तयार गर्न राज्यको नेतृत्वलाई केले रोक्यो ? यो अनुत्तरित प्रश्न धेरै पहिलेदेखि राज्यसामु तेर्सिएको छ। न प्राकृतिक स्रोतमा नेपाल कमजोर छ, न त जनशक्तिको रूपमा।

संसारका श्रम बजारमा नेपाली चाहिने, अनि नेपालमै किन नचाहिने ? अन्तरिक्ष प्रक्षेपण गर्ने नासादेखि संसारका हरेक देशका हरेक ओहोदामा नेपाली श्रम बिक्ने, नेपालमै किन नबिक्ने ? उनीहरूको श्रम नेपालमै किन बिकेन ? यी थुप्रै प्रश्नसँगै कार्कीको शवको वरपर देखिएको त्यो हृदय विदारक दृश्यले राज्यको मन छुनेछैन।

अहिलेको परिदृश्यले भन्छ–देशमै गतिलो श्रम बजारको स्थापना राज्यमा रहनेका लागि घातक लाग्न सक्छ। विदेशमा ज्यान जोखिममा राखेर पठाइएको रेमिट्यान्समा रजाइँ गर्नेहरूसँग नेपालमै श्रम बजार व्यवस्थित भएमा श्रम गर्नका लागि कुनै सीप नै छैन। यसकारण वर्षौंदेखि बाकसमा प्याक भएर आउने शवसँग राज्यको कुनै संवेदना जोडिएको छैन।

प्रतिक्रिया दिनुहोस्